
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीविरुद्धको कदमका कारण प्रदर्शन चर्किएको छ।
- एलएमा अवैध आप्रवासीविरुद्धको छापामारी र गिरफ्तारीपछि प्रदर्शनकारीहरूले आगजनी र लुटपाट गरेका छन्।
- प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको र राति कफ्र्यू लागू गरिएको छ।
२८ जेठ, काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथि कडाइ गर्दै धरपकड तीव्र बनाएपछि सुरु भएको प्रदर्शन चर्किएको छ । पाँच दिनअघि लस एन्जलस (एलए) बाट सुरु भएको प्रदर्शन अहिले अन्य सहर र प्रान्तमा पनि देखिन थालेको बीबीसीले जनाएको छ ।
ल्याटिन बहुलक्षेत्र एलएमा सरकारले अवैध आप्रवासीविरुद्ध छापामारी र गिरफ्तारी सुरु गरेपछि एलएमा प्रदर्शन चर्किएको हो । अमेरिकाकै दोस्रो ठूलो सहर एलएमा प्रदर्शनकारीहरुले नीजि वाहनमा आगजनी गर्नुका साथै लुटपाट मच्याएका रिपोर्ट सार्वजनिक भएका छन् । यसक्रममा प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार टेक्सस, न्यूयोर्क, सेन फ्रान्सिस्को, सेन्ट एना, फिलाडेल्फिया, अटलान्टा, शिकागो, वाशिंगटर डीसी, बोस्टन र सिएटलमा भएका प्रदर्शनमा दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकांश सहरमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।
वाशिंगटन डीसीमा ट्रेड युनियनमा आवद्ध व्यक्तिहरुको समूह पनि प्रदर्शनमा उत्रिएका छन् । शिकागोमा पनि हजारौं मानिसहरु डाउनटाउमा प्रदर्शनमा उत्रिएका थिए । एलएमा रातीको समयमा कफ्र्यू आदेश जारी गरिएको छ । कफ्र्यू उल्लघंन गर्नेविरुद्ध पनि प्रशासनले धरपकड गरिरहेको गार्जिएनले जनाएको छ ।
नगर प्रमुख करेन बासले डाउनटाउन क्षेत्रमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म १० घण्टे कफ्र्यू लागू गरिएको घोषणा गरेकी छन् । एलएपीडीका अनुसार पछिल्ला दुई दिनमा मात्रै ३०० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ ।
क्यालिफोर्नियाका गभर्नर ग्याविन न्युसमले ट्रम्प प्रशासनले एलएमा आप्रवासन अधिकारी (आईसीई) सँगै सैन्य बल प्रयोग गर्न थालेपछि त्यसलाई रोक्न अदालतमा आपतकालीन निवेदन दर्ता गरेका थिए ।
उग्र प्रदर्शनपछि ट्रम्पले एलएमा ४,००० नेशनल गार्ड र ७०० मरीन सैनिक तैनाथीको आदेश दिएका छन् । आईसीईले कपडा कारखाना, निर्माण स्थल, कार धुने केन्द्र र आप्रवासी समुदायहरूलाई लक्षित गरी कडा कारबाही थालेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।
नेशनल गार्डलाई गिरफ्तारीको अधिकार नभए पनि तिनीहरूलाई संघीय भवनहरूको सुरक्षा गर्न तैनाथ गरिएको ट्रम्प प्रशासनको भनाइ छ । एलएमा देखिएको तनावले संघीय सरकार र राज्य सरकारबीच अधिकारको द्वन्द्व सतहमा देखिएको छ ।
प्रतिक्रिया 4