
News Summary
Generated by OK AI. Editorially reviewed.- ७ महिनापछि मात्र आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बसेको छ।
- लामो समयपछिको यो भेटमा पनि उनीहरू एकअर्काप्रति खुलेका देखिँदैनन्।
- बैठकमा सहभागी एक सदस्यका अनुसार त्यहाँ सबैको भावभङ्गी केबल ‘औपचारिक’ देखिन्थ्यो।
२७ असार, काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनलाई मान्दा स्थानीय तहले १० असारभित्रै बजेट ल्याउनुपर्ने व्यवस्था छ । तर, त्यो मिति पनि घर्काएर ७ महिनापछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्यो । त्यो पनि एक मिनेट ।
त्यसअघि शुक्रबार बिहान ११ बजे काठमाडौं महानगरको स्रोत समितिको बैठक बसेको थियो, जसमा मेयर बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको झन्डै ६ महिनापछि संयुक्त देखभेट भयो । त्यसअघि उनीहरु छुट्टाछुट्टै भेट्ने गरे पनि एकै ठाउँमा भेटिएका थिएनन् ।
लामो समयपछिको यो भेटमा पनि उनीहरू एकअर्काप्रति खुलेका देखिंदैनन् । बैठकमा सहभागी एक सदस्यका अनुसार त्यहाँ सबैको भावभङ्गी केवल ‘औपचारिक’ देखिन्थ्यो ।
त्यसपछि करिब ३ बज्नै लाग्दा कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा गुरागाईं र मेयर बालेनबीच ‘औपचारिक’ देखादेख बाहेक केही भएन । मेयर बालेनले गुरागाईंलाई सम्बोधन पनि गरेनन् । सिधै ‘कर्मचारी साथीहरू’ भन्दै बालेनले सम्बोधन गरे ।
उपमेयर सुनिता डंगोललाई सम्बोधन गरेका बालेनले बाँकी सबैलाई एकमुष्ट सम्बोधन गरेर सिधै विषय प्रवेश गरेका थिए । ‘मेयरज्यूले सम्बोधन गर्दा नाम पनि लिनुभएन । त्यसबाहेक अनौपचारिक रुपमा बोल्ने र हात मिलाउने गरेको पनि हामीले देखेनौं’ बैठकमा उपस्थित एक सदस्यले बताए ।
हतारहतार सम्बोधन सकेर विषय प्रवेश गरेका मेयरले महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी २९ असार (आइतबार) आउने जानकारी दिए । त्यसका लागि आइतबार दिनको २ बजे फेरि नगरसभा बस्नेछ । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।
वडाध्यक्ष खुसी, तर सशङ्कित
वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले यो बैठकले ‘बन्धक’ बनेको महानगर केही खुलेको बताए । अहिलेको लागि यत्ति हुनु नै सकारात्मक भएकाले थप टिप्पणी आगामी कार्यक्रम र व्यवहारबाटै गरिनुपर्ने उनको भनाइ छ । ‘जेहोस्, अब जनताको लागि काम गर्ने क्रम सुचारु भयो । बैठक एक मिनेटमै सकिए पनि यसले केही सकारात्मक सन्देश दिएको छ,’ उनले भने ।
यसरी लामो समयपछि बोलाइएको बैठकलाई लिएर केही सकारात्मक भए पनि वडाध्यक्षहरू महानगरपालिका भित्रको यो तरिकालाई लिएर आजित सुनिन्छन् ।
काठमाडौं-११ का वडाध्यक्ष हिरालाल तण्डुकारका अनुसार यसरी रिसा-रिस गरेर महानगर चलाउँदा उचित परिणाम दिँदैन । ‘यस्तो पाराले कसरी चल्छ ? आजको लागि राम्रो भयो होला, तर सधैं यसरी हुँदैन,’ उनले भने, ‘के भन्ने अब ? यसबारे बोल्न लामै कुरा गर्नुपर्छ । यहाँभित्र धेरै कुरा छन् ।’
काठमाडौं-१२ का अध्यक्ष बालकृष्ण महर्जन पनि लामो समयसम्मको महानगर भित्रको संवादहीनता तोडिंदा खुसी भएको बताउँछन् । तत्कालको लागि चित्त बुझाउने ठाउँ रहे पनि यो तरिकाले काम गर्न नसकिने उनले बताए । अब आगामी दिनमा यस्ता विषय कसरी अघि बढ्छ भन्ने कुराले पनि महानगरको भविष्य बताउने उनले बताए ।
बैठकमा सहभागी केही वडाध्यक्षहरू मेयर बालेन ‘फिल्मी शैली’मा प्रस्तुत भएको बताउँछन् । ‘अलिअलि त लाइभमा देखिहाल्नुभयो । त्यसअघि पनि उहाँ आउने-बोल्ने केही भएन । जबकि, मिलेर काम गर्ने त हामीले नै हो नि,’ एक वडाध्यक्षले भने ।
उनका अनुसार सबैजना सहभागी भएपछि मेयर बालेन एकाएक हलमा छिर्छन् । आएर छिटोछिटो सम्बोधन गरेर, विषय टुंग्याउँछन् र कसैसँग नबोली एकाएक बाहिर निस्कन्छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि बैठकमा सहभागी थिए । तर उनलाई सम्बोधन गर्न समेत बालेन हिच्किचाए । बालेन निस्किएपछि एकछिनसम्म हलमा बसेका गुरागाईं पनि केहीबेरमा निस्किहाले ।
‘अब यत्रो महिना बन्द हुनुभन्दा यति भए पनि राम्रो भयो भनौं । चित्त बुझाउनु न हो,’ उनले भने, ‘तर बैठक यसरी सकियो कि, हामीले पनि एकअर्कालाई हेराहेर मात्र गर्न पायौं, केही अरु कुरै भएन । एकाएक बालेनज्यू आएर बोल्नुभयो । त्यसपछि सिधै निस्किनुभयो । गुरागाईंज्यू एकछिन होल्ड हुनुभयो । उहाँ पनि निस्कनुभयो । अनि हामी पनि खाजा खान निस्कियौं ।’
बाध्यताले बोलाइएको थियो कार्यपालिका
पछिल्लोपटक महानगरको बैठक १४ पुसमा बसेको थियो । बैठक बसेको १९४ दिनपछि मात्र कार्यपालिका बोलाइयो । यसरी करिब ७ महिनासम्म बैठक नबोलाइएपछि वडाध्यक्षहरूले दबाब नै दिनुपरेको थियो । महानगरका मेयर बालेन शाहलाई बैठक बोलाउन आग्रह गर्दै गत १२ जेठमा महानगरका ४१ सदस्यले पत्र लेखेका थिए । तर यसपछि पनि बैठक बोलाउने छनक देखिएन ।
आग्रहले काम नगरेपछि दुई दिनपछि (१४ जेठ) १५० भन्दा धेरै नगरसभा सदस्यले अनौपचारिक बैठक गरे । मेयर बालेनलाई बैठक बोलाउन थप दबाब दिए । तर त्यस बैठकमा वडाध्यक्ष रोजिना श्रेष्ठले भने सहभागिता जनाएकी थिइनन् ।
यसअघि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग विवाद हुँदा मेयर बालेनले उनको उपस्थितिमा कार्यपालिका र नगरसभा बस्न नसक्ने बताइरहेका थिए ।
यहीबीचमा उपमेयर सुनिता डंगोलले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी थिइन् ।
‘वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौं’ उनले भनेकी थिइन्, ‘डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौं । हामी सबै हातेमालो गरेर अघि बढौं ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समेत मेयर बालेनलाई बोलाएर यसबारे छलफल गरेकी थिइन् ।
काठमाडौं टावरको नक्सापास विवादपछि बालेनले प्रमुख प्रशासकीय अधिकृतको रूपमा गुरागाइँलाई स्वीकार नगरेकै कारण विवाद बढेको थियो, जसका कारण काठमाडौं महानगरले पहिलोपटक समयमा बजेट पाएन ।
सोही बजेट ल्याउन कानुनी बाध्यता आइपरेपछि बल्ल औपचारिक रूपमा महानगर भित्रको संवादहीनता तोडिएको हो । यद्यपि, तत्कालका लागि बजेट ल्याए पनि सहज तरिकाले महानगरका काम-कारबाही अगाडि बढ्नेमा स्वयं वडाध्यक्षहरू सशंकित देखिन्छन् ।
प्रतिक्रिया 4