
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्महरूमा देखिएका सुन्दर लोकेसनहरू प्रायः वास्तविक प्राकृतिक स्थानहरूमा खिचिएका छन्, जस्तै न्युजिल्यान्ड, स्कटल्याण्ड, केन्या र थाइल्याण्ड।
- यी फिल्महरूले प्रकृतिको सौन्दर्यलाई मुख्य आकर्षण बनाएका छन् र केही दृश्यहरू डिजिटल सम्पादन बिना नै प्राकृतिक रुपमा खिचिएका छन्।
- सामान्यतया, प्राकृतिक लोकेसनले फिल्मको कथालाई थप प्रभावशाली बनाउने काम गर्छन् र दर्शकहरूलाई मनमोहक अनुभव प्रदान गर्छन्।
कुनै फिल्म हेर्दै गर्दा त्यसको सुन्दर लोकेसन देखेर तपाईंले कहिल्यै सोच्नुभएको छ-ओहो, कस्तो राम्रो ठाउँ, कहाँ होला यो ? जान पाए नि हुन्थ्यो । सम्भवत तपाईंलाई यस्तो महसुस भएको हुन सक्छ । किनकि फिल्ममा लोकेसन पनि ‘नायक’ हुन सक्छ ।
थप केही लेख्नु अघि उल्लेख गरिहालौं, केही फिल्महरू स्टुडियोभित्रै बनाइन्छन् । ती फिल्मका लोकेसनहरू सीजीआई नामक विशेष प्रविधिमार्फत तयार हुन्छ । तर त्यस्ता धेरै फिल्म छन्, जसका सुन्दर दृश्यहरू वास्तविक प्रकृति र स्थानमै खिचिएका छन् ।
यी फिल्म, जहाँ प्रकृति आफैँ ‘स्टार’ बनेको छ ।
१. द लर्ड अफ द रिङ्स (न्युजिल्यान्ड)
‘द लर्ड अफ द रिङ्स’ मुख्यतया न्युजिल्यान्डमा खिचिएका थिए । भलै तिनमा कम्प्युटर इफेक्टहरूको व्यापक छ । तर न्युजिल्यान्डका प्राकृतिक सुन्दरता यति मोहित पार्ने छ कि धेरै दृश्यहरू बिना डिजिटल सम्पादन नै राखिएका छन् ।
ती सिरिजका केही दृश्यहरू न्युजिल्यान्डका राष्ट्रिय निकुञ्जहरूमा खिचिएका थिए । ती मध्ये माउन्ट न्गारुहोईलाई फिल्ममा ‘माउन्ट डुम’ को रूपमा देखाइएको भने माउन्ट सन्डेलाई रोहानको राजधानी ‘एडोरास’ को सेटिङ बनाइएको छ ।
२. द मोटरसाइकल डायरिज (दक्षिण अमेरिका)
२००४ मा प्रदर्शनमा आएको ‘द मोटरसाइकल डायरिज’ फिल्म अर्जेन्टिनी क्रान्तिकारी चे ग्वेभाराको यात्रा आधारित छ । चे र उनका साथी अल्बर्टो ग्रानाडोको यात्रा पछ्याउँदै फिल्मले ल्याटिन अमेरिकी भू-भागको सुन्दरता देखाउँछ ।
फिल्ममा प्याटागोनियाको खुल्ला पहाड, चिलीको उच्च मरुभूमि र अमेजन नदीको यात्रा राखिएका छन् । फिल्मको एक सशक्त दृश्यमध्येको एकमा चे र ग्रानाडो पेरुको माचु पिचुमा पुगेको देखाइएको छ ।
३. ह्यारी पोटर (स्कटिस हाइल्याण्ड्स)
सन् २००१ बाट सुरु भएको ‘ह्यारी पोटर’ सिरिजमा निकै सुन्दर लोकेसन देखाइएको छ । फिल्मका धेरै दृश्यहरू स्कटल्याण्डमा खिचिएका हुन्, जुन युरोपकै सबैभन्दा सुन्दर प्राकृतिक क्षेत्रहरूमध्ये एक हो ।
स्कटल्याण्डको सबैभन्दा अग्लो पहाड बेन नेभिसको नजिकै पर्ने फोर्ट विलियम क्षेत्रका लच (तालहरू) हरू फिल्ममा देखिएका छन् । ‘लच शिएल’लाई फिल्ममा ‘ग्रेट लेक’ र ‘ब्ल्याक लेक’ को रूपमा देखाइएको छ । हाङवर्ट्स स्कुल वरपरका धेरै प्यानोरामिक दृश्यहरू ग्लेनको नामक क्षेत्रमा खिचिएको हो ।
४. द कन्स्ट्यान्ट गार्डेनर (लेक टुर्काना, केन्या)
यो फिल्म ‘जोन ले कारे’को यही नामको उपन्यासमा आधारित छ । सन् २००५ मा रिलिज भएको यो फिल्म केन्या र सुडानमा खिचिएको हो । यसको धेरैजसो भाग नैरोबी र त्यस वरपरमा सेट गरिएको छ ।
तर केन्याको उत्तरतर्फ पर्ने लेक टुर्काना क्षेत्रमा फिल्मका धेरै यादगार दृश्यहरू खिचिएका छन् । लेक टुर्काना ग्रेट रिफ्ट भ्यालीको उत्तरी भागमा रहेको एक विशाल ताल हो । यसलाई संसारकै सबैभन्दा ठूलो मरुभूमि ताल मानिन्छ । यसका सुक्खा भू-दृश्य निकै विशेष छन् । यो क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ ।
५. द बिच (क्राबी, थाइल्याण्ड)
सन् २००० मा रिलिज भएको यो फिल्मको मुख्य भूमिकामा लियोनार्दो डिक्याप्रियो छन् । यसको सुट भने थाइल्याण्डको क्राबी प्रान्तमा खिचिएको थियो । फिल्मको मुख्य स्थान भने ‘कोह फि फि ले’ नामक द्वीपमा रहेको छ ।
घना जंगल, सेता बालुवा, पर्वतहरूले यसलाई स्वर्गजस्तो देखाउँछ । तर यो फिल्म सुट गर्दा वातावरणमा असर परेको भन्दै पर्यावरणविद्हरूले आपत्ति पनि जनाएका थिए ।
६. द हन्टर (टास्मानिया)
सन् २०११ मा रिलिज भएको यो थ्रिलर फिल्म संसारकै एक सुन्दर ठाउँमा आधारित छ । अष्ट्रेलियाको टास्मानिया टापुमा खिचिएको यस फिल्ममा विलेम डाफोले अन्तिम बाँकी रहेको टास्मानियन टाइगरको डीएनए खोज्न पठाइएका एक भाडाका एजेन्टको भूमिका निभाएका छन् ।
फिल्मको अभिनय तथा लेखाइभन्दा पनि यहाँ देखाइएका अनौठा र सुन्दर प्राकृतिक दृश्यहरू बढी प्रभावशाली लाग्छन् । ‘अपर फ्लोरेन्टाइन भ्याली’ र ‘सेन्ट्रल प्लेटेउ कन्जर्भेसन एरिया’ फिल्मका प्रमुख लोकेसन हुन् । फिल्मलाई यादगार बनाउने हिमपात र हिमाली दृश्यहरू भने माउन्ट वेलिङ्टनको शिखरमा खिचिएको थियो ।
७. सिटी अफ गोस्ट्स (कम्बोडिया)
सन् २००२ मा आएको यो इन्डी फिल्म कम्बोडियामा निर्माण गरिएको हो । फिल्मको धेरैजसो भाग राजधानी फ्नोम पेन्ह वरिपरि खिचिएको छ । ती ठाउँहरू अहिले धेरै परिवर्तन भइसकेका छन् ।
प्रकृतिप्रेमीहरूलाई फिल्मको ‘केप’ नामक समुन्द्री शहरमा खिचिएको दृश्य मन पर्न सक्छ । फिल्मको अन्त्य औपनिवेशिक युगका भग्नावशेष ‘बोकोर हिल स्टेसन’ मा खिचिएको छ । यो ठाउँ प्रेह मोनिभोङ नामक राष्ट्रिय निकुञ्ज भित्र पर्छ । जसलाई बोकोर नेशनल पार्क भनेर चिनिने गरिन्छ ।
८. द नम्बर वन लेडिज डिटेक्टिभ एजेन्सी (बोट्स्वाना)
यो सिरिजमा बोट्स्वानालाई जसरी देखाइएको छ, त्यसको प्रशंसा निकै हुने गर्छ । अलेक्जेन्डर म्याककल स्मिथको त्यही नामको उपन्यासमा आधारित यो सिरिज पूरै बोट्स्वानामै खिचिएको हो ।
सिरिज गाबोरोन नामको सानो राजधानी, कालाहारी मरुभूमि र ओकाभाङ्गो डेल्टा जस्ता प्राकृतिक स्थलहरूमा पनि खिचिएको छ । सफारीका दृश्यहरू भने ओकाभाङ्गो डेल्टाको हिलाम्मे क्षेत्रहरूमा खिचिएको छ ।
प्रतिक्रिया 4