
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदेश प्रमुख नजिर मियाँले बुधवारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
- ‘समाजवाद उन्मुख प्रणालीः सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली’ भन्ने मूल ध्येयका साथ नीति तथा कार्यक्रममा ल्याइएको छ।
- १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट पदक विजेता नगद सहितको प्रोत्साहनको व्यवस्था मिलाइएको प्रदेश प्रमुख मियाँले बताए।
२१ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले बुधवारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सामाजिक, आर्थिक, भौतिक र मानवीय विकास सहितको ‘समाजवाद उन्मुख प्रणालीः सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली’ भन्ने मूल ध्येयका साथ नीति तथा कार्यक्रममा ल्याइएको छ । रोजगारी सिर्जना र गरिबी निवारण गरी समृद्ध ‘कर्णालीः सुखी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयन गरिने उल्लेख छ ।
कर्णाली प्रदेशको मार्गचित्रको रूपमा ९ वटा बुँदामा नीति तथा कार्यक्रमलाई वर्गीकरण गरिएको छ । प्रदेशको समृद्धिको आधारको रूपमा रहेको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने, गुणस्तरीय, सर्वसुलभ शिक्षा र स्वास्थ्यमार्फत मानव पुँजीको विकासमा नीति तथा कार्यक्रमले जोड दिएको छ ।
शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई रोजगारी र रोजगारीलाई गरिबी निवारणमा अन्तर आबद्धता कायम गर्ने बताइएको छ । तहगत सरकारको सहकार्यमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि गर्ने प्रदेश सरकारले नीति लिएको प्रदेश प्रमुख मियाँले बताए ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारलाई उपर्युक्त सुझाव र सल्लाह प्रदान गर्न क्षेत्रगत विज्ञ समूह बनाउने, प्रदेशस्तरीय बौद्धिक संवादका लागि मुख्यमन्त्री नीति संवाद कार्यक्रमको सुरुवात गर्ने जनाइएको छ । मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्थानीय तहको साझेदारीमा एक प्रदेश निर्वाचन क्षेत्र एक आवासीय सुविधा सहितका ठुला विद्यालय विकास कार्यक्रम सञ्चालन गरिने, कक्षा १० का विद्यार्थीहरूका लागि एसईई विद्यार्थी डिजिटल शिक्षा सहयोग कार्यक्रम सञ्चालन गर्ने र हप्तामा एक दिन किताबरहित शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई थप जिल्लामा विस्तार गरिने उल्लेख गरिएको छ ।
भौगोलिक रूपमा विकट र उच्च जोखिमयुक्त स्थानमा रहेका बस्तीको विकासको लागि एकीकृत बस्ती विकास, विपन्नको घर र जनता आवास कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइने र प्रदेश सरकारका मन्त्रालयलाई एकीकृत स्थानमा स्थानान्तरण गर्न प्रदेश गौरवको आयोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई स्वच्छ, वातावरणमैत्री तथा आधुनिक सुविधा सम्पन्न सहरको रूपमा विकास गर्न प्रदेश राजधानी पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन गरिने बताइएको छ । उपत्यकाको चक्रपथको स्तरोन्नति गर्दै एकीकृत पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उल्लेख छ ।
कर्णालीको खेल क्षेत्रको विकासका लागि पाँच ‘प’ नीति अवलम्बन गरिने भएको छ । पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, पुरस्कार र प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै खेलहरू कर्णाली प्रदेशमै सम्पन्न गर्ने गरी भौतिक संरचना निर्माण गरिने उनले बताए । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट पदक विजेता नगद सहितको प्रोत्साहनको व्यवस्था मिलाइएको प्रदेश प्रमुख मियाँले बताए ।
विभिन्न भाषा सम्बन्धी अध्ययन र अनुसन्धान गर्ने, कर्णाली प्रज्ञा प्रतिष्ठानको स्थापना गरी कला, साहित्य, संस्कृति, लोक जीवनको संरक्षण तथा प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय मौलिक संस्कृतिको संरक्षण गर्ने, भाषा आयोगबाट सिफारिस भएर आएका खस र मगर भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा समावेश गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेखे छ ।
कर्णालीको नीति तथा कार्यक्रमको पूर्णपाठ :
प्रतिक्रिया 4