
News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बुढीगंगा नगरपालिकामा आगलागीले ४० वटा पसल जलेको मेयर राम बहादुर बानियाँले बताए।
- आगलागी नियन्त्रण गर्न दमकलको अभावमा डोजर र पानीट्यांकरको प्रयोग गरिएको छ।
- प्रहरीले १६/१७ वटा पसल जलेको जानकारी दिएको र आगलागी दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको हो।
२३ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाका मेयर राम बहादुर बानियाँले वडा नम्बर ६ स्थित बाम्का बजारमा लागेको आगलागीबाट ४० वटा पसलहरू जलेको जानकारी गराएका छन् ।
आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै अनलाइनखबरसँग भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’
उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए ।
‘दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नियन्त्रण हुन लागेको छ,’ उनले भने ।
बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।
प्रहरीले भने १६/१७ वटा मात्रै पसल जलेको जानकारी गराएको छ । यद्यपि यसको विवरण अद्यावधिक गर्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले अनलाइनखबरलाई जानकारी दिए ।
प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा आगो लागेको थियो ।
प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ ।
प्रतिक्रिया 4