+
+
Shares

रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना डक्टरलाई प्रोत्साहन भत्ता दिने

नगरपालिकाले डक्टरहरूले नेपाल सरकारबाट पाउने तलब बराबरकै प्रोत्साहन भत्ता दिने निर्णय गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थीले जानकारी दिए ।

अनिल खत्री अनिल खत्री
२०८२ भदौ ३० गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई नेपाल सरकारबाट पाउने तलब बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउने सम्झौता गरेको छ।
  • गुल्मी अस्पतालमा आर्थिक वर्ष २०८१/०८२ मा ७८ हजार २५४ जनाले उपचार सेवा लिएका छन् भने शल्यक्रिया सेवा पनि बढेको छ।
  • अस्पतालमा पुरानो भवनमा सेवा दिइरहेको छ र साढे पाँच तलाको नयाँ भवन निर्माण कार्य भइरहेको छ।

३० भदौ, गुल्मी । रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका ६ जना विशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । अस्पतालमा विशेषज्ञ सेवाको निरन्तरता र टिकाउ बनाउने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

सोमबार नगरपालिकाको कार्यकक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख खिलध्वज पन्थीले अस्पतालका डक्टरहरुसँग प्रोत्साहन भत्ता उपलब्ध गराउनेबारे सम्झौता गरे । नगरपालिकाले डक्टरहरूले नेपाल सरकारबाट पाउने तलब बराबरकै प्रोत्साहन भत्ता दिने निर्णय गरेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख पन्थीले जानकारी दिए ।

यसअघि हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टरलाई मात्र प्रोत्साहन दिँदै आएको नगरपालिकाले अबदेखि सबै विशेषज्ञ डक्टरलाई सुविधा उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिकाले ४० लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।

प्रोत्साहन भत्ता पाउने विशेषज्ञ डक्टरमा अस्पताल प्रमुख तथा आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रदीप शिवाकोटी, सामान्य तथा आकस्मिक चिकित्सक विशेषज्ञ डा. अर्जुन केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डा. सुरेन्द्र केसी, बालरोग विशेषज्ञ डा. प्रज्ञा शाख्य र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शोफिष थापा रहेका छन् ।

हाल गुल्मी अस्पतालमा ६ जना विशेषज्ञ डक्टरसहित १८ जना मेडिकल अधिकृत कार्यरत छन् ।

बिरामीको चाप बढ्दो, पुरानो भवनमै सेवा

गुल्मी अस्पतालमा स्वास्थ्य सेवा लिने बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कअनुसार हरेक आर्थिक वर्षमा सेवाग्राहीको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै आएको छ ।

सुविधा भने अझै पुरानो र साँघुरो भवनमै सीमित छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्र ७८ हजार २५४ जनाले अस्पतालमार्फत उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ७३ हजार ८७९ र २०७९/०८० मा ६७ हजार ९७९ जनाले अस्पतालको सेवा लिएका थिए ।

अस्पताल प्रमुख डा. विभव बस्यालले आर्थिक वर्ष २०८१/०८२ को प्रस्तुत गरेको वार्षिक प्रगति विवरणमा पछिल्लो वर्षहरूमा शल्यक्रिया सेवामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ६३९ जनाको शल्यक्रिया गरिएको छ । २०८०/०८१ मा १ हजार ९२६ र २०७९/०८० मा १ हजार ८०९ जनाको शल्यक्रिया भएको थियो ।

जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार इमरजेन्सी सेवामा पनि उपचार लिन आउने, अस्पतालमा भर्ना हुने बिरामी तथा विभिन्न विशेषज्ञ सेवा लिनेहरूको संख्या पनि बढ्दो क्रममा रहेको बताए । जिल्लामा नसर्ने रोगका बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

अस्पतालमा देखिएका संरचनागत समस्या र अत्यधिक सेवाग्राहीको चापलाई आगामी दिनमा व्यवस्थापन गर्दै सेवा अझ प्रभावकारी बनाउने योजना रहेको अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताए ।

अहिले अस्पतालमा डिजिटल एक्सरे मेसिनद्वारा थप गुणस्तरीय सेवा, मुटु उपचार सेवा, बिहान ९ बजेबाट बहिरङ्ग सेवा, गर्भ अवस्थामा हुने बिकङ्गालको अवस्थाको जाँच एनोमाली स्क्यान) सेवा बिस्तार भएको छ । मासिक रूपमा विशेषज्ञ मनोचिकित्सकद्वारा मानसिक समस्याको उपचार हुने गरेको गुल्मी अस्पतालले जनाएको छ ।

नसर्ने रोगहरूको उपचार तथा व्यवस्थापनको लागि छुट्टै ओपीडी क्लिनिकको सुरुवात लगायतका नयाँ कामको सुरुवात भएको गुल्मी अस्पतालमा जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । गुल्मी अस्पतालमा हाल भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको छ ।

त्यसका लागि अहिले साढे पाँच तलाको भवन निर्माण कार्य भइरहेको छ । गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।

अहिले पनि गुल्मी अस्पतालमा हाडजोर्नी र प्रसूति रोग विशेषज्ञ डक्टरले सेवाले बिरामीलाई अस्पतालप्रति विश्वास बढाएको छ । भौतिक संरचना अभावकै बीचमा पनि हाडजोर्नी र प्रसूति रोग विशेषज्ञ डक्टरका कारणले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ ।

अस्पतालले आगामी वर्षमा सेवा विस्तार, पूर्वाधार सुदृढीकरण, नयाँ प्रविधिको प्रयोग र विशेषज्ञ सेवामा थप ध्यान दिने लक्ष्य लिएको जनाएको छ । यसले जिल्लाका नागरिकलाई पाल्पा, बुटवल वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?