
१० साउन, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धार्थनगर–९ का १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको विनयी त्रीवेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्दै आएका १५ वर्षीय दिनेश न्यौपाने रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाका अनुसार, पक्लिहवा कृषि क्याम्पस पछाडिको डण्डा खोलामा ५ जना बालक पौडी खेल्न गएका थिए ।
तीमध्ये ३ जना सकुशल बाहिर निस्किए पनि अर्याल र न्यौपाने डुबेका थिए । घटनाको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो ।
टोलीले दुवै बालकलाई मृत अवस्थामा फेला पारेको डीएसपी सापकोटाले बताए । प्रहरीले शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4