
काठमाडौं । लोकप्रिय सामाजिक संजाल टिकटकले नेपालका किशोर प्रयोगकर्तालाई लक्षित गर्दै ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । शुक्रबार बेलुका आयोजित कार्यक्रममा प्लाटफर्मले प्रसिद्ध अभिनेता निखिल उप्रेती र संचिता लुइँटेलको परिवारलाई प्रवर्धन दूतको रुपमा चिनायो ।
उक्त फिचरमार्फत कलिला युजरको लागि जिम्मेवारी र सुरक्षित अनलाइन अनुभव प्रवर्धन गर्न परिवारलाई सहयोग गर्ने उद्देश्य राखिएको टिकटकले जनाएको छ । यस फिचरमार्फत अभिभावकले टिनएजरको टिकटक एकाउन्टलाई आफ्नो एकाउन्टसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सुरक्षासम्बन्धी धेरै विकल्पमा पहुँच मिल्नेछ ।
‘फ्यामिली पेयरिङ’ फिचर सुरु गर्नको लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गएर क्यूआर कोड स्क्यान गरेर अकाउन्टहरू एकापसमा जोड्न सकिन्छ । अकाउन्ट जोडिएपछि अभिभावकले छोराछोरीको फोन नछोइकनै आफ्नै मोबाइलबाट सीधै सुरक्षासम्बन्धी सेटिङ परिवर्तन गर्न सक्नेछन् ।
यो फिचरमा १५ भन्दा धेरै सुरक्षा, गोपनियता र डिजिटल वेल-बेइङसँग सम्बन्धित सुविधा छन् जसलार्ई अभिभावकले छोराछोरीको टिकटक अनुभवअनुसार मिलाउन सक्नेछन् । यसमा दैनिक ‘स्क्रिन टाइम’ सीमित गर्ने, मेसेजिङ र कमेन्ट रोक्ने, उमेरअनुसारको कन्टेन्ट देखिने बनाउने, अकाउन्ट खोज्न मिल्ने वा नमिल्ने बनाउने, सर्च सेटिङ नियन्त्रण गर्नेजस्ता फिचर छन् ।
‘टिकटकको लागि हाम्रो कम्युनिटीको सुरक्षा प्रमुख प्राथमिकतामा पर्दछ । विशेषगरि जब टिन युजरको कुरा आउँछ । नेपाली परिवारलाई जिम्मेवार डिजिटल व्यवहारलाई प्रोत्साहन गर्ने उपयोगी टूल प्रदान गर्ने प्रयासकै एक हिस्साको रुपमा यो फिचरको सुरुवात गरिएको हो’ टिकटकको दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोक्तिनले भने ।
यो फिचरले परिवारलाई मानसिक शान्ति दिने बताउँदै उनले यसले किशोर प्रयोगकर्ताको सुरक्षा मात्र नभई उनीहरू र अभिभावकबीच डिजिटल व्यवहारको बारेमा हुने खुला संवादलाई पनि प्रोत्साहन हुने उनले बताए ।
यो फिचरलाई देशभर पुर्याउन टिकटकले नेपालका चर्चित सेलिब्रेटी र डिजिटल इन्फ्लुएन्सरसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान पनि संचालन गर्ने जनाएको छ । यो अभियानलाई मूलधारका मिडिया, आउटडोर बिलबोर्ड र सामाजिक संजालमार्फत प्रचारप्रसार गरिने पनि टिकटकले जनाएको छ ।
कार्यक्रममा अभिनेता उप्रेतीको परिवारलाई टिकटकको सरकारी सम्बन्ध प्रमुख मोक्तिनले सेलिब्रेटी सहकार्यको रुपमा चिनाए । अभिनेता उप्रेतीले नेपालमा टिकटकले यो फिचर ल्याउनु खुसीको कुरा भएको बताए । ‘अब हामी ढुक्क हुनसक्छौं । यो कुरा सबै अभिभावकको चिन्ताको विषय थियो’ पत्नी संचिता, छोराछोरीसहित मंचमा उपस्थित निखिलले भने ।
तर, सन्तानलाई प्रविधिबाट बञ्चित गर्न नहुने धारणा निखिलको छ । ‘हामीले प्रविधिलाई बुझेर सबैलाई बुझाउन सक्यौं भने डर र त्रास कम हुनसक्छ’ उनले भने । अभिनेत्री संचिताले आफ्नो परिवारलाई यो अभियानमा सहभागी गराएकोमा टिकटकलाई धन्यवाद दिइन् । छोराछोरीको कमेन्ट हेर्दा आमाहरू डराउने अवस्था रहेको संचिताको भनाई छ ।
निखिलको परिवारले नयाँ फिचरबारे टिकटकले निर्माण गरेको विज्ञापनमा पनि अभिनय गरेका छन् । सो अवसरमा नयाँ फिचरबारे टिकटकका अधिकारीहरूले जानकारी गराएका थिए । टिकटक नेपाल सरकारमा दर्ता भएर संचालनमा छ ।
प्रतिक्रिया 4