
२१ जेष्ठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी यति बेला संयुक्त राज्य अमेरिकामा छन् । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला प्रदेश प्रमुख अमेरिका गएपछि कर्णाली सरकारको तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम पेस गर्नेछन् ।
आज दिउँसो ३ बजेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । जोशीको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँलाई तोक्न संघीय मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।
सोही सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिएका हुन् । गत सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएका छन् ।
उक्त विज्ञप्तिमा जेठ ५ गतेदेखि असार १३ गतेसम्मका लागि मियाँलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय यज्ञराज जोशी मिति २०८२ जेष्ठ ५ देखि असार १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार सुदूरपश्चिम प्रदेशका प्रमुख माननीय नजिर मियाँलाई तोक्नु भएको छ’ ५ जेष्ठमा जारी विज्ञप्तिमा भनिएको छ ।
कर्णाली प्रदेश प्रमुख जोशीले भने उपचारको लागि संयुक्त राज्य अमेरिका जाने भन्दै बिदा स्वीकृत गराएका छन् । गत वैशाख १७ गते बसेको संघिय मन्त्रिपरिषद्को निर्णयले उनको बिदा स्वीकृत गरेको थियो ।
उनी जेठ ५ गतदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहने छन् । सोही अवधिका लागि उनको बिदा स्वीकृत गरिएको छ । ‘कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जानुहुने भएकोले उहाँको बिदा स्वीकृत गर्ने,’ संघीय मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
प्रदेश प्रमुख जोशीका प्रमुख स्वकीय अफिलाल जोशीले आँखाको उपचारका लागि प्रदेश प्रमुख अमेरिका गएको बताए ।
‘आँखाको समस्या रहेको छ, नेपालमा उपचार सम्भव नभएपछि अमेरिका जानु भएको हो,’ उनले भने, ‘नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतकै सल्लाह अनुसार उहाँ बाहिर जानुभएको हो ।’
जोशीका अनुसार जोशी अमेरिकामा रहँदा आँखाको उपचारको फलोअपका लागि आफूले नै चिनेको एक चिकित्सकसँग भेट्न सल्लाह दिएका छन् ।
तिलगंगा आँखा केन्द्रले भने जोशीको उपचारका लागि अमेरिकाको अस्पतालमा रिफर गरेको नभई अमेरिका रिफर नगरेको जनाएको छ । ‘उहाँ तिलगंगामा उपचारको क्रममा हुनुहन्थ्यो । उहाँको फलोअप गर्ने समय अमेरिकामा हुने बेला परेकाले त्यहाँ उपचार गर्न केस डिटेल लेखेर पठाको हो,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको रोगसँग सम्बन्धित डाक्टर को हुनुहुन्छ भनेर जानकारी माग्दा डा. रुइतले चिकित्सकको नाम सुझाव दिनुभएको हो,’ अस्पताल स्रोतले भन्यो ।
संघीय मन्त्रिपरिषद्ले बिदा स्वीकृत गर्दा उपचारका लागि अमेरिका जान लागेको भने पनि राष्ट्रपति कार्यालयले भने निजी भ्रमणमा अमेरिका गएको पत्रमा लेखिएको छ ।
‘…कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय यज्ञराज जोशी संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा जानु हुने भएको हुँदा’ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको पत्रमा भनिएको छ ।
यता कर्णाली प्रदेश प्रमुख कार्यालयका सचिव शिवलाल तिवारीले पनि प्रदेश प्रमुखले आँखा उपचारका लागि अमेरिका गएको जानकारी दिएको बताए ।
सोही अनुसार नै बिदा स्वीकृत भएको उनको भनाइ छ । उनका अनुसार असार १३ गतेसम्म बिदा स्वीकृत गराएका प्रदेश प्रमुख जोशी असार १५ गतेसम्म सुर्खेत आइपुग्ने छन् ।
प्रतिक्रिया 4