१३ साउन, काठमाडौं । दुर्गम क्षेत्रका विद्यार्थीलाई पाठ्यपुस्तकको अभाव भएको समाचार सामान्य हुने गरेको छ । तर, संविधान, कानून र बजेट पारित गर्ने सभासदहरुले नै किताबको अभावका कारण बजेटमाथि छलफल गर्न पाएका छैनन् । अर्थमन्त्रालय र योजना आयोगले बजेटको रातो किताब छापेर संसद सचिवालयलाई उपलव्ध गराउन नसकेका कारण सभामुख सुवास नेम्वाङ समस्यामा परेका छन् ।
सभासमुख नेम्वाङले निर्धारण गरेको कार्यतालिका अनुसार मंगलबारसम्म पहिलो समूहका मन्त्रालयको विनियोजन शीर्षकमा छलफल भइसक्नुपर्ने थियो । तर, पुस्तक नआएका कारण भदौ ५ मा सकिने भनिएको विनियोजन बजेटमाथिको छलफल अब कम्तिमा एक साता पर धकेलिने भएको सचिवालय स्रोतले जनाएको छ ।
विहीवारबाट छलफल
विनियोजन विधेयकको छलफल रातो किताबका कारण रोकिएको सभामुख नेम्वाङले स्वीकारे । ‘मंगलवार बेलुकादेखि ढिलोमा बुधवार बिहान ११ बजेसम्म जसरी पनि छापेर संसदलाई उपलब्ध गराउने प्रतिवद्धता आएको छ’ नेम्वाङले अनलाइनखबरसँग भने ‘यदि अर्थ र योजना आयोगले यो बचन पूरा गरे भने साउन १५ बाट विनियोजन विधेयकमाथि छलफल शुरु हुन्छ’ ।
पुस्तक धेरै ठूलो भएका कारण छाप्न समय लागेको योजना आयोगका एक सदस्यले बताए । ११ सय १५ पेज लामो पुस्तक छापेर पठाउनुअघि वजेटमाथिको छलफल नरोकियोस् भनेर आयोगले रातो किताबको डिजिटलप्रति सचिवालयलाई दिने प्रस्ताव गरेको थियो । ‘तर सभासदहरुले डिजिटल किताब पढ्दैनन् भन्दै सचिवालयले कागजमै छापिएको किताब मागेकाले ढिला भयो’ योजना आयोग स्रोतले भन्यो ।
मन्त्रालयले विवरण दिएनन्
खर्च विवरणको किताब हेरेरमात्र संसद बैठकमा विनियोजन विधेयकमाथि छलफलमा सभासदले भाग लिन सक्छन् । तर, योजना आयोगले खर्च विवरणको किताब बेलैमा तयार पार्न नसक्नुमा मन्त्रालयहरु जिम्मेवार रहेको आरोप लगाएको छ । मन्त्रालयहरुले विवरण दिन ढिलाइ गर्दा किताब छाप्न ढिला भएको जनाइएको छ । आयोगले सभामुख नेम्वाङलाई जिल्लागत खर्च विवरणको प्रति भने बुझाइसकेको छ ।
रातो किताव ११ सय पृष्ठको हुने
संसद बैठकमा आधा घण्टा बस्दा त निदाउने सभासदहरुले ११ सय पृष्ठको पुस्तक पढेर छलफलमा भाग लिनुपर्यो भने के होला ? तर, अहिले पुस्तक छापेर नसकिएका कारण व्यवस्थापिका संसदको बैठकमा विनियोजन विधेयकमाथिको छलफल रोकिएको छ । विनियोजन बिधेयकमाथिको छलफलमा हरेक मन्त्रालयअन्तर्गतको बजेट शीर्षकमा सभासदहरुले छलफलमा भाग लिने प्रचलन छ । तर, यसपालिको रातोकिताव धेरै ठूलो साइजको बनेको कतिपयको गुनासो छ ।