
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरका उद्योगीले आर्थिक विधेयकले एमएस वायर रडको भन्सार महसुल ५ बाट १० प्रतिशत पुर्याएपछि विरोध जनाएका छन्।
- उद्योगीहरूले १५ असारसम्म माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
३ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकले एमएस वायर रड आयातमा लाग्दै आएको भन्सार महसुल बढाएपछि फलाम उद्योग समस्यामा परेको भन्दै उद्योगीले विरोध गरेका छन् ।
यसअघि एमएस वायर रड आयातमा ५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा बढाएर १० प्रतिशत पुर्याइएपछि दुई दर्जन बढी फलाम उद्योग समस्यामा परेको भन्दै विराटनगरका उद्योगीले विरोध गरेका हुन् । उनीहरूले यदि सरकारले भन्सार महसुल नघटाए सडक आन्दोलनमै उत्रिने समेत चेतावनी दिएका छन् ।
आव २०७९/८० मा आर्थिक विधेयक मार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले एमएस वायर रड आयात भन्सार महसुल ५ बाट १० प्रतिशत बनाउँदा पनि विराटनगरका उद्योगी र कामदार सडकमा आएर आन्दोलन गरेका थिए । उद्योगीको आन्दोलन बढ्दै गएपछि भन्सार महसुल फेरि घटाएर ५ प्रतिशतमै झारिएको थियो ।
एमएस वायर रड आयातमा लगाइएको भन्सार महसुलका कारण देशभरिका दुई दर्जन बढी वायर उद्योग समस्यामा परेको विषयमा अर्थमन्त्री विष्णु पौडेललाई पत्राचार गरिसकिएको प्रिमियर स्टिलका सञ्चालक पवन शारडाले बताए ।
उनका अनुसार देशभरि २५ वटा वायर उत्पादन गर्ने उद्योग रहेको र ती उद्योगमा अब १५ गतेसम्मलाई पुग्ने स्टक रहेको छ ।
‘भन्सार महसुलका कारण उद्योग धराशायी हुने र उद्योगी समस्यामा पर्ने भनेर हामीले अर्थमन्त्रीज्यूलाई पत्राचार गरिसकेका छौं,’ शारडाले अनलाइनखबरसँग भने, ‘१५ असारसम्म पनि माग सम्बोधन नभए सबै फलाम उद्योगी र देशभरिका संघसंगठन मिलेर आन्दोलनमा उत्रिन्छौं । यही लाइनमा हामीले तयारी गरिरहेका छौं ।’
धेरैजसो उद्योगीले भारतबाट कच्चापदार्थका रूपमा एमएस वायर रड ल्याएर फलाम तथा स्टिल उद्योग सञ्चालन गरिरहेका छन् । एमएस रडबाट फलामका तारजाली, जीआई वायर, ग्याभियन बक्स, मसिना तार, काँटी, जाली, बाइन्डिङ वायर उत्पादन हुने उनले बताए ।
‘आजभन्दा ३ वर्षअघि पनि जनार्दन शर्मा अर्थमन्त्री हुँदा कच्चापदार्थमा भन्सार महसुल बढाएर उद्योगीलाई समस्यामा पारिएको थियो,’ नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका शारडाले भने, ‘त्यतिबेला पनि बढेको भन्सार शुल्कका कारण उद्योग चलाउन नसकेर ३–४ महिना बन्द नै गरेका थियौं । अहिलेका अर्थमन्त्रीले पनि ठ्याक्कै त्यही नीति दोहोर्याएर उद्योगीलाई समस्यामा पार्नुभयो ।’
उनका अनुसार कच्चापदार्थ आयात गरेर स्वदेशमा उत्पादन गर्नुभन्दा विदेशबाट तयारी वस्तु आयात गर्दा सस्तो पर्न जान्छ ।
नेपालमै उत्पादन भएको एमएस रडको गुणस्तर कमजोर हुने हुँदा विदेशबाट आयात गर्नुपरेको उद्योगीहरू बताउँछन् । साफ्टा अन्तर्गत एंगल वायर र जीआई वायर आयात गर्दा परल मूल्यमा ६ प्रतिशत र पीसी वायरमा ७.२५ प्रतिशतमात्र भन्सार महसुल लाग्ने अध्यक्ष शारडाले बताए ।
उनका अनुसार एमएस वायर आयात गर्दा परल मूल्यमा १० प्रतिशत भन्सार महसुल र प्रतिटन ४ हजार ५ सय रुपैयाँ अन्तःशुल्क तिरेर वस्तु उत्पादन गर्दा महँगो पर्न जान्छ । उत्पादन लागत नै महँगो पर्न गएपछि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिने उनले गुनासो गरे ।
‘सरकार देशमा नै औद्योगिकीकरण गर्नुपर्छ, उद्योगको हितमा काम गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अनि त्यही सरकार फेरि बजेट मार्फत भन्सार महसुल वृद्धि गरेर उद्योग मास्ने काम गर्छ ।’
प्रतिक्रिया 4