२७ कात्तिक, गुल्मी । रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठक पहिलोपटक रेसुङ्गा क्षेत्रमा बसेको छ । रेसुङ्गा क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि बैठक आयोजना गरिएको हो ।
गुल्मी जिल्लाको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाऔं, हिँड रेसुङ्गा’ अभियानलाई थप सशक्त रूपमा अघि बढाइरहेको छ । यस अभियानले देशभित्रका साथै विदेशका पर्यटकहरूलाई पनि रेसुङ्गा भ्रमण गर्न प्रेरित गर्दै सकारात्मक सन्देश फैलाएको छ ।
रेसुङ्गा क्षेत्रमा हाल पूर्वाधार विकाससँगै प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका स्थलहरूको संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसारका कार्यहरू निरन्तर भइरहेका छन् ।
कार्यपालिका बैठकको अवसरमा क्षेत्रको सरसफाइ, झाडी फाँड्ने, झार गोड्ने लगायतका कार्यमा सहयोग पुर्याउने संघ-संस्था र व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार, रेसुङ्गा क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै बैठक रेसुङ्गामै आयोजना गरिएको बताए । उनका अनुसार, यस अभियानले देश तथा विदेशमा रेसुङ्गा क्षेत्रको पहिचानलाई अझ प्रष्ट पार्दै सकारात्मक सन्देश पुर्याउने अपेक्षा गरिएको छ ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष मृगेन्द्र श्रेष्ठले रेसुङ्गा क्षेत्रको विकास र आकर्षण विस्तारमा धेरै समय नलाग्ने विश्वास व्यक्त गरे । उनले नगरपालिकाले अपनाएका विभिन्न गतिविधिहरू प्रभावकारी ढंगले अघि बढिरहेका भन्दै निकट भविष्यमा रेसुङ्गा प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।
रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले पनि नगरपालिकाले ‘जाऔं, हिंड रेसुङ्गा’ अभियानलाई अझ प्रभावकारी बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिइरहेको बताए । उनका अनुसार, कार्यपालिका बैठक रेसुङ्गा क्षेत्रमा आयोजना गर्नु स्वयं क्षेत्रको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वलाई उजागर गर्ने प्रतीकात्मक कदम भएको बताए ।
नगरपालिकाले यस अभियानमार्फत लाखौं पर्यटक रेसुङ्गा भित्र्याउने लक्ष्य लिएको छ । धार्मिक दृष्टिले पनि रेसुङ्गा अत्यन्त महत्वपूर्ण स्थल हो ।
विभिन्न वेद-पुराणका अनुसार, त्रेतायुगमा ऋष्यशृङ्गले यही क्षेत्रमा कठोर तपस्या गरेका थिए । अयोध्याका राजा दशरथलाई सन्तान नहुँदा ऋष्यशृङ्गलाई अयोध्या बोलाई पुत्रेष्टि यज्ञ सम्पन्न गराइएको थियो ।
जसको प्रभाव स्वरूप राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएको धार्मिक आख्यानमा उल्लेख छ । यही कारणले रेसुङ्गालाई पवित्र तीर्थस्थलको रूपमा मानिन्छ ।
रेसुङ्गाको उच्च भूभागबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमशृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको यात्रापछि रेसुङ्गा पुग्न सकिन्छ ।
हाल सडक कालोपत्रे भएकाले यातायात सहज भएको छ । रेसुङ्गा नगरपालिकाको यो पहलले धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय थपेको छ ।
प्रतिक्रिया 4