
News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरूलाई प्रमाणविना चरित्र हत्या नगर्न आग्रह गरेका छन्।
- मन्त्री अधिकारीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई कानूनी रूपमा जग्गा दिन सरकार प्रतिबद्ध रहेको बताए।
- उनले संसद्मा दर्ता गरिएको भूमिसम्बन्धी विधेयकमाथि छलफल गरी पास गर्न सांसदहरूलाई अनुरोध गरे।
३० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सांसदहरूलाई प्रमाणविना चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘कुनै डिलिङ गरेको, पैसा लिएको तपाईंहरूले थाहा पाउनुभयो भने ल्याउनुस् प्रमाणितसहित, म आफैं भए पनि कारबाही भोग्न तयार छु ।’
उनले प्रमाणविना अनावश्यक रूपमा हल्ला गरेर कसैको चरित्र हत्या गर्ने र बदनाम गराएर काममा अवरोध गर्ने कामतिर नलाग्न अनुरोध गरे ।
उनले भूमि समस्या समाधान आयोग गठनको आफ्नै प्रक्रिया रहेको र प्रत्येक जिल्लाबाट अध्यक्ष चुनिने काम हुने जानकारी दिए ।
‘सत्यको आधारमा तथ्य फेला पर्छ र त्यसलाई अगाडि बढाउनुपर्छ। हामी गरिमामय सदनमा एउटा नीति बनाउने ठाउँमा भएका व्यक्तित्वहरूले हल्लाको भरमा हिँड्न उचित हुँदैन र मैले सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने ।
उनले थपे, ‘मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले कहीँ कतै त्यस्तो कारोबार र डिल गरेको रहेछ भने यहाँहरूले यथार्थता ल्याइदिनुस्। त्यसको निम्ति कानुनी कारबाही भोग्न तयार छौं ।’
मन्त्री अधिकारीले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई उनीहरूले बसोबास गरिरहेको स्थानमै कानूनी रूपमा जग्गा दिन सरकार प्रतिबद्ध रहेको बताए ।
कानूनी जटिलताका कारण भूमिहिन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गा वितरण गर्न समस्या भइरहेको उनले जानकारी दिए ।
‘कतिपय कुरामा जनताले जहाँ बसोबास र जग्गा भोगचलन गरेको छ त्यस्तो ठाउँमा जग्गा उपलब्ध गराउनको लागि कानूनी अड्चन भएको हुनाले कानूनी अड्चन फुकाउनको लागि हामीले भूमिसम्बन्धी विधेयक संसदमा दर्ता गराएका छौं’ उनले भने, ‘त्यो विधेयक तपाईंहरूले छलफल गरेर पास गरिदिनुस् ।’
प्रतिक्रिया 4