+
+
Shares

कोशीका मन्त्री हाङगाम फेरि विवादमा, पहिले प्रहरीलाई धम्की, अहिले जिल्लाबासीलाई हातपात

हरि अधिकारी हरि अधिकारी
२०८२ असार ५ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले दुई दिनअघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोप लागेको छ।
  • घटनाको विषयमा थप बोल्न मानेका छैनन् भने प्रहरीले औपचारिक जानकारी नपाएको बताएको छ।
  • विवादको विषयमा मिलाउने प्रयास भइरहेको र मन्त्री हाङगामको सम्बन्ध मुख्यमन्त्रीसँग राम्रो नभएको स्रोतले जनाएको छ।

५ असार, विराटनगर । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम फेरि विवादमा तानिएका छन् । दुई वर्ष अघि जिल्ला प्रहरी प्रमुखलाई सार्वजनिक कार्यक्रमबाटै धम्क्याएका उनी दुई दिन अघि आफ्नै जिल्लावासीलाई हातपात गरेको आरोपमा विवादमा तानिएका हुन् ।

मन्त्री हाङगामले गत मंगलबार बेलुका गृह जिल्ला ताप्लेजुङमा पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बुलाई हातपात गरेको आरोप आरोप छ । फुङलिङ नगरपालिका–४ को एक क्याफे परिसरमा मन्त्री हाङगामले थेबेलाई हातपात गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

मन्त्री हाङगामले आफूमाथि हातपात गरेको विषय थेबेले स्वीकार गरे । तर घटनाको विषयमा थप बोल्न मानेका छैनन् ।

मन्त्रीले हाङ्गामले भने घटना अस्वीकार गरेका छन । उनले थेबेलाई आफूले नचिन्ने जिकिर समेत गरेका छन् । ‘अहिले म चिन्दिनँ उसलाई (रक्की थेबेलाई),’ उनले भने ।

थेबे नेकपा एकीकृत समाजवादी पार्टीका स्थानीय नेता हुन् । हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र(ख)बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् ।

चुनावको विषयमा भएको थियो विवाद

मंगलबारको भेटमा थेबेले हाङगामविरुद्ध आगामी निर्वाचन लड्ने बताएका थिए । त्यसपछि रिसाउँदै हाङगामले हात छोडेको स्रोत बताउँछ । मन्त्री हाङगामले हातपात गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । पीडितले जाहेरी नदिएको र हातपात गर्ने व्यक्ति भीआईपी भएका कारण पनि प्रहरीले यो विषयमा औपचारिक बोल्न भने मानेको छैन ।

ताप्लेजुङ प्रहरी प्रमुख वेदप्रसाद गौतमले घटनाको विषयमा औपचारिक जानकारी आफूलाई नभएको बताए । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले पनि घटनाको विषयमा अनभिज्ञता जनाए ।

तर हातपातको घटनापछि प्रहरीले बुधबार दुवै पक्षलाई मिलाउने प्रयास गरेको स्रोत बताउँछ । थेबेले पनि यसलाई स्वीकार गरेका छन् । तर विषय नमिलिसकेको उनले बताए । ‘विषय मिलिसकेको छैन, तर अब मिल्छ,’ थेबेले भने ।

पटक–पटक विवादमा, मुख्यमन्त्रीसँग चिसियो सम्बन्ध

हाङगाम नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी कांग्रेस–एमाले गठबन्धन सरकार कोशी प्रदेशको कृषि मन्त्री छन् ।

हाङगाम यसअघि पनि विवादमा तानिएका थिए । २०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख (डीएसपी) राजन लिम्बूलाई धम्क्याएका थिए ।

सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी प्रमुखलाई नै धम्की दिएपछि उनी विवादमा तानिएका थिए । घटनाको छानबिनका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले समिति नै गठन गरेको थियो । तर कांग्रेस नेताहरुको सक्रियतामा यो विषय मिलाइएको थियो । हाल एसपीमा बढुवा भएका लिम्बू अहिले जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्वमा छन् ।

पटकपटक विवादमा आइरहने मन्त्री हाङगामको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग पनि राम्रो सम्बन्ध नभएको स्रोत बताउँछ । प्रदेशको बजेट निर्माणका क्रममा उनीहरुबीच विवाद भएको थियो ।

‘मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध ठिक छैन, बजेट बनाउने बेलामा मन्त्रालयका कर्मचारीलाई आफूलाई नसोधी बजेट राखे कारवाही गर्ने धम्की दिनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुख्यमन्त्रीले कृषि मन्त्री फेरिदिनुपर्याे भन्दै कांग्रेस संसदीय दलका नेतालाई भन्नुभएको थियो, तर उहाँले मान्नु भएनछ ।’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले भने मुख्यमन्त्री र सबै मन्त्रीबीच सम्बन्ध सुमधुर रहेको दाबी गरेको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मुख्यमन्त्री र मन्त्रीबीच कुनै खटपट र विवाद नभएको बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?