
News Summary
Generated by OK AI. Editorially reviewed.- भेरी नदीमा पौडी खेल्ने क्रममा जाजरकोट र रुकुम पश्चिमका तीन बालबालिका बेपत्ता भएका थिए।
- बेपत्ता बालबालिकाको शव फेला परेपछि प्रहरीले घटना पुष्टि गरेको छ।
- तीनै बालबालिका गत शुक्रबार नदीमा बगेका थिए र शव सोमबार फेला परेका हुन्।
२७ जेठ, सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।
बेपत्ता तीनै जना बालबालिकाको शव फेला परेको छ । बगेर बेपत्तामध्ये १२ वर्षीया आशा कुसारीको शव घटनास्थलदेखि ४ किलोमिटर दक्षिण नलगाड नगरपालिका–७, चापाखोला नजिक फेला परेको छ ।
उनको शव बेपत्ता भएको तीन दिनपछि सोमबार बेलुकी ६ बजेतिर फेला परेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीका १० वर्षीय छोरा महेशको शव यसअघि फेला परेको थियो । सुरेन्द्रकै छोरी १२ वर्षीया आशा भने बेपत्ता थिइन् । उनको पनि सोमबार शव फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरू तीनै जना गत शुक्रवार दिउँसो स्कुलबाट घर आएर नुहाउन भन्दै भेरी नदी पुगेका थिए ।
भेरी किनाराको बस्ती मन्मैमा हुर्के बढेका उनीहरू शुक्रबार पहिलो पटक भेरीमा पसेका भने होइनन् । उनीहरू पहिलेदेखि नै पौडी खेल्न जाने गर्दथे । तर, शुक्रबार तीनै जना भेरीमा हेलिए ।
सुरुमा आशाका भाइ महेश बगेका थिए । महेशलाई बचाउन भन्दै आशा र भगवती पनि भेरीमा गएका थिए । अन्ततः तीनै जना बगेको जाजरकोट प्रहरी प्रमुख डीएसपी शर्माले बताए ।
नदीमा तीन बालबालिका बगिरहेको भन्ने सूचना पाउनासाथ रुकुम पश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ जनाको प्रहरी उद्धारका लागि खटिएको थियो ।
प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरी आठबिस नगर अस्पताल पुर्याउँदा चिकित्सकले शुक्रबार दिउँसो मृत घोषणा गरेका थिए । महेशको शव बगेको ठाउँबाट झन्डै ९ सय मिटर दक्षिणबाट बेलुका चार बजेतिर फेला परेको थियो ।
घटनास्थल जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्र हो । उनीहरू बगेको स्थान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ राडी बजार र जाजरकोटको नलगाड नगरपालिका- ८ को मन्मैमा तरामा पर्दछ । उनीहरू जाजरकोट क्षेत्रको मन्मैमा बस्दै आएका थिए ।
प्रतिक्रिया 4