
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगर महानगरपालिकामा तीन महिना देखि प्रमुख प्रशासकीय अधिकृतको अभाव छ।
- मेयर नागेश कोइरालाले हाजिर हुन नदिएपछि कार्यालय सञ्चालनमा समस्या आएको छ।
- सहसचिव रामचरित्र मेहता र उपसचिव रामप्रसाद ढुंगेललाई जिम्मेवारी दिइएको छ।
२७ जेठ, विराटनगर। मेयर नागेश कोइरालाले हाजिर हुन नदिएपछि विराटनगर महानगरपालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । कार्यालय कायम मुकायम प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ ।
विराटनगर महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले फागुनमा अवकाश पाएपछि रिक्त रहेको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव रामचरित्र मेहतालाई पठाएको थियो ।
गत वैशाख ९ गते मेहतालाई पठाउने निर्णय भएपनि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हाजिर नगराउने अडान लिए। उनले आफूसँग सल्लाह नगरेर पठाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
सहसचिवलाई राकेर महानगरले उपसचिव रामप्रसाद ढुंगेललाई कामु प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । पराजुलीको अवकासपछि ढुंगेलले कामु जिम्मेवारी पाएका थिए ।
विराटनगर सरुवा भए पनि आउन नपाएका रामचरित्र मेहता युवा तथा खेलकुद मन्त्रालयमा छन् । जनप्रतिनिधिले अस्वीकार गरेपछि उनी नआउने भएका छन् । ‘म मन्त्रालयमै छु, बाहिर गएको छैन,’ सहसचिव मेहताले भने,‘ अब विराटनगर गइदैन होला ।’
मेहता यसअघि इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । इटहरीमा रहदा उनी विवादमा तानिएका थिए । कर्मचारी सरुवाको विषयमा वडा कार्यालयको सर्भर डाउन गरेपछि उनी विवादमा तानिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा राकेर मेयर कोइराला भने इजरायल पुगेका छन् । कोइराला सोमबार इजरायल पुगेका हुन् । उनी असार ६ गते फर्कने कार्यसूची रहेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार श्रेष्ठले जानकारी दिए ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की प्रमुख प्रशासकीय अधिकृत नभएपनि काम गर्न गाह्रो नभएको बताइन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने विषयमा टुंगो नभएको उनले बताइन् ।
‘अहिले सबै अधिकार रामप्रसाद ढुंगेलज्यूलाई नै दिएर चलिरहेको छ,’ उनले भनिन्,’ उहाँ (रामचरित्र मेहता) अन्तै गइसक्नु भयो होला।’ मन्त्रालयबाट अधिकार लिएर काम गरिरहेको बताउँदै उनले कुनै समस्या नभएको बताइन् ।
प्रतिक्रिया 4