
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सरकारको राष्ट्रिय युवा परिषद् द्वारा आयोजित एक दिने युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु भयो।
- सम्मेलनमा २५० भन्दा बढी युवा वैज्ञानिक सहभागी भए र वैज्ञानिक अनुसन्धान र प्रविधिको महत्वमा चर्चा भयो।
- अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान र प्रविधिको विकासले राष्ट्रको सर्वाङ्गीण विकासमा भूमिका खेल्ने बताए।
४ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा आयोजित एक दिने युवा वैज्ञानिक सम्मेलन सुरु भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) परिसरमा आयोजना भएको सम्मेलनमा वैज्ञानिक खोज र अनुसन्धानमा रुची राख्ने २५० भन्दाबढी युवा सहभागी छन्।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको निर्णायक भूमिका रहने वताए। दाहालले भने-‘ विश्वमा विकशित राष्ट्रहरुको विकासको मुल आधार नै समय सापेक्ष प्रविधिको विकास र सही अवलम्वन हो । ‘
अध्यक्ष दाहालले राष्ट्रको सर्वाङ्गिण विकासको गतिलाई तिव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान, र प्रविधिको समुचित उपयोग गर्नुपर्नेमा जोड दिए। दाहालले भने -‘ जहाँ विज्ञान र प्रविधिको विकास , प्रवर्द्धन र उपयोग भएको छ त्यहाँको विकासको दर उच्च रहदै आएको छ।’
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले विज्ञानका नविनतम् आविष्कारलाई उद्यमशीलतासंग जोड्नुपर्ने बताए । वाग्लेले विज्ञान तथा प्रविधिले उपलब्धिसंगै चुनौती पनि थपेकोमा चिन्ता ब्यक्त गरे। वाग्लेले नयां पुस्ताले उपलब्धिवाट फाइदा लिंदै जोखिमवाट बच्नुपर्ने जिकिर गरे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा.डा.दिलिप सुब्बाले वैज्ञानिक खोज , अनुसन्धान र आविष्कारका लागि राज्यले पर्याप्त बजेट ल्याउन नसकेको वताए। सुब्वाले विज्ञान र प्रविधिको विकास विना देशको विकास असम्भव रहेको बताए।
राष्ट्रिय युवा परिषदद्वारा वैज्ञानिक खोज, अध्ययन, सर्वेक्षण तथा अनुसन्धान कार्यमा युवालाई प्रोत्साहित गर्न र युवा वैज्ञानिकहरूमा उत्साहको सञ्चार गर्नका लागि हरेक वर्ष यस्ता कार्यक्रमहरू हुँदै आएको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
सम्मेलनमा विज्ञान तथा प्रविधि क्षेत्रमा संलग्न नवदित् युवाहरूलाई प्रोत्साहन गर्ने, आपसमा अनुभव आदानप्रदान गर्ने, विषय विज्ञवाट विभिन्न विधामा प्रस्तुति गर्ने, युवाहरूले निर्माण तथा आविष्कार गरेका सूचना प्रविधि लगायतका विषयवस्तु तथा सेवाहरूको प्रदर्शन गर्नेलगायतका वहुआयामिक उदेश्यले सम्मेलन आयोजना गरिएको बस्नेतले जनाए ।
सम्मेलनमा रोबोटिक्स् , डेटा, एआई, ड्रोन लगायतका तिब्र रुपमा विकास भइरहेका नविन खोज र प्रविधिका विषयमा गहिराइमा पुगेर छलफल तथा अन्तर्क्रिया गरिने सह आयोजक रोवटिक्स् एसोसएसन नेपालका अध्यक्ष विकास गुरुङ्ले जानकारी दिए।
गुरुङ्ले सम्मेलनमा विभिन्न फरक फरक विषयमा प्यानल छलफल , प्रस्तुतीकरण र अन्तर्क्रिया हुने बताए। सम्मेलनमा विभिन्न प्रदर्शनी स्टलहरु समेत राखिएका छन्।
प्रतिक्रिया 4