+

उपत्यकाका सरकारी अस्पतालमा कार्यरत २५६ नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच

२०८१ चैत  २० गते १२:३५ २०८१ चैत २० गते १२:३५
उपत्यकाका सरकारी अस्पतालमा कार्यरत २५६ नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच

२० चैत, काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरूको संघ(गोनान)ले आफ्नो स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकाका सरकारी अस्पतालहरूमा कार्यरत नर्सको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ ।

नर्सहरूको स्वास्थ्य र सुरक्षा सबैको सरोकार, गुणस्तरीय नर्सिङ सेवा जनताको अधिकार भन्ने मुल नाराका साथ भक्तपुर क्यान्सर अस्पतालको सहकार्यमा सोमबार वीर अस्पतालमा शिविर आयोजना गरिएको थियो।

उक्त शिविरमा २५६ जना नर्सले परीक्षण गरिएको गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन्।

‘नर्सहरू घर परिवार, बिरामीलाई केन्द्रित दौडधुपमा गरिहेका हुन्छन् । तर आफ्नो स्वास्थ्यको ख्याल गरेका हुँदैनन्,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘३० वर्ष भन्दा माथिका नर्सलाई पाठेघरको मुखको क्यान्सरको जोखिम रहने भएकाले शिविरको आयोजना गरेका हौं।’

उनका अनुसार सरकारी अस्पतालमा कार्यरत ३० वर्षभन्दा माथिका विवाहित नर्सहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका थिए।

वीर अस्पताल, कान्ती बाल अस्पताल, मानसिक अस्पताल पाटन, प्रसूति गृह, नरदेवी आयुर्वेद अस्पताल, टेकु अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, निजामती कर्मचारी अस्पतालमा कार्यरत नर्सको जाँच गरिएको थियो ।

४ वर्ष अगाडि सरकारी सेवामा कार्यरत नर्सहरूको हक हितका लागि भन्दै संघको स्थापना भएको थियो । उनका अनुसार परीक्षणको रिर्पोट आउन केही दिन लाग्नेछ ।

चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ ।वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

नेपालमा क्यान्सर सम्बन्धी जनचेतनाको निकै कमी छ । कुनै पनि क्यान्सर समयमै पहिचान भएको खण्डमा र यसको समयमै उपचार गर्न सके कुनै पनि क्यान्सर समयमा नै निको हुनसक्छ । तर कतिपय मानिस अज्ञानताका कारण क्यान्सर लागेको अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् ।

चिकित्सकका अनुसार पाठेघर मुखको क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ । पाठेघरको मुखको क्यान्सर पहिलो स्टेज र दोस्रो स्टेजको ‘ए’ स्टेजसम्म छ भने अप्रेसन गर्नुपर्छ।

अप्रेसन गर्दा पाठेघर निकालेर फालिन्छ । दोस्रो स्टेजको ‘बी’ देखि लिएर तेस्रो स्टेजमा पुगेपछि किमोथेरापी र रेडियोथेरापी सँगसँगै दिएर उपचार गरिन्छ । चौथो स्टेजमा भने रोग फैलिसकेको हुन्छ ।

सरकारी नर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय