
२५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । लैंगिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय भएको बताए ।
‘लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन । यो समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो । हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ,’ उनले भने ।
लोकतान्त्रिक समाजवादसँग आबद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने सभापति देउवाको भनाइ थियो ।
‘लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ,’ देउवाले भने, ‘लैंगिक संवेदनशीलताको सुझावहरूलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ ।’
सभापति देउवाले लैंगिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने पनि उनले बताए ।
प्रतिक्रिया 4