+
+
Shares

युवामा आशा जगाउन नसकेको नीति-कार्यक्रम

सरकारले ल्याएको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना प्रविधि तथा नेतृत्व विकास जस्ता विषयमा युवालाई आकर्षित गर्न सकेन ।

डा. कृष्णप्रसाद पौडेल डा. कृष्णप्रसाद पौडेल
२०८२ वैशाख २७ गते १०:३०

युवावर्ग राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति हो । साहस, सिर्जनशिलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलार्इ राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ, तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहं भूमिका रहन्छ।

२०७८ सालको जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कूल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको छ । २०६८ मा यो संख्या ४०.३५ प्रतिशत थियो।

संविधानको धारा ५१ को खण्ड (ञ) मा राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद र मनोरञ्जन लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने व्यवस्था रहेको छ।

संसद्‌को दुवै सदनमा करिब १ घण्टा लगाएर राष्ट्रपतिले आब २०८२/०८३ को नीति तथा कार्यक्रम बाचन गरिरहँदा विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण हेर्नेमा युवाको जमात बढी थियो । नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो, छरितो र नारारहित त बन्यो तर देश विकासको मेरुदण्डको रूपमा रहेको युवावर्ग लक्षित हुन सकेन । बुँदागत रूपमा नीति तथा कार्यक्रमले युवालाई किन छुन सकेन भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ ।

शिक्षा

शिक्षालाई समग्र देश विकासको आधारशिला मानिन्छ । शिक्षाले देशको अर्थव्यवस्था, ज्ञान व्यवस्थापन र राजनीतिक शक्तिलाई व्यवस्थित गरी देशलाई समृद्धितर्फ बढाउन मद्दत गर्छ ।

युवामा सिर्जनशिलता, वैज्ञानिकता, उद्यमशिलताको भावना बोध गराई उत्पादनसँग जोड्नु मुलुकको आवश्यकता हो । नीति तथा कार्यक्रममा शिक्षामा उल्लेख गरिएका विषयवस्तुले युवालाई खोजमूलक, अनुसन्धानमूलक र अन्वेषण गर्ने खालको ज्ञान तथा सिपको बारेमा स्पष्ट कार्यदिशा सहित बोल्न सकेन ।

स्वास्थ्य

यो पटक आकर्षक नाराका रूपमा निरोगी नेपाल अभियान अघि बढाइएको छ। नारामा भनिएझैं युवा लक्षित शारीरिक तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा नीति स्पष्ट हुन सकेको छैन । यस्तै युवा लक्षित निरोधात्मक, उपचारात्मक एवं प्रवर्द्धनात्मक सर्वसुलभ आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गराउने कुरामा समेत नीति मौन रह्यो ।

नीतिले उपत्यका बाहिर समेत स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने उद्देश्यले केही झिनो आशा मात्रै देखाएको छ । अल्पसंख्यक, सीमान्तकृत लगायत फरक क्षमताका समग्र लगायत युवावर्गको लागि स्वास्थ्य सेवाको स्पष्ट कार्यादेशको मार्गचित्र नीतिले प्रदान गर्न सकेन ।

कृषि

कृषिको कुन-कुन क्षेत्रमा रोजगारी र उद्यमशिलता वृद्धि गर्ने हो । रोजगारीको लागि सरकारी तबरबाट के गर्ने र निजी क्षेत्रको भूमिका के रहन्छ भन्ने कुरा स्पष्ट रूपमा आउन सकेको छैन । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढिरहेको सन्दर्भमा सरकारले त्यसको न्यूनीकरणको बारेमा बोल्नै सकेन ।

स्वदेशमा उत्पादनको सम्भावना भए पनि चालू आर्थिक वर्षको ९ महिनामा ६६ अर्ब ५ करोड रुपैयाँको सोयाबिन तेल (कच्चा), २२ अर्ब ६४ करोड रुपैयाँको सनफ्लावर (कच्चा), १८ अर्ब ५ करोड रुपैयाँको धान, १३ अर्ब ७८ करोड रुपैयाँको चामल, १३ अर्ब ७३ करोड रुपैयाँको मकै, ७ अर्ब ३४ करोड रुपैयाँको स्याउ, ६ अर्ब ४५ करोड रुपैयाँको लसुन र ६ अर्ब २ करोड रुपैयाँको आलु आयात भएको देखिन्छ । युवाको सहभागितामार्फत आयातमा न्यूनीकरण गर्दै व्यापार घाटा न्यून गर्ने जुन नीति आउनुपर्थ्यो, सो हुन सकेन ।

उद्यमशिलता र रोजगारी

उद्यमशिलताका माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आय-आर्जनका अवसर वृद्धि गर्ने, सबै उद्यममा व्यावसायिक योजना र त्यसको इकोसिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने कुरा अत्यन्तै उत्तम हो । तर उद्यमशिलताको लागि कु हो तर सरकारले का तादाम्यता छैन भन्ने प्रष्ट हुन्छ ।योगलाई ६ महिना अगाडी नै मुख्यसचिव अन्तर्गत राखेको छ । यसन-कुन क्षेत्र सरकारका प्राथमिकतामा छन् भन्ने स्पष्ट रूपमा आउन सकेको छैन ।

सन् २०२६ सम्म नेपाललाई कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लक्ष्य राखे तापनि सो अनुरूपको नीति आउन सकेको छैन

रोजगारी सिर्जना हुने क्षेत्र पर्यटन, कृषि, उर्जा, सडक लगायतमा यो नीतिले स्पष्टता दिन सकेन । रोजगारी सिर्जना गर्न निजी क्षेत्र समेतको सहभागितामा युवा उद्यमीलार्इ प्रोत्साहन गर्न पुँजी, सिप र व्यवस्थापनमा लगानी बढाउने कुराको सुनश्चितता नीतिले गर्न सकेन ।

सूचना प्रविधि र डिजिटाइजेसन

सरकारले १५५ बुँदे नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, अपराध अनुसन्धानदेखि सीमा सुरक्षामा समेत सूचना प्रविधि प्रणालीलाई उपयोग गर्ने उल्लेख गरे तापनि युवा सहभागिता र समन्वय कसरी हुन्छ भन्ने कुरामा स्पष्ट बोल्न सकेको छैन ।

हजारौं युवा सूचना प्रविधिको आउटसोर्सिङ काममा संलग्न भए तापनि तिनको व्यवस्थापन र सहजीकरणमा सरकारको ध्यान पुगेको छैन । सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग र पहुँच स्थापना गर्न सके मात्र आजका युवाले देशको सेवा गर्ने सुनौलो अवसर प्राप्त गर्छ्न ।

प्रविधिको विकासमा निजी क्षेत्रसँग विभिन्न क्षेत्रमा सहकार्य र समन्वय गरी युवाको सहभागिता बढाउन सकिने कुरामा नीति मौन रह्यो ।

मानव पुँजी

मानव पुँजी समग्र देशको जनसंख्या मात्र नभएर राष्ट्रको प्रतिभा, सिप, नवीनता र राष्ट्रको स्वास्थ्य समेतको योगफल हो। मानव पुँजीले मानिसको उत्पादन क्षमतालाई जनाउँछ। यो दिगो विकास, नवीनता र प्रतिस्पर्धात्मकताको केन्द्रबिन्दु पनि हो । मानव पुँजी वृद्धि गर्न शिक्षा र ज्ञान, स्वास्थ्य, अनुभव, सिप, नवीनता, रचनात्मक र आलोचनात्मक क्षमताले सहयोग गर्छ ।

मानव पूँजीले आर्थिक वृद्धि र गरिबी न्यूनीकरण, उत्पादकत्वमा वृद्धि र सामाजिक एकता र राजनीतिक स्थिरतालाई प्रवर्द्धन गर्न सहयोग गर्छ । सरकारले मानवीय क्षमता विकास गर्न संघ, प्रदेश र स्थानीय तहबाट गुणस्तरीय शिक्षा, सिप विकास, स्वास्थ्य, खानेपानी तथा सरसफाइमा लगानी वृद्धि गरिने जनाए तापनि मानव पुँजी निर्माणको स्पष्ट नीति आउन सकेन ।

यसका साथै शिक्षा र स्वास्थ्य सेवामा पहुँचमा असमानता, सिप र क्षमताअनुरूप रोजगारीको अवसरको अभावका कारण दक्ष जनशक्ति विदेश पलायन भइरहेकोमा यसको दीर्घकालीन समाधानमा सरकारको नीति तथा कार्यक्रम मौन रहेको छ ।

नेतृत्व विकास र सहभागिता

युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको अभियन्ता र संवाहकका रूपमा हेरिन्छ । युवा सहभागिताले समावेशी र नवीन समाज निर्माणमा ठूलो भूमिका खेल्छ । नीति तथा कार्यक्रमले लोकतन्त्रको संस्थागत विकास, दिगो शान्ति, सुशासन र समुन्नत नेपाल निर्माणमा युवाको भूमिकालार्इ सुनिश्चित गर्नुपर्थ्यो । तर त्यसो हुन सकेन ।

राष्ट्रिय योजना आयोगको भूमिका कर्मकाण्डी मात्रै

राष्ट्रिय योजना आयोगले देशको समग्र विकासको खाका कोर्नुपर्ने थियो सो हुन सकेको छैन । यो वर्ष पनि योजना आयोगको कार्य कर्मकाण्डी मात्रै बन्न पुग्यो ।

साथै राष्ट्रिय योजना आयोगले देशको लागि आवश्यक पर्ने मानव पुँजी निर्माणमा जुन ध्यान दिनुपर्ने थियो, त्यो लाइनमा न काम गर्न सकेको छ न त देशको समग्र आर्थीक समुन्नतिको मार्ग कोर्न नै ।

सन् २०२६ सम्म नेपाललाई कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लक्ष्य राखे तापनि सो अनुरूपको नीति आउन सकेको छैन ।

निष्कर्ष

युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित गर्न, युवाको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आवश्यकता परिपूर्ति गर्दै समानता एवं समतामूलक वितरणको सिद्धान्त, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य-मान्यता, विश्वशान्ति, सह-अस्तित्वको भावना जगेर्ना गर्न,  विभिन्न जातजाति,  भाषा,  धर्म,  संस्कृतिबीच सहिष्णुता कायम गर्न र वातावरणीय सम्पदाको संरक्षण र सम्वर्द्धन जस्ता आधारभूत मूल्य मान्यताको प्रवर्द्धन गर्न युवाको महत्वपूर्ण भूमिका रहन्छ ।

युवा देशको समग्र विकासका संवाहक भएकाले राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहन्छ । समावेशी, समानुपातिक र समविकासको सिद्धान्त अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, राष्ट्रिय स्वाधीनता तथा नेपालको सार्वभौमसत्तालाई अक्षुण्ण राख्न, राजनीतिक, आर्थिक, सामाजिक, तथा सांस्कृतिक रूपान्तरणमा युवा नेतृत्वको सम्भावनालाई मूर्त रूप दिन र राज्य सञ्‍चालनका हरेक प्रक्रियामा युवाको सक्रिय सहभागिता, प्रतिनिधित्व र नेतृत्वदायी भूमिका सुनिश्चित गर्न राज्यले युवा लक्षित नीति ल्याउनुपर्नेमा सरकार यी विविध विषयमा उदासिन देखिनाले युवा जमातमा अपेक्षाकृत रूपमा आशा जगाउन सकेन ।

(ज्ञान व्यवस्थापन र शिक्षाका विविध विषयमा लेख्दै आएका डा. पौडेल नेपाली कांग्रेसका युवा नेता हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?