+
+
Shares

थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

नेटवर्क नचलेपछि पूर्वी रुकुम जाने भन्दै हिँडेका थिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते २२:१२

२५ असार, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।

गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् ।

‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ बुढामगरले अनलाइनखबरसँग भने, ‘आजै रातिसम्म मात्रै भुक्तानीको समय छ । पालिकालाई समस्या परेको छ ।’

साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएको उनले बताए ।

सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए ।

उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।

‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।

उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ ।

उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।

यी हुन् सम्पर्कविहीन भएका कर्मचारीहरू:

१) हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत

२) हरिश माझी, सहायक प्रशासन पाँचौ

३) यज्ञ प्रसाद कडेल, सह–लेखापाल

४) चन्द्र प्रकाश ओली, सव–इन्जिनियर

५) निशा आचार्य, सव–इन्जिनियर

६) शिव कुमार वली, खा.पा.स.टे

७) प्रदिप के.सी., सवारी चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?