+
+
Shares
संगीत :

१७ वर्षपछि पलेंटीमा ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘पलेँटी’ साङ्गीतिक कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार नेपालयमा आयोजना हुन्छ।
  • यसपटक दार्जिलिङको बद्री र बद्री पलेंटीले आफ्ना गीत प्रस्तुत गर्नेछन्।
  • कार्यक्रमले पुरानो र नयाँ पुस्ताको साङ्गीतिक मेलमिलापलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम ‘पलेंटी’ यसपटक दार्जिलिङ्कको प्रसिद्ध सांगीतिक जोडीले प्रस्तुति दिने भएको छ ।

बद्री र बद्री पलेंटी’मा गुञ्जिने भएका हुन् । ‘पलेँटी’ कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

यस महिनाको कार्यक्रमका निम्ति यस जोडीले आफ्ना सुप्रसिद्ध गीतका साथै गीतकार दिनेश अधिकारीका नयाँ शब्दमा धुन भरेर ल्याएका छन् । जसलाई बद्री, दुर्गाका साथ पलेँटीकी नयाँ कण्ठ–शिल्पी अभिज्ञा घिमिरेले आफ्नो स्वरमा सजाउने छन् ।

कार्यक्रमलाई पुरानो र नयाँ पुस्ताको मिलन बिन्दूको रुपमा पनि लिन सकिन्छ । बद्री र दुर्गा दार्जिलिङको नेपाली साङ्गीतिक जगतमा मात्र नभएर नेपालीभाषी श्रोताबीच स्थापित नाम हो । यो जोडीको सृजना– ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’लाई नेपाली जगतले आजसम्म पनि उत्तिकै रुचाएको पाइन्छ ।

दार्जिलिङकै स्वर–शिल्पी दावा ग्याल्मोले गाएको ’शुभकामना खाली खाली’ पनि यही सङ्गीतकार जोडीको अर्को सृजना हो । मनबहादुर मुखियाको नाटक ’अनि देउराली रुन्छ’को चर्चित गीत ’सारङ्गीको तारले मेरो मनको गीत गाउँछ’ दार्जिलिङमा मञ्चन हुँदा यही जोडिका दुर्गा खरेलले प्रत्यक्ष गाएका थिए ।

रेडियो नेपालमा रेकर्ड गर्ने मौका भने गायक कुमार सुब्बाको भागमा पर्‍यो र उनलाई नेपाली गायन जगतमा लोकप्रियता प्रदान गर्‍यो ।

यसपालीको ‘पलेँटी’बारे कार्यक्रम संयोजक आभास भन्छन्, ‘पुराना संगीतकर्मीलाई नयाँ सृजनाका निम्ति झकझकाउनुपर्छ भन्ने उद्देश्य पलेँटीले लिएको छ । त्यही भएर यसपालीको पलेँटीलाई आंशिकरुपमा गीतकार दिनेश अधिकारीसँग सङ्गीतकार बद्री, दुर्गा खरेललाई जोड्ने चाँजो मिलाएका हौं ।’

पहिलोपटक सन् २००८ मा पलेँटी कसेका दुर्गा खरेल भन्छन्, ‘लामो अन्तरालपछि आफ्नो साङ्गीतिक कर्मथलोमा आउन पाउँदा एकदमै आनन्दित भएका छौं । साङ्गीतिक क्षेत्रबाट फेरि ओझेल परियो कि कसो भनी सोचिरहेको बेला पाएको यो मौकाले आफ्नो सङ्गीतकर्मप्रति झन् विश्वास जगाएको छ ।’ खुसी व्यक्त गर्दै उनले हार्मोनियमका पर्दामाथि आफ्ना औंलाहरू कुदाए ।

सन् २००८ मै पहिलोखेप पलेँटीमा आएका बद्री खरेल भन्छन्, ‘पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थियौं । फेरि लामो समय बाद यता आएका छौं । पहिले जस्तै गीत, सङ्गीतप्रेमीको माया पाउनेमा विश्वस्त छौं ।’

‘पलेँटी’ कार्यक्रम जुन महिनाको अन्तिम शुक्रबार २७ र २८ तारिख, शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ’आर’सालामा हुने यस कार्यक्रमको टिकेट अनलाइनबाट प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?