+
+
Shares

वित्तीय क्षेत्रका प्रभावकारी नीति र व्यवस्थामा ठूलो परिवर्तन हुँदैन : गभर्नर

गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले प्रभावकारी नीतिको निरन्तरता र आवश्यक सुधारहरूमा जोड दिए।
  • उनले बैंकिङ क्षेत्रको स्थायित्व र दीर्घकालीन विकासका लागि समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने बताए।
  • निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले महामारीको समयमा बैंकहरूले देखाएको नेतृत्वको प्रशंसा गरे र विगतका निर्णयहरूबाट सिक्न सुझाव दिए।

१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय क्षेत्रमा प्रभावकारी नीति तथा व्यवस्थामा ठूलो परिवर्तन नगरी निरन्तरता दिने बताएका छन् ।

उनले प्रभावकारी नीतिलाई निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै सुधार गर्ने बताएका हुन् ।

नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नवनियुक्त गभर्नरको स्वागत र निवर्तमानको बिदाइ’ कार्यक्रममा पौडेलले बैंकिङ क्षेत्रको प्रभावकारिता र समग्र अर्थतन्त्रमा स्थायित्वका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने बताए । नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजान आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रममा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समय स्मरण गर्दै कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद दिए । महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको अधिकारीले बताए ।

अधिकारीले आफ्नो कार्यकालको अनुभव र सिकाइ साट्दै विगतका केही निर्णय कठिन भए पनि दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए । नेपालको बैंकिङ क्षेत्रले विगतका गल्तीबाट सिक्दै भविष्यमा दोहोरिन नदिनेतर्फ सतर्क हुन अधिकारीले सुझाए ।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नवनियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?