+
+
Shares

कर्णाली चलचित्र महोत्सवले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते ९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८२ अन्तर्गत 'फिल्म स्टोरी बैङ्क' प्रतियोगिता घोषणा गरिएको छ।
  • प्रतियोगितामा कर्णालीको संस्कृति, इतिहास र सामाजिक यथार्थमा आधारित मौलिक कथा पेस गर्न सकिनेछ।
  • उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार दिइनेछ र लेखकलाई चलचित्र निर्माणमा पारिश्रमिक दिइनेछ।

काठमाडौं । कर्णाली प्रदेशको सांस्कृतिक, भाषिक र पर्यटकीय सम्पदा विश्वसामु चिनाउने लक्ष्यसहित तेस्रो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८२’ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता घोषणा गरिएको छ ।

महोत्सव निर्देशक चक्रबहादुर चन्दले प्रतियोगिताको उद्देश्यबारे जानकारी दिँदै कर्णालीका लुकेका कथा, इतिहास, संस्कृति र सामाजिक यथार्थलाई चलचित्रमार्फत उजागर गर्न यो अभियान सुरु गरिएको बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले कर्णालीलाई पर्यटकीय गन्तव्यका रूपमा विश्वमा चिनाउन कथा महत्वपूर्ण माध्यम बन्न सक्ने उल्लेख गरे । अभिनेता दीपकराज गिरीले चलचित्र नै कर्णालीलाई विश्वसामु चिनाउने उत्कृष्ट माध्यम भएको बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले यस अवधारणालाई पहिलो पटक सुनेको भन्दै सरकारको सहयोगको पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा नेपाल वा विदेशमा रहेका कुनै पनि नेपाली नागरिक सहभागी हुन सक्नेछन् । प्रस्तुत गरिएको कथा मौलिक हुनुका साथै पहिले कतै प्रकाशित वा फिल्ममा प्रयोग नभएको हुनुपर्ने प्रावधान राखिएको छ ।

कथा कर्णालीको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित हुनुपर्नेछ । उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

उत्कृष्ट १५ कथाका लेखकलाई चलचित्र पटकथा लेखन तालिम दिइनेछ । तीमध्ये छनोट गरिएका उत्कृष्ट कथालाई चलचित्र निर्माणमा समावेश गरिनेछ र लेखकलाई ‘कथा लेखक’को श्रेयसहित उचित पारिश्रमिक पनि दिइनेछ जनाइएको छ ।

कथा पेस गर्ने अन्तिम म्याद २०८२ पुस १६ गते तोकिएको छ । नतिजा २०८२ माघ १८ गते सार्वजनिक गरिनेछ । स्क्रिप्ट लेखन तालिम २०८२ फागुन १३ गते हुने र पुरस्कार वितरण समारोह फागुन २३ गते आयोजना गरिने भएको छ ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ अभियानअन्तर्गत सञ्चालन भइरहेको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीलाई विश्वस्तरीय चलचित्र पर्यटन गन्तव्य बनाउने लक्ष्य लिएको छ । महोत्सवले जलवायु परिवर्तन र दिगो पर्यटनजस्ता सामाजिक तथा वातावरणीय मुद्दामा समेत ध्यान केन्द्रित गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?