
News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ।
- फिल्ममा पैसा मोहले ल्याउने पारिवारिक र सामाजिक प्रभावको कथा प्रस्तुत गरिएको छ।
- ‘सिटामोल’ साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शन हुने तयारीमा छ।
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सिटामोल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । पैसा मोहले ल्याउने पारिवारिक र सामाजिक प्रभावको कथा यसमा छ ।
पैसा लोभी पत्नीको दबाबमा चर्को ब्याजमा ऋण लिएपछि त्यसले उक्त परिवार र सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा छ । फिल्ममा बेनिशा हमालले पैसाप्रति अनुराग राख्ने युवतीको भूमिका निर्वाह गरेकी छन् ।
सौगात मल्ल शारिरिकरुपमा अशक्त पात्रको रोलमा छन् । उनले लगाएको टोपी हेर्दा उनी पूर्वमाओवादी लडाकु रहेको अनुमान गर्न सकिन्छ । यद्यपी, कथावस्तु र चरित्र चित्रणबारे विस्तृत खुलाइएको छैन ।
३ मिनेट २० सेकेण्ड ट्रेलरमा कमेडी, सटिक संवाद र सामाजिक व्यंग्य समेटिएको छ । पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ ।
सामाजिक सन्देशलाई हाँस्यरसको माध्यमबाट प्रस्तुत गरिएको छ । बेनिशा र सौगातको मर्मस्पर्शी अभिनयले कथावस्तुलाई अझै सहज तुल्याएको छ । निर्माताले यो फिल्म नेपाली समाजका दुःख, विडम्बना र भ्रष्ट प्रणालीप्रतिको कटाक्ष रहेको बताएका छन् ।
राजबहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेलको अभिनय छ ।
तुलसीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा फिल्म निर्माण गरेको हो । पटकथाकार प्रदीप भारद्धाज हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कार्की र विकास जोशी निर्माता हुन् ।
अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । ‘सिटामोल’ जनैपूर्णिमाको अवसरमा साउन २३ गते (अगस्ट ८)मा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4