
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले विभिन्न मुलुकमाथि अमेरिकामा वस्तु तथा सेवा निर्यातमा लगाएको उच्च भन्सार दरले अमेरिकी कम्पनी एप्पललाई अर्बौं डलर घाटा लागेको छ ।
एप्पलका सीईओ टिम कुकका अुनसार ट्रम्प प्रशासनले लागू गरेको उच्च भन्सारदरका कारण यो त्रैमासिकमा एप्पललाई ९० करोड डलर नोक्सान हुने आँकलन गरिएको छ ।
साथै उनले अमेरिकामा बिक्री हुने आइफोनको उत्पादनस्थल चीनबाट भारतमा सार्ने काम भइरहेको पनि खुलासा गरेका छन् ।
विद्यमान विश्वव्यापी भन्सार दरलाई मध्यनजर गर्दा अहिलेकै नीति कार्यान्वयन भएको तथा भन्सारदरमा अतिरिक्त बढोत्तरी नभएको अवस्थामा त्यसले कम्पनीलाई ९० करोड डलर नोक्सान हुने उन कुकको भनाइ छ ।
कम्पनीको त्रैमासिक आय विवरण प्रस्तुत गर्ने क्रममा कुकले अब अमेरिकामा बिक्री हुने फोनमध्ये धेरैजसोको उत्पादन चीनबाट भारतमा सर्ने बताए ।
भारतले पछिल्ला केही वर्षयता आइफोन उत्पादन कारखाना भारतमा सारिरहेको छ । एप्पलले आफ्नो विश्वव्यापी आपूर्ति प्रणालीलाई विविधिकरण गर्दै चीन बाहिर सार्ने प्रयास गरिरहेको अवस्थामा कुकको यस्तो घोषणा बाहिर आएको हो ।
चीनमाथि ट्रम्पले १४५ प्रतिशतको भन्सार दर लगाएपछि चिनियाँ कारखानामा उत्पादन भएका आइफोनहरू अमेरिकामा लगेर बिक्री गर्दा निकै महँगो पर्नु स्वभाविक छ । यद्यपि ट्रम्प प्रशासनले स्मार्टफोन तथा सेमिकन्डक्टर भएका विद्युतीय उपकरणमा चाहिँ त्यस्तो भन्सार दर तत्कालका लागि स्थगत गरेकोले एप्पललाई केही राहत मिलेको छ । तथापि चीनबाट अमेरिकामा निर्यात हुने हरेक उत्पादनमा न्यूनतम २० प्रतिशत भन्सार दर चाहिँ लाग्ने गरेको छ ।
एप्पलले उत्पादन गर्ने आइफोनमध्ये ९० प्रतिशत अहिले पनि चीनमै उत्पादन हुने गरेका छन् ।
अमेरिकामा बिक्री हुने आइफोनको उत्पादन भारतमा गरिने भएपनि अन्य बजारका लागि चीनमा उत्पादित आइफोन नै उपलब्ध हुनेछन् । त्यस्तै अमेरिकामा बिक्री हुने आइप्याड, म्याक, एप्पल वाच तथा एयरपोड्स चाहिँ भियतनाममै उत्पादन हुने कुकले बताए ।
यस्तो छ एप्पलको वित्तीय अवस्था
कुकले सार्वजनिक गरेको कम्पनीको त्रैमासिक वित्तीय विवरण अनुसार जनवरीदेखि मार्च सम्मको अवधिमा कम्पनीको वित्तीय प्रगति सन्तोषजनक छ ।
सन् २०२५ को सुरुको तीन महिनाको अवधिमा कम्पनीको आम्दानीमा ५ प्रतिशतले वृद्धि भएर ९५ अर्ब ४० करोड पुगेको छ । जसमध्ये आइफोन बिक्रीबाट प्राप्त आम्दानी ४६ अर्ब ८० करोड रहेको छ ।
तर चीन, हङकङ तथा ताइबानमा चाहिँ एप्पलका प्रडक्टको बिक्रीमा अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा २ प्रतिशतले गिरावट आएर १६ अर्ब डलरमा झरेको छ ।
भन्सार दर वृद्धिका बाबजुत आपूर्ति श्रृंखला तथा उत्पादनलाई व्यवस्थित गरेकोले पहिलो त्रैमासिक त्यसको असर अपेक्षाकृत रुपमा कम परेको कुकको दाबी छ ।
प्रतिक्रिया 4