
२२ साउन, काठमाडौं । ललितपुरस्थित डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेस सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको ‘डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५’ सम्पन्न भएको छ।
३० जुलाईदेखि २ अगस्टसम्म चलेको प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समूहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गरेको डीएभीले जनाएको छ ।
प्रतियोगितामा बैंकिङ, बीमा, ट्रेडिङ, आईटी, अटोमोबाइल र उत्पादन लगायत क्षेत्रबाट आएका ३२ कर्पोरेट टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगिता अघि टोलीका कप्तानहरू, प्रबन्धकहरू तथा प्रतिनिधिहरूले डीएभी बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेशकुमार चौधरी नेतृत्वको आयोजक समितिसँग छलफल गरेका थिए ।
प्रतियोगिताको उद्घाटन समारोहमा ह्युमन रिसोर्सेस सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग–शैक्षिक साझेदारीको महत्त्वबारे चर्चा गरेका थिए ।
नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भरत खवासले स्वस्थ् मस्तिष्क र शरीरका लागि खेलकुदको भूमिकामाथि जोड दिए ।
डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले खेलकुदलाई व्यावसायिक एकता र दृढताको माध्यमका रूपमा औपचारिक रूपमा प्रतियोगिता उद्घाटन गरेका थिए ।
प्रतियोगितामा ३२ लिग खेल तथा १५ नकआउट चरण पार गर्दै डिशहोम प्रालि र कोड हिमालय प्रालिबीच फाइनल खेल रोमाञ्चक रूपमा सम्पन्न भयो ।
उक्त खेलमा डिशहोम विजयी हुँदै १ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो । उपविजेता बनेको कोड हिमालयले ५५ हजार, ट्रफी र मेडल प्राप्त गर्यो ।
सहभागी सबै ३२ टोली, प्रायोजक तथा रेफ्रीलाई पनि प्रशंसापत्र प्रदान गरियो । प्रतियोगिताले सहभागीबीच व्यावसायिक सञ्जाल विस्तार, समूहगत भावना तथा स्वास्थ्य प्रवर्द्धनमा ठूलो सफलता प्राप्त गरेको छ । सहभागीले आगामी संस्करणमा सहभागी हुन उत्सुकता व्यक्त गरे ।
डीएभी बिजनेस स्कुलले सम्पूर्ण सहभागी, अधिकारी, प्रायोजक, स्वयंसेवक तथा विशेषगरी मुख्य साझेदार ह्युमन रिसोर्सेस सोसाइटी नेपाल, सुजल डेरी प्रालि, सिप्रदी ट्रेडिङ प्रालि र मुसकप्रति आभार प्रकट गरेको छ ।
प्रतिक्रिया 4