+
+
Shares

शिक्षा विधेयक : नमिलेका विषय थाती राखेर प्रतिवेदन लेख्ने काम सकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १९:३२
२२ साउनमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको छ।
  • निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा दिने विषयमा विवाद छ र यो विषय शिक्षा मन्त्रालयसहित परामर्श समन्वय उपसमितिले टुंगो लगाउने तयारीमा छ।
  • नेपाल शिक्षक महासंघले विधेयक सहमति अनुसार नभएको भन्दै आन्दोलन घोषणा गरेको छ र समितिले प्रतिवेदन अध्ययनपछि विधेयक पारित गर्ने तयारी गरेको छ।

२९ साउन, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २२ साउनमा सचिवालयलाई प्रतिवेदनल लेख्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुसार सचिवालयले नमिलेका विषय थाती राखेर प्रतिवेदन लेखनको काम सकाएको हो ।

‘प्रतिवेदन लेखनको काम सकिएको छ,’ समिति सचिव दशरथ धमलाले भने ।

एमाले सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले तयार पारेको प्रतिवेदन अघिल्लो बैठकमा परिमार्जनसहित पारित गरेपछि समिति सचिवालयले प्रतिवेदन तयार पारेको हो । तर विधेयकमा अझै केही विषय मिल्न बाँकी छ ।

२२ साउनमा बसेको समितिको बैठकले नमिलेका विषय परामर्श समन्वय उपसमितिबाट सहमति जुटाउने निर्णय गरेको थियो ।

निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा राख्ने कि नराख्ने भन्ने विषयमा विवाद छ । निजी विद्यालय सञ्चालकहरूले छात्रवृत्तिमा पोशाक र आवासीय सुविधा नदिने बताउँदै आएका छन् । तर, सांसदहरूले दिनुपर्ने मत राखिरहेका छन् । अब यो विषय शिक्षा मन्त्रालयसहित परामर्श समन्वय उपसमितिको बैठकबाट टुंगो लगाउने तयारी छ ।

बिहीबार परामर्श उपसमितिको बैठक बोलाइएको थियो । तर शिक्षामन्त्री रघुजी पन्त कार्य व्यस्तताका कारण बैठकमा सहभागी भएनन् । जसका कारण बैठकले कुनै निर्णय लिन सकेन । छिट्टै अर्को बैठक बोलाउने समितिको तयारी छ ।

विधेयकमा नेपाल शिक्षक महासंघले पनि सहमति अनुसार नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ ।

परामर्शको बैठक बसेर नमिलेको विषयमा टुंगो लगाएपछि समितिको बैठक बोलाएर सदस्यहरूलाई अध्ययनका लागि प्रतिवेदन दिइने छ ।

समिति सदस्यहरूले प्रतिवेदन अध्ययन गरेपछि कुनै त्रुटि भएमा सच्याएर विधेयक समितिबाट पारित गरिनेछ । पारित भएको प्रतिवेदन संसद्‍मा पेस गरिनेछ । यसका लागि अब २ वटा बैठक बोलाउने तयारी समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?