
३ असार, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतो मंगलबार बिहान १० बजेतिर कार्यालय अगाडि पुगिन् । बिहान ८ बजेदेखि नै कार्यपालिका बैठक डाकिएको थियो ।
तर, उपमेयर १० बजेतिर पुग्दा नगरप्रहरीले मेयर डा.दिपेन्द्र महतोको आदेश भन्दै मूल ढोका खोलेनन् । अनि उपमेयर महतोले आफ्नो फेसबुक लाइभमा आएर आफूलाई मेयर दिपेन्द्र महतोको निर्देशनमा भित्र प्रवेश गर्न नदिएको गुनासो पोखिन् ।
‘बिहान ८ बजे कार्यपालिका बैठक राखिएको छ । कार्यव्यवस्तताले म अलि ढिलो आएँ । यहाँ भित्रबाटै ढोका लक गरेर राखिएको छ । नगरप्रमुखको आदेश छ की उपप्रमुखलाई भित्र प्रवेश गर्न नदिने,’ उपमेयरले अगाडि गुनासो पोख्छिन् ‘म जनताबाट चुनिएर आएको व्यक्ति । यसरी अराजकता फैलाएर, गुण्डा शैलीमा गेट बन्द गरिदिएर मलाई मलाई भित्र जान नदिने, म जनताको काम कसरी गर्ने हो ?’
हुन त यस नगरपालिकामा मेयर र उपमेयरबीचको विवाद नयाँ होइन । तर नगरपालिका कार्यालय प्रवेशमै अवरोध भएको उपमेययरको भिडिओ लाइभले चर्चा पाएको छ । आजको घटनाको मुख्य कारण भने सोमबार साँझ ५ बजेतिर उपमेयरले नगरपालिका कार्यालयबाट नियन्त्रणमा लिएको दर्ता चलानी रजिष्ट्ररको विषय हो ।
उपमेयर महतोले प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी २० दिनदेखि आफ्नो फोन नउठाइदिने, फोन स्वीच अफ गरेर रातिराति नगरपालिका कार्यालयमा काम गर्ने र दर्ता चलानीमा विगतको मितिमा खाली छाडेको देखिएको नियन्त्रणमा लिएको बताइन् ।
‘प्रमुख प्रशासकीय अधिकृतसँग अनुगमनको लागि म एक महिनादेखि पत्र मागिरहेको छु, तर दिइरहेका छैनन् । मेरो फोन नउठाइदिने, मोबाइल स्वीच अफ गरेर राति आएर काम गर्छन्, दिउँसो कार्यालयमा देखिंदैनन्,’ उनले आक्रोश पोखिन् ।
यसबारे महोत्तरीका प्रमुख जिल्ला अधिकारीसमक्ष समेत जानकारी गराएको उनको भनाइ छ । उनका अनुसार दर्ता चलानीमा एक सयभन्दा बढी दर्ता–चलानी खाली छ । ‘मैले किन खाली राखिएको भनेर सोधेर हस्ताक्षर गरेकी छु,’ उनले भनिन्, ‘विगतका पनि धेरै अनियमित क्रियाकलापहरू भएका छन् । आज मलाई कार्यालय छिर्न रोकियो, किन अवरोध गर्नुभयो उहाँलाई नै थाहा होला ।
यता मेयर दिपेन्द्र महतोले नगरपालिकाभित्र प्रवेशमा कुनै रोक नलगाएको दाबी गर्दै फाइल चोरेर लगेको गाडीलाई मात्र भित्र प्रवेश गर्न नदिएको तर्क गरे । मेयर महतोको दाबी अनुसार, उपमेयर सोमबार साँझ तिर ब २१ प ३५०१ नम्बरको गाडीमा आफ्ना श्रीमान्हित कार्यालय आएर दर्ता चलानी शाखाबाट फाइल लिएर बहिरिएकी थिइन् ।
‘जनप्रतिनिधिलाई सार्वजनिक ठाउँमा जान कसैले रोक्न सक्दैन । तर दर्ता चलानी रजिष्ट्रर लग्नु कार्य चोरीसरह हो । यस विषयमा मैले प्रहरीमा उजुरी समेत दिएको छु । जुन गाडीमा फाइल चोरी भएको थियो,’ मेयर महतो भन्छन्, ‘आज बिहान पनि उपमेयर त्यही गाडीमा आइन् । त्यसपछि नगर प्रहरीले गाडी भित्र नल्याउन भनेको हो । श्रीमान् पनि नल्याउन भनिएको हो । पैदल आउन आग्रह गरिएको थियो । तर उनले फेसबुकमा अवरोध भनेर तथ्यविहीन कुरा भनिन् ।’
मेयर महतोले उपमेयरका श्रीमान् दिपेन्द्र महतो विभिन्न मुद्दामा फरार रहेको र उनी कार्यालयको काममा हस्तक्षेप गरिरहेको आरोप पनि लगाए । उपमेयरले प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारीहरुलाई गालीगलोज गर्ने गरेको मेयरको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारीको मोबाइल भने स्वीच अफ छ । गौशालाको मेयर र उपमेयर जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित छन् । तर निर्वाचनको केही समय पश्चात भने मेयर र उपमेयरबीच द्वन्द चल्दै आएको छ ।
नगरपालिकाका मेयर महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीका छोरा हुन् ।
प्रतिक्रिया 4