
News Summary
Generated by OK AI. Editorially reviewed.- पोर्चुगलले ३ हजार २ सय ७९ नेपालीलाई अस्थायी आवास र नागरिकता प्रक्रियाबाट बाहिरिने सूचना दिएको छ।
- अस्वीकृत आवेदकहरूलाई २० दिनको समय दिइएको छ र देश नछाडेमा निष्कासित गरिन सक्ने बताएको छ।
- अस्वीकृत आवेदकहरूमा भारतीय, ब्राजिलियन, बंगलादेशी र पाकिस्तानी नागरिकहरू बढी छन्।
२३ जेठ, लिस्वन । पोर्चुगलले ३ हजार भन्दा बढी नेपालीको अस्थायी आवास अनुरोध अस्वीकार गर्दैै देश छाड्न सूचित गरेको छ । अस्थायी आवास हुँदै नागरिकता समेत प्राप्तिमा सामेल हुनसक्ने यो प्रक्रियाबाट नेपालीहरु ३ हजार २ सय ७९ बाहिरिएका छन् । अब उनीहरुले यो जुन महिनाको तेश्रो हप्तासम्म स्वच्छिक रुपमा पोर्चुगल छाड्नु पर्नेछ ।
नेपाली सहित ३३ हजार ९ सय ८३ जनालाई पोर्चुगल सरकारले आप्रवासी आवेदन अस्वीकार भएको जानकारी सहित देश छाड्न सूचित गरेको छ । यो संख्या हाल अस्थायी आवासको लागि पोर्चुगल सरकारलाई आवेदन दिएका मध्ये कागज छानविनमा रहेकाहरुको १८ दशमलव ५५ प्रतिशत हो ।
पोर्चुगलको कानुनअनुसार अस्वीकृत आवेदकहरूलाई स्वेच्छिक रूपमा देश छोड्न २० दिनको समय दिइन्छ । उक्त अवधिमा उनीहरूले देश नछोडेमा जबरजस्ती निष्कासनको उपाय अपनाउन सक्छ ।
यसरी आवेदन अस्वीकृत हुनेमा सबै भन्दा बढी भारतीय नागरिक रहेका छन् । संख्याका हिसावले नेपाल चौथोे नम्वरमा पर्छ । धेरै आवेदन अस्वीकृत हुने पाँच देशको नाम र संख्या समेत पोर्चुगल सरकारका एक मन्त्रीले सार्वजनिक गरेका छन् ।
जसमा भारतीय १३ हजार ४ सय ६६, ब्राजिलियन ५ हजार ३ सय ८६, बंगलादेशी ३ हजार ७ सय ५०, र पाकिस्तानी ३ हजार ५ जना आप्रवासी छन् । अन्य ५ हजार भन्दा बढी नागरिकहरु विभिन्न मुलुकका रहेका छन् ।
पोर्चुगल सरकारले केही दिन अघि गरेको प्रेस सम्मेलनमा यो जानकारी सार्वजनिक गरिएको थियो । पोर्चुगल मन्त्रिपरिषद्का एक मन्त्री एन्टोनियो लेइटाओ अमारोले आप्रवास कार्ययोजनाको प्रगति बारे जानकारी गराउँदै उक्त तथ्य सार्वजनिक गरेका हुन् ।
आवेदन अस्वीकार हुनुको कारणमा आप्रवासीले सूचना पठाउँदा जवाफ नदिएको, कागजात पूरा नभएको, आपराधिक रेकर्डजस्ता नियमहरू पालना नगरेको बताइएको छ ।
आप्रवासीको व्यवस्थापन गर्ने यहाँका एजेन्सी ‘आइमा’ले १ लाख ८४ हजार ५९ आवेदनहरूको प्रक्रिया पूरा गरेको छ । मन्त्रीका अनुसार मे महिनाको सुरूमा १८ हजार आप्रवासीहरूलाई देश छाड्न सूचना दिइएको थियो । र अहिले यो संख्या ह्यात्तै बढेको छ ।
आइमाले अझै बाँकी रहेको झण्डै २ लाख आवेदनहरु माथी छानविन गर्ने छ । जसले गर्दा यसरी आवास अनुरोध अस्वीकार भएर पोर्चुगल छाड्नुपर्नेहरुको संख्या अझ बढ्ने छ ।
प्रतिक्रिया 4