 
																			२२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ ।
बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् ।
‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई स्पष्ट गर्न पनि दुई नेता छुट्टाछुट्टै बस्नु जरुरी थियो,’ प्रधानमन्त्रीनिकट स्रोतले अनलाइनखबरलाई भन्यो, ‘एक किसिमले भन्दा यसअघि न्युयोर्कमा भेटे पनि आइसब्रेक भइसकेको थिएन । आज त्यसैका लागि दुवै प्रधानमन्त्रीले एक अर्कालाई समय दिनुभएको हो ।’
भेट सकेपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गरेका छन् । ओलीले लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो । दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ । यो आपसी विश्वासका लागि मेरो धन्यवाद ।’
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दुईपक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।
सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् ।
दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।
पछिल्लो जानकारी अनुसार छलफल पारस्परिक रूपमा लाभदायक भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार ओली मोदी भेटमा द्विपक्षीय सहयोग विशेष गरी विकास साझेदारी, ऊर्जा, जनता-जनताबीचको सम्बन्ध र कनेक्टिभिटी लगायतका क्षेत्रहरूको बढावा गर्नमा केन्द्रित रहेको थियो ।
भेटवार्ता सकेर प्रधानमन्त्री ओली आफू बसेको होटल सांग्रिलामा फर्केका छन् । अब उनी नेपाली दूतावास अवलोकनमा जाने सचिवालयले बतायो ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4