+
+
Shares

गौतमबुद्ध र पोखरा विमानस्थलमा सोझै उडान गराउन भियतनामी उपराष्ट्रपतिलाई परराष्ट्रमन्त्रीको आग्रह

शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी आउने गरेको प्रसंग जोड्दै सोझै हवाई उडानको पहल गर्न आग्रह गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा आरजु राणाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरिन्।
  • मन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा भियतनामी पर्यटकको संख्या बढेको उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न भनिन्।
  • नेपालले सन् २०२७ देखि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएको र भियतनामले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन आग्रह गरेकी छन् ।

शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी आउने गरेको प्रसंग जोड्दै सोझै हवाई उडानको पहल गर्न आग्रह गरेकी हुन् ।

दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा उनको जोड थियो ।

पछिल्ला बर्षहरुमा नेपालमा भियतनामका पर्यटकहरुको संख्या उल्लेख्यरुपमा बढेको बताउँदै मन्त्री राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् ।

साथै उनले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामी उपराष्ट्रपतिलाई आग्रह गरेकी छन् ।

मन्त्री राणाले भियतनामले पछिल्ला वर्षहरूमा हासिल गरेको आर्थिक सफलताका लागि बधाई दिएकी थिइन् । सांस्कृतिक पर्यटन प्रवर्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने उनले बताइन् ।

नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएका उल्लेख गर्दै दक्षिण–दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा छलफल भएको छ ।

भेटमा दुवैले जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम) का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरूको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?