
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको सिनेमा उद्योग विश्वकै ठूलो फिल्म उद्योग हो र यसमा काम गर्ने कलाकारहरू विश्वस्तरका सुपरस्टार बनेका छन्।
- अल्लु अर्जुन, जोसेफ विजय, शाहरुख खान, रजनीकान्त, आमिर खान, प्रभास, अजीत कुमार, सलमान खान, कमल हासन र अक्षय कुमार जस्ता कलाकारहरूले उच्च पारिश्रमिक लिएका छन्।
- यी कलाकारहरूले आफ्नो अभिनय र फिल्म सफलताका आधारमा करोडौं भारतीय रुपैयाँ पारिश्रमिक लिएका छन्।
आज भारतको सिनेमा उद्योग विश्वकै ठूलो फिल्म उद्योगहरूमध्ये एक रहेकोमा कुनै शंका छैन । यही कारणले यस उद्योगमा काम गर्ने कलाकारहरू पर्दामा मात्रै नभएर आम्दानीको मामिलामा पनि विश्वस्तरका सुपरस्टार बन्न पुगेका छन् । उनीहरूका फिल्मले गर्ने बम्पर कलेक्सन, सामाजिक सञ्जालमा देखिने ट्रेन्ड र लाखौं फलोअर्सले सो कुराको अनुमान गर्न सकिन्छ ।
आज हामी सिनेमा क्षेत्रमा अपार सफलता पाउने र पारिश्रमिकका मामिलामा पनि अगाडि रहेका धेरै आम्दानी गर्ने अभिनेताबारे चर्चा गर्नेछौँ ।
१. अल्लु अर्जुन
सन् २००३ को ‘गंगोत्री’बाट डेब्यू गरेदेखि नै अल्लु अर्जुनले तेलुगु सिनेमामा महत्त्वपूर्ण अभिनेता रूपमा आफ्नो छवि निर्माण गरेका छन् । बहुप्रतिभाशाली र बहुआयामिक अभिनय क्षमताका कारण उनका फिल्ममा एक्सन, रोमान्स र ड्रामा मिसिएको देखिन्छ । यसले सबै प्रकारका दर्शकलाई आकर्षित गर्ने गरेको छ ।
उनको अभिनय करियर भने बाल कलाकारको रूपमा नै भइसकेको थियो । ‘विजेता’ जस्ता फिल्ममा अभिनय गरेका उनले सन् २००४ मा ‘आर्या’मा मा एमसीको भूमिका निर्वाह गरेपछि भने चर्चाको केन्द्र बन्न पुगेका थिए ।
अहिले उनी त्यो स्टारडमभन्दा धेरै माथि पुगेका छन् । जसको श्रेय ‘पुष्पा’ र यसको सिक्वेलले ल्याएको पागलपनलाई जान्छ । ती फिल्मको सफलतापछि उनी भारतकै सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता भएको भनिन्छ । उनले पुष्षा: द रुलबाट करिब ३०० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको खबर भारतीय सञ्चार माध्यमहरूले दिएका थिए ।
२. जोसेफ विजय (थलापथी विजय)
तामिल सिनेमामा सबैभन्दा भरपर्दो र लोकप्रिय अभिनेता मानिन्छन्, जोसेफ विजय । थलापथी विजय भनेर पनि चिनिने उनले आफ्नो अभिनय प्रतिभामार्फत दशकौंदेखि दर्शकको मन जित्दै आइरहेका छन् ।
सन् १९८४ को चलचित्र ‘वेट्री’ बाट बाल कलाकारको रूपमा आफ्नो यात्रा सुरु गरेका विजय आज भारतीय सिनेमाका सबैभन्दा महँगा कलाकारमध्ये एक हुन् । उनका कथ्थी, जी.ओ.ए.टी, लियो केही चर्चित फिल्महरू हुन् । आजकल उनले प्रतिसिनेमा १३० देखि २७५ करोड भारतीय रुपैयाँ शुल्क लिने गरेको बताइन्छ ।
३. शाहरुख खान
उद्योगमा उनलाई ‘बलिउडका बादशाह’ भनेर चिन्ने गरिन्छ । रोमान्टिक र नाटकीय भूमिकाबाट चर्चामा आएका उनी अभिनेता र निर्माता दुवैको रूपमा भारतीय मनोरञ्जन उद्योगमा चर्चामा छन् ।
ओम शान्ति ओम, दिलवाले दुल्हनिया ले जायेंगे, माई नेम इज खान जस्ता उनका चर्चित फिल्महरू हुन् । उनले २५० करोड भारुसम्म शुल्क लिने गरेको चर्चा छ ।
४. रजनीकान्त
भारतको सबैभन्दा ‘आइकनिक’ अभिनेतामा पर्छन्, रजनीकान्त । ५० वर्षभन्दा लामो करियरमा उनले १५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । त्यसमा तामिल मात्र नभएर हिन्दी, तेलुगु, कन्नड, बंगाली, मलयालम भाषाका फिल्महरू छन् ।
पद्म विभूषण र दादासाहेब फाल्केजस्ता उच्च पुरस्कारबाट सम्मानित उनी राजनीतिमा पनि आउन खोजेका थिए । वेत्तैयन, जेलर, काबाली उनका चर्चित फिल्म हुन् । उनले प्रतिफिल्म १२५ देखि २७० करोड रुपैयाँसम्म लिने गरेका छन् ।
५. आमिर खान
भारतीय सिने उद्योगमा उनलाई ‘मिस्टर परफेक्सनिस्ट’ भनेर पनि चिनिन्छ । यसको कारण उनले पाएका भूमिकालाई पूर्णरूपमा निभाउनु हो । सन् १९७३ मा आफ्ना काका नासिर हुसेनको फिल्म ‘यादों की बारात’मा बाल कलाकारका रूपमा डेब्यू गरेका उनले भारतसँगै चीनसम्म नै आफ्ना फ्यान बनाउन सकेका छन् । त्यस्तो गर्ने उनी पहिलो पहिलो भारतीय अभिनेता पनि भएको बताइन्छ ।
लाल सिंह चड्ढा, दंगल, पीके उनका हिट फिल्महरू हुन् । उनले प्रतिफिल्म १००-२७५ करोड भारुसम्म पारिश्रमिक लिने गरेका छन् ।
६. प्रभास
सन् २०१५ देखि फोर्ब्स इन्डियाको १०० सेलिब्रिटी सूचीमा रहँदै आएका प्रभास तेलुगु सिनेमाका सशक्त अभिनेता हुन् । सन् २००२ मा ‘ईश्वर’ नामक एक्सन ड्रामा फिल्मबाट अभिनय यात्रा सुरु गरेका प्रभास ‘बाहुबली’ सिरिजपछि भने भारतका सुपरस्टार बने । कल्की २८९८ एडी, बाहुबली: द बिगिनिङ, बाहुबली: द कन्क्लुजन उनका चर्चित फिल्महरू हुन् । एउटा फिल्मबाट उनले २०० करोड भारतीय रुपैयाँसम्म लिने गरेको बताइन्छ ।
७. अजीत कुमार
२० वर्षभन्दा लामो करियरमा ५० भन्दा बढी हिट फिल्म दिएका अजीत कुमार तामिल सिनेमाका एक चर्चित अभिनेता हुन् । उत्कृष्ट अभिनयका लागि उनले विजय अवार्ड, सिनेमा एक्सप्रेस अवार्ड, फिल्म फेयर अवार्ड र तमिलनाडु स्टेट फिल्म अवार्ड जस्ता धेरै पुरस्कार जितेका छन् । थुनिवु, विश्वासम, मङ्कथा उनका प्रख्यात फिल्म हुन् । एउटा फिल्मबाट उनले औसतमा १६५ करोडसम्म कमाइ गर्ने बताइन्छ ।
८. सलमान खान
भारतीय युवामाझ सबैभन्दा बढी प्रभाव राख्न सफल अभिनेतामा पर्छन्, सलमान खान । करिस्म्याटिक (प्रभावशाली) व्यक्तित्वका कारण १९८९ को ‘मैने प्यार किया’ देखि नै उनी सुपरस्टार रहँदै आएका छन् ।
थुप्रै पटक हत्या प्रयास, विवाह नगर्नु उनीसँग बारम्बार जोडिएर आउने विषयहरू हुन् । २०२२ मा उनले साउदी अरबको रियादमा जोय अवार्ड्समा ‘इन्टरनेसनल पर्सनालिटी अफ द इयर’ उपाधि पनि जितेका थिए । दबंग, बजरंगी भाइजान, सुल्तान उनका केही हिट फिल्म हुन् ।
उनले १०० देखि १५० करोड भारुसम्म पारिश्रमिक लिने गरेको चर्चा गरेको छ ।
९. कमल हासन
तामिल सिनेमाका दिग्गज कलाकार कमल हासनले यस सिने उद्योगमा ५० वर्षभन्दा बढी बिताइसकेका छन् । यसकारण उनलाई दक्षिण भारतीय सिनेमाका सबैभन्दा अनुभवी र लोकप्रिय अभिनेता मान्ने गरिएको छ ।
अहिले ७० वर्ष उमेरमा हिँडिरहेका उनी अझैं अभिनय गरिरहेकै छन् । रिपोर्टअनुसार २०२५ मा उनको नयाँ चलचित्र रिलिज हुनेछ । इन्डियन २, विश्वरूपम, दशावतारम् उनका केही हिट फिल्म हुन् ।
उनले एउटा फिल्मबाट १५० करोड भारुसम्म कमाइ गर्ने गरेको बताइन्छ ।
१०. अक्षय कुमार
सन् २०२० को फिल्म ‘लक्ष्मी’का लागि दादासाहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल अवार्ड जितेका अक्षय कुमार बहुआयामिक अभिनय क्षमताका लागि चिनिन्छन् । उनले यस उद्योगमा भने ‘सौगन्ध’बाट डेब्यू गरेका थिए ।
यो फिल्म सन् १९९१ मा रिलिज भएको थियो । त्यसयता उनले अहिलेसम्म १५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
केसरी, ट्वाइलेट: एक प्रेम कथा, लक्ष्मी उनका चर्चित फिल्म हुन् । उनले प्रतिफिल्म १४५ करोड भारु आसपास पारिश्रमिक लिने गरेका छन् ।
प्रतिक्रिया 4