
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद ध्रुवबहादुर प्रधानले प्रहरीलाई विवेकले काम गर्न दिनुपर्ने बताएका छन्।
- प्रहरी विधेयकलाई संघीयता कार्यान्वयनसँग जोडिएको र नयाँ ऐन बनाउन लागिएको छ।
- प्रहरीलाई निष्पक्षता र प्रभावकारिता कायम राख्न कानुनी व्यवस्था आवश्यक रहेको सांसदहरूले बताए।
११ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले नेपाल प्रहरीलाई विवेकले काम गर्न दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको शैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन् ।
जुन शासन व्यवस्था भएता पनि प्रहरीले घटनालाई निष्पक्ष ढंगले काम गर्न पाउँदा मुलुकलाई सही गतिमा लैजाने उनले बताए । कानुनको दुरूपयोग प्रहरीमार्फत हुन सक्नेतर्फ ख्याल गरेर यसअनुरुप कानुनी व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।
प्रहरीलाई विवेकले काम गर्न दिनुपर्ने र मन्त्रीले आदेश दिने अभ्यास बदल्नुपर्ने उनको प्रस्ताव छ । नेपाल प्रहरीको काम अन्य धेरै देशमा प्रशंसनीय रहेको उल्लेख गर्दै उनले प्रभावकारिताको निरन्तरताका लागि कार्यकारीले आदेश दिएपछि मात्रै प्रहरीले काम गर्ने अवस्था हुन नहुने बताए ।
नेपाल प्रहरी विधेयक गृहमन्त्री लेखकले १३ माघ २०८१ मा प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले यो विधेयकमाथि सामान्य छलफल गरेर राज्य व्यवस्था समितिमा पठाएको छ । राज्य व्यवस्था समितिले दफावार छलफल गरेर विधेयक अगाडि बढाउनेछ ।
मुलुक संघीयतामा गएसँगै राजनीतिक संघीयता कार्यान्वयनमा गइसकेको छ । तर, नेपाल प्रहरी केन्द्रिकृत संरचनामै छ । यसकारण प्रहरी विधेयकलाई संघीयता कार्यान्वयन गर्ने विषयसँग समेत जोडेर हेरिएको छ ।
प्रहरी ऐन २०१२ सालमा संशोधन हुँदै आएको यसपटक पूरानो ऐन खारेज हुने गरी नयाँ ऐन बनाउन लागिएको छ । यसकारण पनि यो विधेयक महत्वपूर्ण रहेको सांसदहरू बताउँछन् । समितिमा सैद्धान्तिक छलफल जारी छ ।
प्रतिक्रिया 4