+
+
Shares

धनगढीमा शिक्षामा दलित छात्राको पहुँच बढाउन ८ देखि स्नातकसम्म छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ९:००

जनक विष्ट

९ असार, धनगढी । धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीको सर्वसुलभ पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।

उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ ।

शिक्षा, युवा तथा खेलकुद विकाससम्बन्धी कार्यनीतिअन्तर्गत बहुपक्षीय साझेदारीमार्फत लोककल्याणकारी उपमहानगरको परिकल्पना साकार पारिने जनाइएको छ। खासगरि समाजमा पछाडि पारिएका वर्गको शैक्षिक पहुँच अभिवृद्धि गर्न उपमहानगरले दुईवटा विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नेछ।

विद्यालय तह कक्षा ८ देखि १० सम्म ‘दलित अभियन्ता जुठे दमाइ छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ । यो कार्यक्रमअन्तर्गत विद्यालय तहमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरुलाई वार्षिक दुई हजार रुपैयाँसम्मको स्टेश्नरी सामग्री निःशुल्क उपलब्ध गराइनेछ उपमहानगरपालिकाले जनाएको छ ।

आमा शिक्षित भएमा परिवार, समाज र राष्ट्रकै समग्र विकासमा योगदान पुग्छ भन्ने विश्वासका आधारमा दलित छात्रा लक्षित योजना ल्याएको हो । यसले सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने दलित छात्राहरूकै लागि  ‘दलित अभियन्ता टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ ।

यो कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ देखि स्नातक तहसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनरत दलित छात्राहरुलाई उच्च शिक्षा प्राप्तिमा सहयोग गरिनेछ। यसले दलित समुदायका विद्यार्थीहरूलाई प्रोत्साहन दिने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने नगर प्रमुख गोपाल हमालले बताए ।

उनकाअनुसार दलित छात्राहरूलाई शिक्षामा प्रोत्साहन गर्न ल्याइएको छात्रवृत्ति योजनाका लागि बजेटको समेत प्रबन्ध मिलाइएको छ ।

उपमहानगरले विद्यालय तहको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विशेष योजना समेत अघि सारेको छ ।

उपमहानगरपालिकाले विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई पुरस्कृत गर्ने, एकीकृत शैक्षिक क्यालेन्डरमार्फत विद्यालयका शैक्षिक गतिविधिहरू सञ्चालन गर्ने नीति लिएको छ ।

यी कार्यक्रममार्फत उपमहानगरले समावेशी र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिवृद्धि गर्दै शैक्षिक रूपान्तरणमा गति दिने अपेक्षा गरेको छ ।

धनगढी उपमहानगरपालिकाले गत शनिबार आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो ।

उपमहानगरपालिकाले अगामी वर्षका लागि दुई अर्ब ५६ करोड ४ लाख बराबरको बजेट ल्याएको छ ।

चालुतर्फ एक अर्ब ३८ करोड २५ लाख ५१ हजार र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख बजेट छुट्याइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २२० रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा ३७ करोड ६२ लाख ३३ हजार ७८० ले बढि बजेट ल्याएको छ । यो अघिल्लो वर्षको तुलनामा १७.२२ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?