+
+
Shares

अमेरिकासँग भिड्दा छिमेकमै उल्झनमा इरान

इजरायल–इरानबीचको युद्धमा अमेरिका पनि मिसिएपछि कतारको भूभाग पनि चपेटमा परेको हो । मध्यपूर्वमा अमेरिकाको बलियो उपस्थिति रहेकाले दुई देशको युद्धमा अमेरिका सहभागी हुँदा पूरै क्षेत्र नै प्रभावित हुने खतरा रहन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायलले १३ जुनमा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ।
  • अमेरिका, कतार र अन्य देशहरूले सैन्य गतिविधि र आक्रमणको प्रतिक्रिया दिएका छन्।
  • इरानले अमेरिकी एयर बेसमा मिसाइल प्रहार गरेपछि क्षेत्रीय युद्धको आशंका बढेको हो।

११ असार, काठमाडौं । इजरायलले १३ जुनमा इरानमाथि आक्रमण गरेको थियो । १२ दिनसम्म संघर्षरत इजरायल–इरानबीच युद्धविराम भएको छ ।

२२ जुनमा अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेपछि दुई देशको लडाइँमा नयाँ मोड आएको थियो । अमेरिकाले इरानको फोर्दो, नतान्ज र इस्फहानमा झण्डै १४ हजार किलोग्रामको बम खसालेको थियो ।

इजरायललाई परोक्षरुपमा सहयोग गर्दै आएपनि अमेरिका आफैं यो युद्धमा सामेल भएको थिएन । त्यसको कारण थियो– आक्रमण गरेमा मध्यपूर्वका देशमा रहेका उसका सैन्य अड्डाहरूमा इरानले पनि प्रत्याक्रमण गर्नसक्ने ।

नभन्दै गत सोमबार कतारले एकाएक आफ्नो हवाई क्षेत्र यात्रु विमानका लागि बन्द गर्ने घोषणा गर्यो । त्यसपछि कतारको दोहास्थित अमेरिकी एयर बेसमा इरानले क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको खबरहरू आए ।

सोमबार राति १० बजेतिर इरानले दोहास्थित अल–उदैद एयर बेसलाई निसाना बनाएर मिसाइल प्रहार गरेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल प्रहारलाई ‘कमजोर आक्रमण’को संज्ञा दिए ।

आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका थिए, ‘इरानको आक्रमण अप्रत्याशित थिएन, आक्रमणको सूचना पहिल्यै दिएकोमा म इरानलाई धन्यवाद दिन्छु, त्यसैकारण न कसैको ज्यान गयो न त कोही घाइते भए ।’

इजरायल–इरानबीचको युद्धमा अमेरिका पनि मिसिएपछि कतारको भूभाग पनि चपेटमा परेको हो ।

मध्यपूर्वमा अमेरिकाको बलियो उपस्थिति रहेकाले दुई देशको युद्धमा अमेरिका सहभागी हुँदा पूरै क्षेत्र नै प्रभावित हुने खतरा रहन्छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी ‘बम्बर्स’ (बम खसाल्ने सैन्य समूह) ले इरानको भूमिगत आणविक केन्द्रमा झन्डै ३० हजार पाउन्ड तौलको बंकर बस्टर (जमीनमुनि गहिराइमा बिस्फोट हुने बम) खसालेको थियो । बम प्रहारपछि राष्ट्रपति ट्रम्पले इरानमा सत्ता परिवर्तनको कुरा गरेका थिए ।

इजरायलले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई मार्नेसम्मको धम्की दिएको थियो । तीव्र आक्रमणले युद्ध चर्किँदै जाने प्रक्षेपण गरिएका बेला राष्ट्रपति ट्रम्पले दुई देशबीच युद्धविरामको घोषणा गरे ।

इरानका सर्वोच्च नेता खामेनीले इरानले सुरुमा कसैमाथि आक्रमण नगर्ने र कसैले आक्रमण गरे त्यसको प्रतिवाद गर्ने बताउँदै आएका छन् ।

छिमेकी देशहरू सँगै उल्झनमा पर्नसक्छ इरान ?

कतारको दोहास्थित अमेरिकी एयर बेस अल–उदैद झन्डै २४ हेक्टरमा फैलिएको छ । रोयटर्सका अनुसार मध्यपूर्वमा यो सबभन्दा ठूलो अमेरिकी एयर बेस हो ।

अल–उदैद एयर बेसमा झन्डै १० हजार अमेरिकी सैनिक छन् । यो ‘यूएस सेन्ट्रल कमान्ड’ (अमेरिकी केन्द्रीय सुरक्षा फौज) कै हिस्सा हो ।

कतारको उक्त एयर बेसबाट अमेरिकी सेनाले इजिप्टदेखि पूर्वमा काजकस्तानसम्म सैन्य अपरेसन चलाउन सक्छ । मध्यपूर्वमा महत्वपूर्ण मानिएको सोही एयर बेसमा इरानले सोमबार आक्रमण गरेको थियो । दोहामा इरानको आक्रमणपछि मध्यपूर्वमा युद्धको दायरा फैलिन सक्ने आशंका गरिएको छ ।

इरानी आक्रमणको निन्दा गर्दै कतारको विदेश मन्त्रालयका प्रवक्ता डा. मजिद अल अन्सारीले मुलुकको सम्प्रभुता, हवाई क्षेत्र, अन्तर्राष्ट्रिय मान्यता र संयुक्त राष्ट्रसंघको चार्टरको उल्लघंन भएको बताएका थिए ।

अन्सारीले भनेका छन्, ‘कतारले यस आक्रमणको प्रतिवाद गर्ने अधिकार राख्छ । कतारले इरानी मिसाइललाई बीचमै नष्ट गरेर खसालेको छ । यस किसिमको आक्रमणले पूरै क्षेत्रमा अस्थिरता बढ्न सक्छ । जब इजरायलले इरानमा आक्रमण गरेको थियो त्यतिबेला कतार मात्रै थियो, जसले त्यसको निन्दा गर्यो ।’

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाएईले अमेरिकी एयर बेसमा गरिएको आक्रमण आत्मरक्षाका लागि भएको बताए ।

अमेरिकाले बिनाकारण २२ जुनमा इरानको क्षेत्र र राष्ट्रिय अखण्डतामाथि आक्रमण गरेको उनको भनाइ छ । यूएन चार्टरको आर्टिकल ५१ अनुसार आक्रमण गरिएको उनले बताए । ‘उक्त आक्रमण आत्मरक्षाका लागि थियो, कतारसँग हाम्रो कुनै समस्या छैन ।’

कतारमा मात्रै हैन, मध्यपूर्वका अधिकांश देशमा अमेरिकी सेनाको उपस्थिति छ । दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटीमा पश्चिम एशिया अध्ययन केन्द्रका प्रोफेसर अश्विनी महापात्रा भन्छन्, ‘इरानको युद्ध अमेरिका र इजरायलमा सीमित हुँदैन, मध्यपूर्वमा इरानका छिमेकी देशहरूमा पनि अमेरिकी सैन्य अड्डा छन् ।’

प्रोफेसर महापात्रा भन्छन्, ‘गल्फमा धेरैजसो देशहरू आफ्नो महत्वको संकटमा रुमल्लिएका छन्, उनीहरूलाई आफ्नो शासनसत्ताको वैधता कहिलेसम्म रहन्छ भन्ने कुराले पिरोल्छ, उनीहरू आन्तरिक समस्याबाट घेरिएका हुन्छन्, अनि छिमेकमा केही हुँदा उनीहरूलाई डर लाग्छ ।’

सोही कारणले मध्यपूर्वका धेरै देशले अमेरिकासँग द्विपक्षिय सम्झौता गरेका उनको भनाइ छ । इरानसँग जुध्नुपर्ने स्थितिमा अमेरिकाले बचाउने उनीहरूको विश्वास हो । इरान र इजरायलको युद्धमा अमेरिका सामेल भएको स्थितिमा अमेरिकी सैन्य अड्डा रहेका गल्फका देशहरू पनि त्यसमा सहभागी हुने निश्चित रहेको उनले बताए ।

बहराइन, कुवेत, यूएई, ओमान र साउदी अरबमा अमेरिकी सैन्य अड्डा रहेकाले इरानले ती देशहरूमा निसाना साँध्न सक्छ ।
यस्ता आक्रमणका बेला अमेरिकी सैन्य बेस भन्दा बाहिर बम खसेको अवस्थामा इरानलाई छिमेकीसँगै लड्नुपर्ने स्थिति आउन सक्छ ।

धनाढ्य देश कतारले आफ्नो सम्प्रभुताको उल्लघंन गरेको भनेपनि उ इरानसँग लड्न सक्दैन । कतार र इरानबीच हालसम्म सौहार्द सम्बन्ध रहँदै आएको छ । साउदी अरबले यमनमा आक्रमण गर्दा पनि कतारले इरानलाई साथ दिएको थियो ।

कतारमा अमेरिकी सैन्य एयर बेसमा इरानल गरेको आक्रमणको भने साउदी अरबले आलोचना गरेको थियो । साउदी अरबमा पनि अमेरिकी सैन्य एयर बेस रहेकाले इरानले निसाना बनाउन सक्नेतर्फ साउदी अरब चिन्तित रहन्छ ।

कतिपय विश्लेषकले अमेरिकी विश्वसनीयता पहिलेभन्दा खस्किएको भन्दै पछिल्लो पटक इजरायल र इरानबीचको युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले थप क्षति गरेको बताउँछन् । त्यसको असर मध्यपूर्वमा देखिएको छ ।

मिडल ईस्ट इन्स्टिच्यूटमा टर्कीश प्रोग्रामका डाइरेक्टर गोनुल तोलले भनेका छन्, ‘दोस्रो पटक अमेरिकी राष्ट्रपति ट्रम्प गल्फ गए, ट्रम्पले त्यहाँ पुगेर आफूले ब्यापार चाहेको, युद्ध नचाहेको बताए, ट्रम्पले परमाणु कार्यक्रमका विषयमा इरानसँग वार्ता जारी रहेको भन्दै १५ जुनसम्म नतीजाका लागि कुर्नुपर्ने बताए, राष्ट्रपति ट्रम्पले इजरायलले आक्रमण गरोस् भन्ने आफूले नचाहेको बताउँदै इजरायली प्रधानमन्त्री नेतन्याहूलाई चेतावनी दिएको बताएका थिए ।’

उनका अनुसार अमेरिकी गुप्तचर संस्थाले इरानले परमाणु हतियार बनाइरहेको कुरालाई खण्डन गरेको थियो । सन् २००३ मा स्थगित गरिएको परमाणु कार्यक्रम इरानले पुन: सुरु नगरेको सूचना थियो । १२ जुनसम्म अमेरिका र इरानबीच वार्ता जारी रहने कुरा थियो तर, १३ जुनका दिन इजरायलले इरानमाथि आक्रमण गर्यो ।

तथापि अमेरिकाले दुई देशबीचको युद्धमा आफू सामेल नहुने बताइरहेको थियो । राष्ट्रपति ट्रम्पले कूटनीतिलाई जोड दिने बताएको दुईघण्टा नबित्दै इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई मार्ने धम्की दिए ।

त्यसपछि एक कदम पछाडि हट्दै ह्वाइट हाउसले इरानविरुद्धको युद्धमा सामेल हुने नहुनेबारे राष्ट्रपति ट्रम्पले दुई हप्ताभित्र निर्णय गर्ने बयान जारी गर्यो ।

टर्की निवासी कूटनीतिक मामिलाका जानकार गोनुल तोल भन्छन्, ‘या त अमेरिकी राष्ट्रपतिको स्वास्थ्य ठिक छैन वा इजरायली प्रधामन्त्री नेतन्याहूले उनलाई गुम्राहमा राखेका छन्, जे सुकै होस् अमेरिकाप्रतिको विश्वसनीयता कहिल्यै यति तल खस्किएको थिएन ।’

उनका अनुसार मध्यपूर्वका देशले अमेरिका बाहेकको मानसिकता बनाउन जरुरी छ । साउदी अरबका लागि पूर्व भारतीय राजदूत तलमीज अहमदका अनुसार गल्फका प्रत्येक देशमा अमेरिकी सैन्य अड्डा छन् ।

गल्फमा झन्डै ७० हजार अमेरिकी सैनिक रहेको उनी बताउँछन् । अमेरिकी सेनासँग ‘एक्स्ट्रा टेरिटोरियल राइ‍ट’ अर्थात् उक्त देशको नियम–कानून र सीमाभन्दा बाहिर गएरसमेत आक्रमण गर्ने अधिकार छ ।

उनी भन्छन्, ‘यी देशमा अमेरिकाको सैन्य अड्डा छ र उनीहरूसँग त्यसलाई कसरी सञ्चालन गर्ने पूर्ण अधिकार छ, अरबका कुनै पनि देशले अमेरिकालाई रोक्न सक्दैनन्, इजरायलले इरानमाथि प्रहार गरेको ड्रोन जोर्डन हुँदै जान्छ, त्यसलाई जोर्डनले रोक्न सक्थ्यो र त्यो उसको जिम्मेवारी पनि हो, कयौं ड्रोन त जोर्डनमै खस्ने गरेका छन् ।’

मध्यपूर्वमा अमेरिकी सैन्य एयर बेस

बहराइन

बहराइनमा अमेरिकी नेवी फिफ्थ फ्लीटको मुख्यालय छ । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले उक्त सैन्य एयर बेसलाई गल्फ, लाल सागर, अरब सागर र केही हिन्द महासागरको हिस्सको समेत जिम्मेवारी दिएको छ ।

कुवेत

कुवेतमा अमेरिकाको क्याम्प अरिफजोन सैन्य अड्डा बाहेक अल अली सालेम एयर बेस पनि छ । उक्त एयरबेस इराकको सीमा हुँदै ४० किलोमिटर क्षेत्रमा फैलिएको छ । कुवेत र उत्तर पश्चिम क्याम्प बेरिङ सैन्य अड्डा छ । सन् २००३ मा इराकसँग भएको युद्धका बेला अमेरिकाले सो एयर बेस निर्माण गरेको थियो ।

यूएई
अल दहाफ्रा एयर बेस यूएईको राजधानी अबुधाबीको दक्षिणमा अवस्थित छ । यूएईको एयर फोर्ससँगको साझेदारीमा अमेरिकाले उक्त एयर बेस सञ्चालन गरिरहेको छ ।

इस्लामिक स्टेटका विरुद्धको लडाइँका दौरान उक्त एयर बेसको महत्वपूर्ण भूमिका रहेको बताइन्छ । दुबईको जेबेल अली पोर्टलाई औपचारिकरुपमा सैन्य एयर बेस नमानिएपनि यसलाई मध्यपूर्वमा अमेरिकी नेवीको ‘लार्जेस्ट पोर्ट अफ कल’ अर्थात् धेरै आवागमन रहने बन्दरगाह भन्ने गरिन्छ ।

इराक

पश्चिमी इराकको अनबार प्रान्तमा अइन अल असद एयर बेसमा अमेरिकी सेनाको उपस्थिति छ । ह्वाइट हाउसका अनुसार अमेरिकाले यहाँ इराकी सुरक्षा बललाई समर्थन गर्दै आएको छ, जसले नेटो मिसनलाई योगदान दिन्छ ।

सन् २०२० मा इरानले यही एयर बेसमा आक्रमण गरेको थियो । त्यसको प्रतिवादस्वरुप अमेरिकाले इरानका उच्च सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो ।

यसबाहेक इराककी अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानमा समेत अमेरिकाको इरबिल एयर बेस छ । यहाँ अमेरिकी गठबन्धन सैनिकले तालिम र युद्ध अभ्यास गर्दै आएका छन् । एक रिपोर्टका अनुसार यहाँबाट अमेरिकाले खुफीया जानकारी लिने गर्दछ ।

साउदी अरब

ह्वाइट हाउसको एक पत्रअनुसार सन् २०२४ मा साउदी अरबमा अमेरिकी सैनिकको संख्या २ हजार ३२१ थियो । यी सैनिकले साउदी सरकारसँग मिलेर काम गर्दै आएका छन् । यसमध्ये केही सैनिक रियादबाट झन्डै ६० किलोमिटर टाढा प्रिन्स सुल्तान एयर बेसमा रहन्छन् । यस एयर बेसलाई अमेरिकी आर्मी ‘एयर डिफेन्स एसेट’कोसहायता हुने गरेको छ ।

जोर्डन

जोर्डनमा मुवाफाक अल सलाती एयर बेस छ । जुन यूएस एयर फोर्स सेन्ट्रल ३३२ एयर विंगको हिस्सा हो । जोर्डनको राजधानी अम्मानदेखि १०० किलोमिटर टाढा उक्त एयर बेस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?