
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ६ ले शुक्रबार उपाधि विजेता पाउनेछ । जितको लागि ४ जना फाइनलिस्टबीच तीव प्रतिस्पर्धा भैरहेको छ ।
अर्पणा आचार्य, प्रमेश राई, प्रोसेस पाण्डे र रोशन राई फाइनलिस्ट हुन् । दर्शकको भोटका आधारमा उपाधि विजेता छनोट हुने भ्वाइसको नियम छ । जसले गर्दा, चारैजना फाइनलिस्ट धेरै भन्दा धेरै भोट ल्याउनुपर्ने दबाबमा छन् ।
फिनालेको तयारीबारे चारै फाइनलिस्टले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै जितको लागि आफूहरू उत्साही रहेको बताए । फिनालेसम्म पुग्नु आफैमा उपलब्धि रहेको बताउँदै उनीहरूले संगीत यात्रा, तयारी र प्रतिस्पर्धाबारेको अनुभव बाँडे ।
सबैको एउटै मत छ, ‘जित हाम्रो हातमा मात्र छैन, दर्शकको माया र समर्थनले हामीलाई यहाँसम्म ल्याएको छ । उपाधि जित्न हामी चारै जनाको मात्र मिहेनत छैन, यो निर्णय दर्शकको साथ र माया पनि हो ।’
कोच उदय सोताङलाई प्रतिनिधित्व गर्ने फाइनलिस्ट आचार्यले दर्शकको मायाले उत्साहित तुल्याएको बताइन् । ‘मलाई थाहा छ कि जित हाम्रो मात्र होइन, यो दर्शकको समर्थनको परिणाम पनि हो’ उनले भनिन् ।
कोच राजु लामाको समूहका प्रतिस्पर्धी प्रमेशले जितमा दर्शकको महत्वपूर्ण हात हुने बताए । ‘हाम्रो यात्रा केवल हाम्रो व्यक्तिगत प्रयास मात्र होइन, यो दर्शकको साथ र समर्पणको परिणाम हो । उनीहरूको माया र समर्थनले हामीलाई यहाँसम्म ल्याएको छ ।’
कोच खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डेले दर्शकसँगको सम्बन्ध र मायालाई जितको प्रमुखको आधारको रुपमा चर्चा गरे । ‘यो यात्रा भनेको गायनको प्रतिस्पर्धा मात्र होइन, दर्शकसँगको सम्बन्ध र उनीहरूको माया पनि हो’ उनले भने ।
कोच मेलिना राईका ट्यालेन्ट रोशनले आफ्नो लक्ष्य उपाधि जित्नु मात्र नभएर दर्शकको माया पाउनु पनि रहेको बताए । उनले भने, ‘सपना पुरा गर्ने यो मौका दर्शकको साथ बिना अधुरो हुने थियो । उनीहरूको समर्थनले हामीलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्छ ।’
चारै फाइनलिस्टले ‘भ्वाइस’को स्टेजलाई करिअरको ठूलो अवसर मानेका छन् । शोले प्रतिस्पर्धा मात्र नभएर गायन कला सुधार्न र नयाँ तरिकाले प्रस्तुत गर्न पनि मद्दत पुर्याएको उनीहरूको भनाई छ ।
आचार्यले भनिन्, ‘मैले यहाँ धेरै कुरा सिकें र मेरो गायनमा नयाँ गहिराइ आएको छ । यस शोले मेरो आत्मविश्वास र स्टेजमा प्रस्तुति हुने क्षमता बढाएको छ ।’ प्रमेशले पनि आफ्ना यस्तै कुरा राखे । ‘यो शोले मलाई मेरो आवाजको महत्व बुझायो । यहाँको प्रतिस्पर्धामा साँचो पहिचान पनि देखाउने मौका मिल्यो’ उनले भने ।
पाण्डेले भने, ‘द भ्वाइस अफ नेपाल’को मंचमा आउने अवसरले मेरो गायनको स्तर मात्र बढाएको छैन, यसले मेरो आत्मविश्वास पनि प्रबल बनायो । यसले मलाई एउटा कलाकारको रूपमा बलियो बनाएको छ ।’ रोशनले भने, ‘म यो शोबाट मेरो गायनलाई नयाँ आयाम दिन र दर्शकसँग गहिरो जडान बनाउन सफल भएको छु । यो यात्रा मेरो संगीत करिअरको लागि एउटा ठूलो मोड हो ।’
अहिले चारै प्रतिस्प्रधी आफूतिर धेरैभन्दा धेरै भोट ल्याउने प्रयासमा छन् । ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को फिनाले शुक्रबार बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुन्छ ।
प्रतिक्रिया 4