
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा ४० वर्षीय भरत चौधरीको मृत्यु र ४७ जना घाइते भएका छन्।
- झडपपछि कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएर ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएका छन्।
- प्रहरीले आक्रमणको कारण भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र कारागार नाइके परिवर्तन विवाद भएको बताएको छ।
२४ साउन, धनगढी । कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । शुक्रबार राति एक जनाको मृत्यु हुने गरी भएको घटनाको विषयलाई लिएर कैदीबन्दीहरूले कारागार नियन्त्रणमा लिएका छन् ।
सुरक्षा स्रोतका अनुसार अहिले स्थिति नियन्त्रण बाहिर रहेको छ । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको स्रोतको भनाइ छ ।
कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
‘कैदीबन्दीहरूले थुनुवा कक्षको मूल गेटमा भित्रबाट ताल्चा लगाएका छन् । ग्याँस सिलिन्डर राखेर आगो लगाउने चेतावनी दिएपछि प्रवेश गर्न सकिएको छैन्’, सुरक्षा स्रोतले भन्यो, ‘राति घाइतेको उद्धार गरिए पनि त्यो भित्रको अवस्था के हो ? भन्न यकिन भएको छैन् ।’
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो ।
उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् ।
घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।
कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा
जानकारी नभएको बताए ।
कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।
भित्ता फुटाएर निदाएको बेला आक्रमण
प्रहरीका अनुसार ब्लक ए मा रहेका कैदीबन्दीको समूहले ब्लक बी मा रहेका कैदीबन्दीमाथि राति अन्धाधुन्ध आक्रमण गरेका थिए ।
स्रोतका अनुसार ब्लक ए बाट बी मा प्रवेश गर्न वर्षाैँ पहिले बनाइएको ढोका इँटाले टालिएको थियोे । इँटाले टालिएको सोही ढोका कारागारभित्र रहेका जिमखानाकाा सामानले फुटाएर उनीहरू ब्लक बी मा प्रवेश गरेका थिए ।
ब्लक बी मा रहेका अधिकांश कैदीबन्दी निदाएको अवस्था थियो । उनीहरूले त्यहाँ रड, खुकुरी, चक्कु, इँटालगायतले अन्धाधुन्ध आक्रमण गरेका थिए । ब्लक बीमा सुतेकाहरुलाई आफ्नै ब्लकमा लिएर उनीहरुले कुटेका थिए ।

यो आक्रमणको पछाडि दुई वटा कारण छन् । पहिलो भूपेन्द्र बडुवाल हत्या प्रकरणका कैदी सरूवा र दोस्रो कारागारको नाइके परिवर्तन हो ।
भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएर थुनामा रहेका तीन जनाको सरूवा गरिएपछि २२ गते पनि कैदीबन्दीबीच झडप भएको थियो । उक्त झडपमा पाँच जना घाइते भएका थिए ।
शुक्रबार राति आक्रमण गर्नेमा बडुवाल हत्या, अर्जुन दास हत्या, अत्तरियामा विद्युतका कर्मचारी खुकुरी प्रहार गर्ने समूहका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ ।
अर्काे अहिले कारागार प्रशासनले नाइके परिवर्तन गर्न खोजेको थियो । कैदीबन्दीमध्येबाटै नाइके चयन गर्ने भएकाले आफ्नो वर्चश्व जमाउन माथि उल्लेखित समूहबीच विवाद थियो भने स्थानीय प्रशासन र राजनीतिकर्मीहरू बीच पनि शक्ति संर्घष चलिरहेको थियो ।
सुरक्षामा गम्भीर त्रुटि
कैलाली कारागारमा कैदीबन्दीबीच विगतदेखि नै मनमुटाव र झैझगडा हुने गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा स्वयं कारागार पुग्ने गरेका थिए ।
उनीहरूले सञ्चार माध्यमलाई समान्य विवाद मात्र भएकाले साम्य भइसकेको बताउने गरेका थिए ।
स्रोतका अनुसार शुक्रबार रातिको आक्रमणबारेको सूचना कैलालीका प्रमुख जिल्ला अधिकारी हमाललाई थियो तर उनले उक्त कुरालाई सामान्य रुपमा लिंदा घटनाले गम्भीर मोड लिएको आरोप छ ।
‘कैदीबन्दीले ब्लक बी मा आक्रमण गर्ने योजना बनाएको सूचना प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार नै थियो तर उहाँले त्यो कुरालाई हलुका रूपमा लिनुभयो’, स्रोतले भन्यो, ‘यो घटनाको जिम्मेवारी उहाँले लिनुपर्छ । घटना भएको १४ घण्टा बित्दा पनि उहाँले आधिकारिक जानकारी दिनुभएको छैन् । सुरक्षाकर्मी कारागारमा प्रवेश गर्न नसक्ने अवस्था उहाँहरूकै कारण बनेको हो ।’
अहिले कैदीबन्दीले फुटाएर ब्लक बीमा प्रवेश गरेको टालिएको ढोका कमजोर अवस्थाको थियो । सो ठाउँबाट आक्रमण हुन सक्ने सुरक्षा विश्लेषण थियो । केही दिनअघि प्रमुख जिल्ला अधिकारी हमाललाई यो विषयमा जानकारी गराएर भित्तालाई पुनर्निर्माण गर्न आग्रह गरिएको थियो ।
प्रतिक्रिया 4