
एचबीओको विश्वचर्चित टेलिभिजन शृंखला ‘गेम अफ थ्रोन्स’ हेर्नेहरूले उनलाई इरीका रूपमा चिने। ब्रिटिश मेडिकल ड्रामा ‘द गुड कर्मा हस्पिटल’ का दर्शकका लागि उनी डा.रुबी वाकर हुन्।
पर्दामा देखिने यी पात्रहरूभन्दा टाढा, अमृता आचार्यको वास्तविक जीवनमा एउटा गहिरो नेपाली कथा लुकेको छ- ललितपुरको पाटनदेखि युक्रेन, बेलायत, नर्वे हुँदै विश्व सिनेमासम्मको यात्रा।
अमृता नेपाली-युक्रेनी मूलकी ब्रिटिश अभिनेत्री हुन्, जसले आफ्नो नेपाली जरा कहिल्यै भुलेकी छैनन्। उनी केवल कलाकार मात्र नभई सांस्कृतिक मिश्रण, अनुभव र सामाजिक जिम्मेवारीको जीवन्त उदाहरण पनि हुन्।
एक वर्षकै उमेरमा सपरिवार युक्रेनबाट नेपाल आएकी अमृताले आफ्नो बाल्यकालका ५-६ वर्ष पाटनमा बिताइन्। त्यो समय उनको अभिनय र अभिव्यक्तिको सुरुआत भएको समय पनि थियो। ‘मेरो सबैभन्दा उज्याला स्मृतिहरू विद्यालय बिदामा हजुरआमाको घरमा बिताएका दशैं र तिहारका दिनहरू हुन्’ उनी सम्झिन्छिन्, ‘जहाँ पूरै परिवार जम्मा हुन्थ्यौं र मैले धेरै समय दिदी र साथीभाइहरूसँग बिताएँ।’

त्यही बालापनमा उनले कला, विशेषगरी नृत्यप्रतिको मोह पत्ता लगाइन्। ‘म पुराना बलिउड फिल्महरू हेर्न मन पराउँथें। मेरी दिदीको गडमदरले भरतनाट्यम सिकाउनुहुन्थ्यो’ अमृताले सुनाइन्, ‘मलाई त्यो राम्ररी आउँथ्यो कि भन्ने त थाहा छैन, तर उत्साही भने थिएँ। शरीरको गति र कथालाई एकसाथ प्रस्तुत गर्ने माध्यमका रूपमा नृत्य गर्न मलाई असाध्यै मन पर्थ्यो।’
हजुरआमाका कथाहरू, पारिवारिक जमघट, चाडपर्वको रङ र सांगीतिक-नाट्य वातावरणमा हुर्किंदा अमृताको भित्र कलाको बीउ उम्रिएको थियो, जुन पछि विश्वका ठूला पर्दामा फुल्न पुग्यो।
अभिनय यात्रा
अमृता आचार्यले अभिनयलाई आफ्नो पेशा बनाउने निर्णय कुनै एक विशेष क्षणमा होइन, क्रमिक अनुभव र लगनशीलताबाट लिइन्। उनी भन्छिन्, ‘अभिनय, लेखन र निर्देशन जस्ता कामहरू मलाई पढाइभन्दा बढी सहज लाग्थे। जब म युवा थिएँ र जिम्मेवारी कम थियो, त्यही बेला प्रयास गर्ने उपयुक्त समय ठानें। अहिलेसम्म त ठिकै चलेको छ।’
उनको अन्तर्राष्ट्रिय अभिनय यात्रामा एउटा महत्वपूर्ण मोड आयो जब विश्वप्रसिद्ध काल्पनिक नाटक शृंखला ‘गेम अफ थ्रोन्स’ मा अभिनय गर्ने अवसर पाइन्। उनले यसबारे बताइन्, ‘यो अवसर एकदमै सामान्य प्रक्रियाबाट आयो- अडिसन, पुनः बोलावट अनि अन्ततः अभिनयको प्रस्ताव। यो मेरो सुरुआती कामहरूमध्ये एक थियो, र त्यसैले विभिन्न कलाकार, निर्देशकसँग काम गर्ने र सिक्ने राम्रो अवसर बन्यो।’
उनले आईटीभीको लोकप्रिय मेडिकल ड्रामा ‘द गुड कर्मा हस्पिटल’ मा दक्षिण एशियाली पृष्ठभूमिका डाक्टरको भूमिका निभाएकी छन्। उनी भन्छिन्, ‘म सधैं आफ्नो पात्रसँग अनिवार्य रूपमा आफूलाई जोड्न खोज्दिनँ- बरु फरकपन खोज्ने प्रयास गर्छु। तर यस भूमिकामा ती पात्र दुई संस्कृतिको मिश्रण थिइन्, जुन मेरो आफ्नै जीवनसँग मेल खान्थ्यो। मैले दुई पूर्णतः फरक संस्कृतिका आमाबाबुसँग र थप दुई देशमा हुर्किएर त्यो अनुभव बुझेकी छु। तर मेरी पात्र बेलायतमै हुर्किएकी थिइन् र आफ्ना मूल संस्कृतिसँग जडान नभएको अनुभूति गरिरहेकी थिइन्- यो हाम्रो बीचको मुख्य भिन्नता थियो। साथै, मेरो बुबाको पेशा अर्थात् चिकित्सा क्षेत्रमा डुबुल्की मार्न पाउँदा रमाइलो लाग्यो। अर्को जीवनमा शायद म उहाँकै पथ पछ्याउँथें होला !’
त्यति मात्र होइन, अमृताले ‘द डेभिल्स डबल’ जस्तो जीवनी आधारित चलचित्रमा स्कूले किशोरीको भूमिका समेत निभाएकी छिन्। यस्तै ‘वेलकम टु क्युरियोसिटी’ नामक ब्रिटिश थ्रिलर चलचित्रमा पनि अभिनय गरेकी छिन्, जुन पूर्ण रूपमा क्राउडफन्डिङबाट बनेको पहिलो चलचित्रमध्ये एक हो।
उनको अभिनय यात्रा यत्तिमा सीमित छैन। नर्वेमा बनेको ‘आई एम योर्स’ नामक चलचित्रमा मुख्य भूमिका निभाएर उनी नर्वेको प्रतिष्ठित अमान्डा अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीका लागि मनोनित भइन्। यो चलचित्र अस्करको विदेशी भाषा विधाका लागि नर्वेको आधिकारिक छनोट समेत भएको थियो।
अमृताले नर्वेजियन टेलिभिजनका लोकप्रिय शृंखला ‘एक्विटेड’ (दोस्रो सिजन) र ‘फ्रिकजेन्ट’ मा पनि अभिनय गरिन्, जहाँ उनले क्रमशः ‘अमिना साहिर’ र राज्य अभियोजकको भूमिका निभाएकी थिइन्।
सन् २०२० मा उनी आईटीभीको अर्को नाटक ‘द सिस्टर’ मा ‘होली फक्स’ को रूपमा देखिइन्। यो थ्रिलर शृंखलामा उनले रसेल टोवे अभिनित पात्र नाथनकी पत्नीको भूमिका निभाएकी थिइन्, जसले आफ्ना विगतका अँध्यारा रहस्यहरूसँग संघर्ष गरिरहेको थियो।
हालै उनी स्टार्ज नेटवर्कको ऐतिहासिक शृंखला ‘द सर्पेन्ट क्विन’ मा ‘अबिस’ को भूमिकामा देखिएकी छिन्। यो नाटक फ्रान्सको चर्चित रानी क्याथरिन डी मेडिसीको जीवनमा आधारित छ। यसमा अमृताले समन्था मोर्टन र चार्ल्स डान्स जस्ता चर्चित कलाकारसँग सहकार्य गरेकी छिन्।
नेपाली माटोमा उब्जिएको अभिनयको बीउ
अमृताको जन्म सन् १९८७ को जुलाई ३१ मा युक्रेनको लभिभमा भएको थियो। उनका पिता डा. गणेश आचार्य सन् १९८० मा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्न युक्रेन पुगेका थिए। त्यहीं उनले आर्किटेक्ट पेशाकी युक्रेनी महिला लरिसासँग विवाह गरे।
डा. आचार्य भन्छन् , ‘अमृता एक वर्षको हुँदा म सपरिवार नेपाल फर्किएँ। अमृताको बाल्यकाल नेपालमै बित्यो। उनको स्कुलिङ पाटन अस्पताल नजिकैको आई.जे. पायोनियर हाईस्कूलबाट शुरु भएको हो।’
आफ्नो प्रारम्भिक विद्यालय जीवन सम्झँदै अमृताले भनिन्, ‘एक पटक नाच्न ढिला गरेपछि खुट्टामा लाठीले हानेको पनि याद छ। कक्षाकोठाभन्दा बढी त साथीहरूसँग स्कूलपछि गरेका रमाइला क्रियाकलापहरूको सम्झना हुन्छ। कहिलेकाहीं बाबा पहेंलो स्कुटीमा मलाई लिन आउनुहुन्थ्यो र काठमाडौंको ट्राफिक पार गर्दै सवारी गर्न मलाई निकै रमाइलो लाग्थ्यो।’
उनी बाबुको थातथलो अर्घाखाँची र कपिलवस्तु पनि पुगेकी थिइन्। ‘हाम्रा बाबु–आमा जीवित हुनुहुन्थ्यो, छोरी अमृताले गाउँमा समय बिताएकी थिइन्’ आचार्यले अनलाइनखबरलाई बताए।
नृत्यप्रति अमृताको झुकाव बाल्यकालदेखि नै थियो। उनकी आमा लरिसाकी साथी- एक युक्रेनी महिला भरतनाट्यम प्रति गहिरो लगाव राख्थिन्। उनी पुतलीसडकस्थित नृत्य स्टुडियोमा जान्थिन्, जहाँ नृत्य निर्देशक बसन्त श्रेष्ठको संलग्नता थियो। ‘त्यो वातावरण र साथीसँगको अन्तरक्रियाले अमृतामा नाचप्रतिको रुचि विकास भयो। अभिनयप्रति पनि सानैदेखि मोह थियो’, डा. आचार्य बताउँछन्।
सन् १९९४ मा अमृताको परिवार बेलायत सरेपछि उनको कलाको यात्रा विस्तार भयो। उनले त्यहाँ संगीतका कक्षाहरू लिइन्- पियानो, भायोलिन बजाउन सिकिन्। बेलायतपछि आचार्य परिवार नर्वेमा बसाइँ सर्यो, त्यतिबेला अमृता करिब १३ वर्षकी थिइन्। नर्वेमा उनले हाईस्कूलमा ड्रामा र म्युजिक विषय रोजिन्।
डा. गणेश आचार्य भन्छन्, ‘हामीले उनको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा सहभागी गरायौं। उनी जुनसुकै देशमा बसिन्, नेपाली भाषा र संस्कृतिप्रति माया कहिल्यै कम भएको छैन।’
नर्वेमा हाईस्कूल पूरा गरेपछि अमृता १९ वर्षको उमेरमा इंग्ल्याण्ड फर्किइन् किनकि उनी अभिनेत्री बन्न चाहन्थिन्। आफ्नो अभिनयमा करिअर बनाउने सपना साकार पार्न उनले इंग्ल्याण्डस्थित एकेडेमी अफ लाइभ एन्ड रेकर्डेड आर्टसमा अभिनय प्रशिक्षण लिइन्।
विविध सांस्कृतिक पृष्ठभूमिबाट हुर्किंदा अमृताको पहिचान र दृष्टिकोणमा गहिरो प्रभाव परेको छ। उनी भन्छिन्, ‘मलाई लाग्छ, यसले मलाई विश्वास र दृष्टिकोणलाई खुलेर बुझ्न र अपनाउन सक्षम बनाएको छ। मलाई ‘पहिचान’ भन्ने ट्याग आवश्यक जस्तो लाग्दैन। आफूलाई त्यहाँ महसुस गर्छु, जहाँ मानिस र परिवेशले मेरा मूल्य र संवेदनासँग मेल खान्छन्। रचनात्मक हिसाबले भने यात्रा, विभिन्न मानिससँगको भेटघाट र विभिन्न संस्कृतिहरूमा समायोजन गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य हो। यसले पात्र र कथा निर्माण गर्दा मानिसलाई बुझ्ने गहिरो दृष्टिकोण दिन्छ।’
‘उपयुक्त प्रोजेक्ट आए नेपालमा काम गर्छु’
विश्वव्यापी सिनेमामा लामो अनुभव बटुलेकी अमृता अभिनयका क्रममा आफूले रङ, जात र लिङ्गसँग जोडिएका चुनौती अनुभव गरेको बताउँछिन्। उनी भन्छिन्, ‘महिला हुनु आफैंमा कुनै पनि क्षेत्रमा चुनौतीपूर्ण हुन्छ। त्यसमा थप रूपमा, छालाको रङ फरक भएमा त्यो चुनौती अझ बढ्छ। यद्यपि, कहिलेकाहीं यसले अवसर पनि दिन्छ। मिश्रित पृष्ठभूमिले तपाईंलाई विभिन्न जातीय भूमिकाका लागि खुला बनाउँछ। तर कहिलेकाहीं केही भूमिका नपाउने स्थिति पनि आउन सक्छ, यदि त्यो भूमिका विशेष जातीयताको लागि खोजिएको हो भने।’
विश्व फिल्म उद्योगमा विविधताको नाममा देखावटी प्रयासभन्दा वास्तवमा आत्मसात् गर्ने संस्कृतिको विकास आवश्यक रहेको उनी बताउँछिन्। ‘म भन्न सक्दिनँ, कसरी यस्ता ठाउँहरूमा सहजै अघि बढ्ने। तर मलाई विश्वास छ, महिलाहरू र रंगीन छालाका व्यक्तिहरू निर्णय गर्ने स्थानमा पुगेपछि मात्रै हाम्रा आवाज र कथाले वास्तविक स्थान पाउनेछन्।’
‘नेपालसँगको गहिरो सम्बन्धलाई अमृताले कहिल्यै भुलेकी छैनन्। उनी भन्छिन्, ‘यदि उपयुक्त प्रोजेक्ट आयो भने, निश्चय नै नेपाली फिल्म वा नेपालसँग सम्बन्धित सिर्जनात्मक परियोजनामा काम गर्न चाहन्छु।’
परोपकारी अभियानमा सक्रियता
अभिनेत्री अमृता आचार्य अभिनय मात्र होइन, परोपकारी कार्यमा पनि उत्तिकै क्रियाशील छिन्। उनी सर्कसमा बेचबिखन गरिएका नेपाली बालबालिका तथा भारतमा बलात्कार एवं दुर्व्यवहारको सिकार भएका किशोरीलाई उद्धार गर्ने बेलायती संस्था ‘छोराछोरी’ (हाल ‘पिपल ट्री’) की सद्भावना दूत समेत हुन्।
यस संस्थासँगको सम्बन्ध केवल प्रतिनिधित्वमा सीमित छैन, यो उनको सामाजिक चेतना र मानवीय संवेदनाको प्रतिविम्ब हो। ‘शिक्षा भनेको असाधारण महत्त्वको विषय हो, विशेषगरी पिछडिएको ठाउँका बालबालिकाका लागि र झन् बालिकाका लागि’, अमृता भन्छिन्।
उनले यस्ता संस्थाहरूसँगको आबद्धतालाई केवल सहानुभूतिको विषय मानेकी छैनन्, बरु आफ्नो जीवनको अनुभव र मूल्यबाट प्रेरित भएको बताउँछिन्। ‘मैले मेरो बुबाले शिक्षा र पेशाप्रति देखाउनुभएको समर्पणबाट हामी सन्तानहरूलाई प्राप्त भएका अवसरहरू प्रत्यक्ष अनुभव गरेकी छु।’
उनको विचारमा शिक्षा नै यस्तो शक्तिशाली साधन हो, जसले बालबालिकाको जीवनमा सम्भावनाका नयाँ ढोका खोलिदिन्छ। यही विश्वासका कारण उनी पिपल ट्री जस्ता संस्थाको साथ दिन्छिन्- जो बालबालिकाको जीवनस्तर सुधार्न गहिरो, दीर्घकालीन र निष्ठावान् प्रयास गरिरहेका छन्।
‘म यस्ता संस्थाहरूलाई समर्थन गर्छु जसले आधारभूत स्तरमै काम गर्छन्’ उनी भन्छिन्, ‘किनभने त्यहींबाट जीवन परिवर्तनको प्रक्रिया शुरु हुन्छ।’
सन् २०१९ को शुरुतिर छोराछोरीको बालआश्रम गोदावरी पुगेकी अमृताले त्यहाँ आश्रित बालबालिकासँग समय व्यतीत गरिन्। नेपाल यात्राको सम्झना गर्दै उनी भन्छिन्, ‘त्यो अनुभव साँच्चिकै प्रेरणादायी थियो। त्यतिबेला ‘छोराछोरी’ नामको संस्थाले गरेको काम देख्दा मन छोएको थियो। ती बालबालिकालाई पुनर्स्थापना गर्ने प्रक्रिया साँच्चै उत्कृष्ट थियो। त्यो बालगृह आशा र विश्वासले भरिएको थियो। त्यो भेट र अनुभवले मलाई व्यक्तिगत रूपमा गहिरो गरी छोयो।’
उनले यस संस्था बाहेक बेलायतस्थित विभिन्न परोपकारी संस्थाको कोष संकलन एवं अन्य प्रचारात्मक गतिविधिमा मद्दत गर्दै आएकी छन्। २०७२ सालको महाभूकम्पका बेला प्रभावित क्षेत्रका विद्यार्थीलाई आवश्यक सरसामग्री जुटाउन उनले अभियान नै चलाएकी थिइन्।
लेखन र निर्देशनमा पनि सशक्त
अभिनयमा मात्र सीमित नरहने अमृता मानसिक स्वास्थ्य, लैंगिक समानता जस्ता सामाजिक मुद्दामा खुलेर बोल्छिन्। पछिल्ला वर्षहरूमा उनी सिर्जनात्मक लेखन र निर्देशनतर्फ पनि सक्रिय छिन्।
केही छोटो फिल्म र एक रेडियो नाटक निर्देशन गरिसकेकी अमृता निर्देशनलाई नयाँ सिर्जनात्मक यात्राको रूपमा लिन्छिन्। उनी भन्छिन्, ‘निर्देशन गर्दा मलाई सिर्जनात्मक स्वतन्त्रता मिल्छ। मनपर्ने पेशेवरहरूसँग मिलेर नयाँ सिर्जना गर्न सकिन्छ। यो क्यामेराको अगाडि काम गर्नुभन्दा भिन्न र चुनौतीपूर्ण अनुभव हो, तर म यस्तो चुनौतीपूर्ण ठाउँमा काम गर्न रुचाउँछु।’
अभिनयसँगै निर्देशन र लेखनमा सक्रियता र सफलताले उनको बहुआयामिक प्रतिभाको प्रमाण दिन्छ। सामाजिक सरोकार र सिर्जनशीलता बीच सन्तुलन बनाउँदै उनले आफूलाई कलाकार मात्र नभई सचेत स्रष्टाका रूपमा पनि स्थापित गरेकी छन्।
लन्डन म्याराथनमा पनि सफलता
अभिनेत्री अमृताले सन् २०१६ मा विश्वप्रसिद्ध लन्डन म्याराथन सफलतापूर्वक पूरा गरेकी थिइन्। उनले ४२ किलोमिटरको दूरी ३ घण्टा ४६ मिनेट ७ सेकेन्डमा तय गरेकी थिइन्। लामो दूरीको दौडप्रति खासै रुचि नराख्ने अमृताका लागि यो दौड नयाँ अनुभव मात्र होइन, सामाजिक उद्देश्यसँग जोडिएको संकल्प पनि थियो।
उनले उक्त म्याराथन ‘पहार ट्रष्ट’ नामक संस्थाका लागि दौडेकी थिइन्। नेपालका दुर्गम क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्दै आएको संस्थाका लागि उनले सहयोग संकलन गर्न दौडमा सहभागिता जनाएकी थिइन्।
‘साँच्चै भन्नुपर्दा, मलाई लामो दूरी दौड मन पर्दैनथ्यो’ अमृताले भनिन्, ‘तर म्याराथन मेरो लागि कम्फर्ट जोनबाट बाहिर निस्कने र केही नयाँ सिक्ने अवसर थियो।’
उनका अनुसार दौडले सामाजिक उद्देश्यलाई पनि साथ दिएको थियो। ‘यसले म्याराथनमा वास्तविक उद्देश्य थप्यो, जसबाट सहयोग र जनचेतना फैलोस् भन्ने चाहना पनि थियो’, अमृताले भनिन्।
ट्रेन्डिङ

रमेश थापागोताखोर

रहबर अन्सारीप्रदेश सभा सदस्य

डा. अखण्ड उपाध्यायचिकित्सक

गौरव न्यौपानेकृषि अधिकृत

डा. नम्रता खड्कान्यूरोसर्जन

रञ्जित भट्ट, पुनित जाजोदिया, अश्विन श्रेष्ठआईटी उद्यमी

गणपतिलाल श्रेष्ठ, सञ्जय अधिकारीसांस्कृतिक अभियन्ता

भिक्टर पौडेलसोसियल कम्युनिकेटर

सञ्जन गौतमपब्जी स्ट्रीमर

कुम: सागरगायक