
२६ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् ।
इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् ।
‘दोहोर्याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो (केपी ओली),’ भण्डारीले भनेकी छन्, ‘मलाई लाग्छ अरु नेताहरुले भने भन्दैमा दोहोर्याउने, तेहेर्याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’
यद्यपि, माधव नेपालहरुले पार्टी छोडेकाले एमाले अध्यक्षमा ओली दोहोरिनु परेको पूर्वराष्ट्रपति भण्डारीको तर्क छ । तर, अब ओलीले नेतृत्व हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताएकी छन् ।
अन्तर्वार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व परिवर्तनका सन्दर्भमा लोकतान्त्रिक अभ्याससम्मै पुग्नु परेपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताएकी छन् ।
‘(केपी ओली) सहकर्मी हो, साथी हो, सहयोद्धा हो, एउटै उद्देश्य र लक्ष्य पूरा गर्नका लागि । तर, लोकतान्त्रिक प्रक्रियामा सामेल भएपछि कहिलेकाँही समकालीन साथीहरुको बीचमा पनि प्रतिस्पर्धा हुन्छ,’ भण्डारीले भनेकी छन्, ‘यसलाई स्वभाविक रुपमा लिनुपर्छ, सबैले ।’
पूर्वराष्ट्रपति भण्डारीले एमालेको अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको प्रष्टिकरण दिएकी छन् ।
भण्डारीसँगको अन्तर्वार्ताको अंश :
प्रश्न: पार्टी अध्यक्षका रुपमा हाँक्ने हो ?
जवाफ: तपाईले भनेको कुरामा सत्यता छ । तर ११औं महाधिवेशन तोकिएको छैन, त्यसैले अहिले नै मैले कुन पदमा भनेर नभनौं …… ।
प्रश्न: तर, तपाईको लक्ष्य पार्टी अध्यक्ष हो ?
जवाफ: (हाँसो..) यो कुरा त सार्वजनिक बहसको एजेण्डा नै भइसक्यो नि !
प्रश्न: तपाईको चाहना र लक्ष्य पार्टी अध्यक्ष हो ?
जवाफ: पार्टीमा यो अनुभव, यति समय लिएर आइसकेपछि मैले जिम्मेवारी लिने भनेको त त्यही तपाईहरुले सोचेकै लाइनतिरै जान्छ ।
प्रश्न: पार्टी अध्यक्ष नै …
जवाफ: अँ ।
प्रश्न: किन, हिच्किचाउनु भयो नि ?
जवाफ: (हाँसो) हँसाउनुभयो, मलाई हिचकिच भन्ने केही होइन । तर समय आउनु पर्यो नि ! प्रतिक्षा गर्नुस् न !
प्रश्न: मैले के बुझें भने, विद्यादेवी भण्डारी पुन: फर्कने भनेको पार्टीलाई नेतृत्व दिनका लागि हो । अध्यक्षका रुपमा ।
जवाफ: एकदम् । त्यसमा त कुनै सन्देह छ र !
प्रतिक्रिया 4