
२५ वैशाख, पोखरा । नेकपा एमाले पर्वतमा नेताहरुको प्रतिशोध र निषेधपूर्ण राजनीतिक लडाइँले कार्यकर्ताहरु विभाजितमात्रै होइन, भौतिक आक्रमणमै उत्रिने अवस्थामा पुगेका छन् । राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरीको प्रतिशोधपूर्ण राजनीतिक लडाइँले एमाले पर्वतका कार्यकर्ता नै विभाजित भएका हुन् ।
गण्डकीमा फस्टाएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूह बीचको लडाइँले पनि पर्वतको आन्तरिक विवादमा मलजल गरिरहेको छ ।
राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिना र पृथ्वीसुब्बा गुरुङ एउटा कित्तामा छन् भने पूर्वमन्त्री पदम गिरी र खगराज अधिकारी समूह अर्को कित्तामा रहेर गतिविधि गरिरहेका छन् । यही गुटगत लडाइँका बीच युवा संघ पर्वतको अधिवेशन गर्ने कि नगर्ने भन्ने विवादले उग्ररुप लिँदा बुधबार झडप भएको हो ।
झडपमा परी घाइते भएका एमाले गण्डकी प्रदेश सदस्य अर्जुन निर्जन पौडेल अस्पताल भर्ना भएका छन् । टाउकोमा चोट लागेर घाइते भएका पौडेललाई पर्वतमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखराको फेवासिटी अस्पताल ल्याइएको छ । घाइते पौडेलले संगठनलाई कब्जा गर्न उद्दत समूहले हतियारसहित आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
यता एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी गिरी आफू पनि घाइते भएको भन्दै अस्पताल गएका छन् ।
अधिवेशनमा जोडिएको स्वार्थ

जेठ ९ देखि ११ गतेसम्म पोखरामा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय महाधिवेशन हुँदै छ ।
राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना तथा पृथ्वीसुब्बासँग निकट अर्जुन निर्जन पौडेलसहित युवा संघ जिल्ला अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीलगायत अधिवेशन नगर्ने पक्षमा छन् ।
गिरी–अधिकारी समूह र सिंगो जिल्ला पार्टी कमिटी भने जसरी पनि अधिवेशन गरेर आफूहरुले भनेका व्यक्तिहरुलाई ल्याउन चाहन्थे । युवा संघ गण्डकी इञ्चार्जसमेत रहेका प्रदेश सभाका पूर्वसदस्य राजीव पहारी पनि अधिवेशन गराएर आफू निकटकालाई महाधिवेशन प्रतिनिधि बनाउन चाहन्थे ।
यही रस्साकस्सीबीच विवाद बढ्दा बुधबार एमाले पार्टी कार्यालयमा झडप भएको हो । झडपमा एमाले प्रदेश सदस्य पौडेलको टाउको फुटेपछि नेताहरुले वक्तव्यबाजी गर्दै घटनाको दोष एकअर्कामाथि लगाएका छन् ।
एमाले प्रदेश अध्यक्ष नवराज शर्माले विज्ञप्ति जारी गर्दै एमाले जिल्ला अध्यक्ष पहाडीलगायत नेतृत्वकै उपस्थितिमा भएको विवादलाई विधिसम्मत र शान्तिपूर्ण तवरबाट हल गर्नुको साटो भौतिक आक्रमणमा उत्रिएको भन्दै निन्दा गरेका छन् ।
उनले पौडेलको स्वास्थ्य लाभको कामना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । समस्यालाई शान्तिपूर्ण र विधिसम्मत हल गर्न तथा अराजक गतिविधिलाई प्रोत्साहन नगर्न उनको माग छ ।
एमाले जिल्ला कमिटीले अर्को विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष गोविन्द पहाडी गिरीमाथि सांघातिक हमला भएको आरोप लगाउँदै निन्दा गरेको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलको नामबाट जारी विज्ञप्तिमा वैशाख २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको र तत्काललाई अधिवेशन आयोजक कमिटी गठन गर्ने तय भएको उल्लेख छ ।
कसरी सिर्जना भयो झडपको स्थिति ?
युवा संघका जिल्ला अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकालीले अधिवेशनको मिति तय भइसकेपछि स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । तर, युवा संघका केन्द्रीय नेतृत्वकै जोडबल र रोहबरमा आयोजक कमिटी गठन गर्न भन्दै बुधबार बैठक बोलाइएको थियो ।
संघका केन्द्रीय सचिव पर्वत भण्डारीको उपस्थितिमा विस्तारित भेला चलिरहेका बेला पौडेललगातको समूहले अराजक गतिविधि गर्दै जिल्ला अध्यक्षमाथि आक्रमण गरेको सचिव पौडेलले आरोप लगाएका छन् ।
घटनाको यथार्थ विवरण नबुझी प्रदेश कमिटीले विज्ञप्ति निकालेर आम पार्टी कार्यकर्तामा भ्रम छर्न खाजेको जिल्लाको आरोप छ । प्रदेशका पदाधिकारीले पनि जिल्ला कमिटीलाई अराजक र पार्टी कब्जा गर्ने नियतका कारण बुधबारको घटना भएको प्रतिक्रिया दिएका छन् ।
नेकपा एमालेमा माधवकुमार नेपाल र केपी शर्मा ओलीको गुटको अभ्यास हुँदा तत्कालीन गण्डकी र धौलागिरिमा ओली बलियो भए पनि पर्वतमा भने नेपाल गुट बलियो थियो । गणेश तिमिल्सिना केपी ओलीको पक्षमा थिए तर कमजोर भएर पनि पर्वतमा लडिरहेका थिए । गणेश पौडेल, मोती पौडेललगायतले माधव नेपाल समूहको नेतृत्व गरिरहेका थिए ।
ओली समूहबाटै विकास लम्साल लगायतको उदय हुँदा गणेश तिमिल्सिनाले भने पार्टी सदस्यतासमेत पोखरा सारेको चर्चा थियो । पछि आठौं महाधिवेशनपछि फेरि पर्वत फर्किएर सक्रियता बढाएका थिए । पर्वतमा पदम गिरी पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति हुँदै जिल्लामा सक्रियता बढाउँदै थिए भने विकास लम्साल जिल्लाको राजनीतिमा हाबी हुँदै थिए ।
पछि नेपाल समूहमा क्रियाशील राजु पौडेललाई हराएर पर्वतमा पदम गिरीले जिल्ला अध्यक्ष जिते । नेपाल समूहको बहुमत भएको बताइए पनि त्यही समूहको जोडबलमै गिरी जित्न सफल भएका थिए । त्यो बेला धाँदली भएको भन्दै विवादसमेत भएको थियो । नेपाल समूहका पदमपाणि शर्माहरु सक्रिय थिए ।
एमालेमा दोहोरो अन्तरविरोधका बीच गणेश तिमिल्सिना राष्ट्रिय सभाका अध्यक्ष भए । विकास लम्साल संघीय सांसद हुँदै गण्डकी प्रदेशमा पर्यटन मन्त्री भए भने पदम गिरी जिल्ला अध्यक्ष हुँदै प्रतिनिधि सभा सदस्य भए । पदमपाणि फलेवास नगरपालिकाको मेयर र राजु पौडेल महाशिला गाउँपालिका अध्यक्ष छन् ।
गिरी ओली समूहसँग नजिक भए । त्यसपछि पर्वतमा ओली समूहकै हालीमुहाली बढ्न थाल्यो । ओली समूहकै विकासहरुसँग भने उनको टसल बढ्दै गयो । त्यसपछि पर्वत एमालेमा उपगुट सक्रिय हुन थाले । विकास लम्साल र पदम गिरी नमिल्ने तथा विकास र पदमणिपाणिहरु नमिल्ने हुँदा पर्वत एमालेमा कार्यकर्ता थप विभाजित हुँदै गए ।
एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि नेपाल समूह रहेका ठूलो समूह आन्दोलनमा होमिए पनि एकीकृत समाजवादीमा जानबाट भने रोकियो ।
तत्कालीन गण्डकीका मुख्यमन्त्री, एमाले सचिव तथा हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलेसमेत उनीहरुलाई रोक्न भूमिका खेले । गणेश शर्मा, राजु पौडेल, पदमपाणिलगायत एमालेमै रोकिए । संघबाट प्रदेशको मुख्यमन्त्री भएर प्रभाव बढाइरहेका पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी गुट गण्डकीमा झ्यांगिँदै थियो ।
एकीकृत समाजवादीमा जानबाट रोकिएका नेपाल समूह, विकास लम्साल, पदमपाणिलगायत पृथ्वीसुब्बा गुटतर्फ सक्रिय रहे भने पदम गिरी–खगराज अधिकारीले अर्को गुटको मोर्चा बढाए । ठूलो समूह नेपाल समूहमा जान रोकिँदा एमाले पार्टी जोगिएजस्तो देखिए पनि केन्द्रमा ओलीसँग सम्बन्ध बढाउँदै सांसद हुँदै मन्त्री भएका गिरीले विकास र पदमपाणि नमिल्दाको फाइदा पनि उठाए ।
संघीय सांसद हुँदै २०७९ को चुनावमा ओलीसँग सम्बन्ध बढाएका गिरीले संघमा टिकट पाए । विकास लम्सालले कसरत गरेर पनि पाएनन् र पाखा परे । तर, गिरीले दोस्रो पटक पनि संघीय सांसद जितेर थप प्रभाव बढाए । अर्को समूहमा प्रभाव बढाएका राजु पौडेल, पदमपाणिहरुले टिकट चाहेर पनि पाएनन् । बरु कम प्रभावशाली देखिएका मित्रलाल बस्याल र भक्त कुँवरले टिकट पाए ।
पर्वतमा ३ सिट नै एमालेले जित्यो । त्यो बेला टिकट नपाए पनि नेकपा विभाजनपछिको सर्वसम्मत पर्वत पार्टी अध्यक्ष रहेर राजु पौडेलले मोर्चा हाँके र पर्वतमा एमालेले क्लिनस्वीप गर्दा केन्द्रबाट सम्मानितसमेत भए ।
राजु दोहोरिएर पर्वत पार्टी अध्यक्ष बन्न चाहन्थे तर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना–पृथ्वीसुब्बा र खगराज–पदम गिरीबीचको टुट राजनीति सतहमा थियो । गिरी गुटले गोविन्द गिरी पहाडीलाई अगाडि सारेपछि राजु पछाडि हटे भने गणेश–पृथ्वीसुब्बा समूहबाट फलेवासका पूर्वमेयर पदमपाणि अगाडि सरे ।
यसबीचमा गिरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री, सचेतक बनाएपछि उनको शक्ति झनै बिस्तारित हुँदै गयो तर जिल्लामा भने गुटको राजनीति मौलाउँदै एकअर्कालाई निषेधकै तहमा प्रदर्शित हुन थाल्यो ।
राष्ट्रिय सभाको अध्यक्षको कार्यकाल सकिएपछि तिमिल्सिनाले राजनीतिमा सक्रिय रहने बताउँदै पर्वतमा प्रभाव बढाउन खोजे पनि सकेका छैनन् । एमाले सचेतक गिरी गुटले हरेक निर्णयमा हस्तक्षेप र प्रभाव बढाउँदै गयो । तिमिल्सिना र गिरी गुटको नांगो लडाइँकै कारण अहिले पर्वतमा कार्यकर्ता विभाजितमात्रै गएका छैनन्, प्रतिशोध साँध्दै एकअर्कालाई आक्रमणकै तहमा देखिएका छन् । त्यसैको पछिल्लो उदाहरण बुधबार युवा संघको आयोजक कमिटी गठन गर्ने भन्ने डाकिएको बिस्तारित बैठकमा देखिएको हो ।
प्रतिक्रिया 4