
२८ साउन, काठमाडौं । अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल नछुट्ने भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतको आदेशपछि उनी तोकिएको धरौटी बुझाउने प्रक्रियामा छन् ।
उनीसँगै धरौटी माग गरिएको अन्य प्रतिवादी धरौटी रकम बुझाएर आजै रिहा भए पनि चक्रे भने तत्काल रिहा नहुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले चक्रे आजै छुट्ने अवस्था नरहेको बताए ।
उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर पठाइने बताए । उता जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले पनि काठमाडौंबाट छुटिकसेले ज्यान मार्ने उद्योगको मुद्दा भक्तपुरमा रहेकाले चक्रेलाई भक्तपुर ल्याइने बताए ।
जसकारण चक्रेसँगै पक्राउ परेका १८ जना तोकिएको धरौटी रकम तिरेर छुटे पनि चक्रे भने आजै छुट्ने सम्भावना रहेको देखिदैन ।
आफ्नो भतिजो मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरी पछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही मुद्दामा चक्रेमाथि अनुसन्धान हुने बताइएको छ । त्यसैका लागि चक्रेलाई भक्तपुर लैजान लागिएको हो ।
१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरूसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।
मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया 4