
News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले डेढ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका छन्।
- हाल २०० भन्दा बढी घार र ८० घारको फर्म सञ्चालन गरी वर्षमा रु १३ लाख आम्दानी गरिरहेको उनी बताउँछन्।
- मल्लले मौरीपालनलाई उद्यमशिलताको अभ्यास र आर्थिक स्रोतको रूपमा अघि बढाएका छन्।
३० जेठ, स्याङ्जा । यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।
पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
‘वालिङ नगरपालिकामा काम गर्दादेखि मौरीपालनसम्बन्धी आधारभूत ज्ञान पाएको थिएँ’, मल्लले भने, ‘पछि मौरीपालन गर्दै जाँदा अभ्यासबाट थप ज्ञान प्राप्त भयो, यद्यपि सिक्नेक्रम अझै बाँकी छ ।’ फर्म दर्तापूर्व नै २० घार मौरीपालन गर्दै आएका मल्लले दर्तापछि भने घारको सङ्ख्या वृद्धि गरी ८० पुर्याएका छन् । फर्ममा हाल २०० बढी घार रहेका छन् ।
जङ्गलको बीच भागमा रहेको फर्ममा चरनका लागि प्रशस्त ठाउँ भएकाले घार सङ्ख्या थप गर्ने तयारी भइरहेको उनले बताए । जङ्गलको मह प्रतिकेजी रु एक हजार ५०० र तोरीको मह प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको मल्लले बताए ।
‘चालु आर्थिक वर्षमामात्रै फर्मबाट एक हजार केजी मह बिक्री गरेको छु । त्यसबाट रु १३ लाख आम्दानी भयो । यसबाहेक प्रतिफ्रेम मौरीको रु ८०० का दरले र टुनीको घारसहित रु नौ हजारका दरले बिक्री गर्ने गरेका छौँ । चालु आवमा ३०० फ्रेम मौरी बिक्रीबाट रु दुई लाख ४० हजार आम्दानी भएको छ’, उनले सुनाए ।
फर्मले स्थानीय फर्निचरसित टुनीको घारको सम्झौता गरी घार खरिद गर्ने गरेको छ । इञ्जिनियर मल्लसँगै हाल अन्य दुई जनाले पनि उनलाई साथ दिएका छन् । स्थापनाकालदेखि हालसम्म रु २५ लाख लगानी भएको उनले बताए ।
‘यस ठाउँमा चरन प्रशस्त छ, मह तथा मौरीजन्य सम्पूर्ण वस्तुहरू सजिलै बिक्री हुन्छ’, उनले भने, ‘उद्यमशिलताको अभ्यासका लागि र आर्थिक आम्दानीको माध्यमका रूपमा मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाएको हुँ ।’
प्रतिक्रिया 4