+
एएफसी महिला एसियन कप छनोट :

उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल

२०८२ असार  १९ गते ८:५४ २०८२ असार १९ गते ८:५४
उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी एसियन कप छनोटमा नेपाल र उज्बेकिस्तानले समान ६ अंक जोडेका छन् ।
  • गोलअन्तर पनि बराबर हुँदा विजेता निर्धारण फेयर प्लेबाट निर्धारण हुन सक्छ ।
  • समूहको विजेता टोली मात्र एसियन कपमा छनोट हुने प्रावधान छ ।

१९ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ ।

उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुने होडमा छन् ।

लगातार दुई खेल हारेको लाओस र श्रीलंका समूह विजेता बन्ने होडबाट बाहिरिसकेका छन् । नेपाल र उज्बेकिस्तान दुवैले कुनै गोल नखाई लाओस र श्रीलंकालाई पराजित गरेको छ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ८-० ले पराजित गर्‍यो । उता पहिलो खेलमा श्रीलंकालाई १० गोल हानेको उज्बेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो ।

नयाँ कप्तान सावित्रा भण्डारी र नयाँ प्रशिक्षक प्याट्रिक डि वाइल्डको नेतृत्वको नेपाली महिला टोलीले सुरुवाती दुई खेलमा गज्जबको प्रदर्शन गरेको छ । अब त्यो लय समूहको अन्तिम खेलमा पनि कायम राख्नुपर्ने बेला आएको छ ।

उज्बेकिस्तानले लाओसविरुद्ध अन्तिम समयमा २ गोल गरेपछि अब समूह एफको समिकरण रोचक बनेको छ । किनभने दुई खेलबाट नेपाल र उज्बेकिस्तानले समान १७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन् । यस्तोमा दुवैको गोल अन्तर अहिलेसम्म बराबर नै छ ।

यदि उज्बेकिस्तानले लाओसलाई कम गोल गरेको भए अन्तिम खेलमा नेपालले उज्बेकिस्तानसँग बराबरी गरेपनि समूह विजेता बन्न सक्थ्यो । तर अब गोलअन्तर बराबरी हुँदा दुवै टिमलाई अन्तिम खेल महत्वपूर्ण बनेको छ । एसियन कपमा पुग्नका लागि यो खेल अघोषित फाइनल जस्तै बन्नेछ ।

यदि नेपाल र उज्बेकिस्तानबीच समूह चरणको अन्तिम खेल बराबरीमा सकिएमा खेल *पेनाल्टी सुटआउटसम्म पुग्न सक्छ । किनभने नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भएमा हेड टु हेड, गोल अन्तर, धेरै गोल गरेको सबै परिस्थितीमा बराबर नै हुनेछ । त्यसैले प्रतियोगिताको नियमावली अनुसार समूहको अन्तिम खेल समेत भएकोले यदि खेल बराबरी भएमा सिधै पेनाल्टीसुटआउट हुनेछ ।

यदि अन्तिम खेल बराबरी नभएर कुनै टोलीले स्पष्ट नतिजा निकालेमा त्यो टोली नै समूह विजेता बनेर महिला एसियन कपमा छनोट हुनेछ ।

लगातार दुई खेलमा क्लिनसिट सहित सानदार जित निकालेपछि नेपाली टिमकी नयाँ कप्तान सावित्रा भण्डारी साम्बाले टिम इफोर्टले गर्दा यो सम्भव भएको बताइन् । ‘समग्रमा राम्रो भयो । टिमवर्कले गर्दा नै राम्रो भएको छ’ उनले भनिन् ।

कप्तान सावित्राले अन्तिम खेलमा उज्बेकिस्तानसँग फाइट गर्न तयार रहेको बताएकी छन् । ‘निश्चय पनि दुई खेल खेलिरहँदा हामीसँग ६ अंक छ । टिममा सबैसँग पोजिटिभ मेन्टालिटी छ’ उनी भन्छिन्, ‘अब मुख्य चुनौती बाँकी छ र त्यो चुनौतीलाई स्वीकार गरेर हामी फाइट गर्न रेडी छौँ ।’

समूह एफमा उज्बेकिस्तान र नेपाल नै समूह विजेता बन्न मुख्य दाबेदारको रुपमा थिए । लगातार दुई खेल जितेर दुवैले त्यसलाई प्रमाणित गरिसकेका छन् । अब नेपाल र उज्बेकिस्तान मध्ये एक टिम मात्र एसियन कपमा पुग्ने भएकोले दुवैलाई अन्तिम खेल महत्वपूर्ण हुनेछ ।

यद्यपी नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन नसकेकोले केही दबाब भने हुने सक्छ । अहिलेसम्म नेपाल र उज्वेकिस्तानबीच तीन खेल हुँदा तीनै खेलमा नेपाल पराजित भएको छ ।

सन् १९९९ मा फिलिपिन्समा भएको महिला एसियन कपमा नेपालले पहिलो पटक उज्बेकिस्तानसँग खेलेको थियो । त्यसमा खेलमा नेपाल ६-१ ले पराजित भएको थियो । तर त्यस खेलमा नेपालले ऐतिहासिक गोल गरेको थियो । पेमा डोल्मा लामाले उज्बेकिस्तानविरुद्ध गरेको त्यो गोल नै नेपाली महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

त्यसपछि नेपालले सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले उज्बेकिस्तानसँग दुई खेल खेल्दा दुवैमा पराजित भएको थियो । समूह चरणमा २-० ले पराजित भएको नेपाल उज्बेकिस्तानसँग फाइनलमा ३-२ ले पराजित भएको थियो । त्यसबेला फाइनलमा हालका कप्तान सावित्राले उज्वेकिस्तान विरुद्ध २ गोल गरेकी थिइन् । तर त्यो जितका लागि पर्याप्त भएन ।

अहिलेसम्म तीन खेल खेल्दा नेपालबाट उज्बेकिस्तान विरुद्ध गोल गर्दे पेमा र सावित्रा दुई खेलाडी मात्र हुन् । तीन खेलमा उज्बेकिस्तानले ११ गोल गर्दा नेपालले जम्मा ३ गोल मात्र गरेको छ ।

नेपालले उज्बेकिस्तान विरुद्ध पहिलो गोल गर्दा सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यसको २६ वर्षपछि फेरि एसियन कप पुग्ने लक्ष्यमा रहेको नेपालका लागि अहिले त्यही उज्बेकिस्तान मुख्य चुनौतीको रुपमा रहेको छ ।

उज्बेकिस्तानले १९९९ पछि सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो । उज्बेकिस्तान पनि २२ वर्षपछि महिला एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।

घरेलु मैदान र समर्थक हुँदा उज्बेकिस्तानलाई घरेलु मैदानमा खेल्दा फाइदा हुन सक्छ । नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन नसकेको इतिहास रहेकोले यस पटक उज्बेकिस्तानलाई हराउँदै एसियन कप पुगेमा महिला फुटबलमा नयाँ उपलब्धि प्राप्त हुनेछ ।

*यसअघि बराबरी भएको अवस्थामा फेयर प्लेका आधारमा समूहविजेता टुंगो लाग्ने भनिएपनि एएएफसीको प्लेइङ कन्डिशन अनुसार बराबरी भएमा खेल सिधै पेनाल्टीमा जानेछ ।

नेपाली महिला फुटबल टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय