
२६ साउन, गुल्मी । रेसुङ्गा नगरपालिकाले पछिल्लो तीन वर्षमा सडक कालोपत्रे गर्ने कार्यलाई तीव्रता दिएको छ ।
स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले तीन वर्षको अवधिमै ६५ किलोमिटर सडक कालोपत्रेलाई गरेको छ । तीन वर्षको अवधिमा १० किलोमिटर सडक ग्राभेल गर्ने काम पनि भएको छ ।
नगरपालिकाले सडक पहुँच सुधार, आवागमन सहजता र आर्थिक गतिविधि प्रवर्द्धनका लागि निरन्तर रूपमा सडक स्तरोन्नति तथा विस्तारको कामलाई अघि बढाउँदै आएको छ ।
आर्थिक वर्ष २०७९/८० मा २४ किलोमिटर, ८०/८१ मा १८ किलोमिटर र ८१/८२ मा २३ किलोमिटर सडक कालोपत्रे गरिएको मेयर खिलध्वज पन्थीले जानकारी दिए ।
०७९ सालको निर्वाचनपछि जनप्रतिनिधिहरुले कार्यकालभर १०० किलोमिटर सडक कालोपत्रे गर्ने महत्वाकांक्षी लक्ष्य लिएको थियो । सोही अनुसार तीन वर्षमा ६५ किलोमिटर काम सम्पन्न गर्न सफल भएको मेयर पन्थीले बताए ।
बाँकी कामलाई समेत योजनाबद्ध रूपमा अगाडि बढाइएको नगरप्रमुख पन्थीले बताए । जिल्ला सदरमुकाम तमघाससमेत रेसुङ्गामै पर्छ । यसले गर्दा पनि कालोपत्रे बढेको हो ।
सडक कालोपत्रे कार्यसँगै नगर क्षेत्रका बासिन्दा खुसी छन् । वर्षाको समयमा हिलाम्मे हुने, सवारीसाधन चलाउन कठिन हुने, स्कुल, स्वास्थ्य संस्थामा पुग्न समस्या हुनेजस्ता समस्या कालोपत्रेसँग सुधार भएकोस्थानीय बेदप्रसाद आचार्यले बताए ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार सडक पूर्वाधारलाई विकासको मेरुदण्ड मानी काम गरिएको हो । शिक्षा, स्वास्थ्य, कृषि र व्यापार क्षेत्रलाई पनि जोड्ने गरी सडक विस्तार गरिरहेको उनले बताए ।
नगरपालिकाले बाँकी वर्षमा ३५ किलोमिटर सडक कालोपत्रे गरेर लक्ष्य पूरा गर्ने तयारी गरिरहेको छ । यसका लागि आवश्यक बजेट संघीय तथा प्रदेश सरकारबाट समेत माग गरिएको छ ।
प्रतिक्रिया 4