
News Summary
Generated by OK AI. Editorially reviewed.- खरिदको सूची बनाएर मात्र किनमेल गर्दा अनावश्यक खर्च नियन्त्रण गर्न सकिन्छ र डिजिटल मनी प्रयोगले १२ देखि १८ प्रतिशत बढी खर्च हुने अध्ययनले देखाएको छ।
- पैसा खर्च गर्ने प्रवृत्ति मनोभावसँग जोडिएको हुन्छ र तनावमा हुँदा धेरै खर्च गर्ने बानी हटाउन अनुभव र मानिसलाई प्राथमिकता दिनुपर्छ।
- बजेट बनाएर खर्च गर्दा ५० प्रतिशत आवश्यक खर्च, ३० प्रतिशत इच्छाहरू र २० प्रतिशत बचत वा ऋण तिर्नमा राख्नुपर्छ जसले खर्च र बचत सन्तुलन गर्छ।
जति कमाए पनि पैसा नबच्ने समस्या धेरैको साझा पीडा हो । महिनाभरी मेहनतले कमाएको तलब केही दिनमै सकिन्छ ।
सही योजना र अनुशासनले खर्च नियन्त्रण गर्न र अहिले भइरहेकै कमाइबाट पनि पैसा बचाउन सम्भव छ । केही सरल तर प्रभावकारी उपाय उपानाएर आर्थिक भविष्यलाई सुरक्षित बनाउन सकिन्छ ।
१. खरिदको सूची बनाउने
धेरैजना आवेगमा किनमेल गर्छन् । प्रायको बानी हुन्छ बजार जाँदा जे देख्यो त्यो किनिहाल्ने । यस्तोमा आवश्यकता भन्दा पनि रहरले किनेका समानमा बढी खर्च हुन्छ ।
त्यसैले आफ्नो खर्च बारे लेख्नुपर्छ । कुनै पनि चीज किन्नुअघि आफैंसँग प्रश्न गर्नुपर्छः यो साँच्चै आवश्यक छ ? यो राख्नका लागि ठाउँ छ ? यो खरिदले मेरो आर्थिक लक्ष्यमा कस्तो प्रभाव पार्छ ?
डेबिट, क्रेडिट कार्ड र ई–वालेटको उपलब्धताले खर्च गर्न निकै सजिलो बनाएको छ । डन एन्ड ब्राडस्ट्रिट कम्पनीले गरेको एक अध्ययनका अनुसार जब मानिसहरूले नगदको सट्टा डिजिटल मनीको प्रयोग गर्छन्, तब उनीहरूले १२ देखि १८ प्रतिशत बढी खर्च गर्छन् ।
क्रेडिट कार्डले जिम्मेवारी बढाउँछ । तिनीहरूले भविष्यमा हुने खरिद आजै गर्न प्रेरित गर्छन् । त्यसैले आफैंसँग प्रश्न गर्नुपर्छः जे किनिरहेको छु, त्यसले सम्पत्ति बनाउँछ वा यो केवल सामान्य खर्च हो ? ती चीजहरू पत्ता लगाउनुपर्छ जुन जरुरी छैनन्, जस्तै अनावश्यक खानपान, किनमेल वा ट्याक्सीमा हुने खर्च । खरिदको सूची बनाएर मात्र किनमेल गर्नाले अनावश्यक खर्च नियन्त्रण गर्न सकिन्छ ।
२. आफ्नो मनोभाव नियन्त्रण गर्ने
पैसा उडाउने प्रवृत्तिको सम्बन्ध मनोभावसँग जोडिएको हुन्छ । कहिलेकाहीं आवेगमा किनमेल गर्नु सामान्य हो । तर निरन्तर धेरै खर्च गर्नु भावनात्मक हतियार हुन सक्छ । मानिसहरू खुसी रहन, आफ्नो खालीपन भर्न र आफैंबाट टाढा भाग्न किनमेलको सहारा लिन्छन् ।
जो मानिसहरू धेरै खर्च गर्छन्, उनीहरू अन्य मनोवैज्ञानिक समस्याबाट पनि ग्रस्त हुन सक्छन्, जस्तै मुड स्वीङ, चिन्ता र आवेग नियन्त्रण गर्न नसक्ने आदि । मुड र पैसा खर्च गर्ने बानी एकअर्कासँग जोडिएका हुन्छन् । जब मानिसहरू तनावमा हुन्छन्, तब उनीहरूले राम्रो महसुस गर्न धेरै खर्च गर्छन् । यसले उदासीको भावनालाई कम गर्छ ।
जो मानिसहरू आत्मसम्मानको कमी महसुस गर्छन्, उनीहरू पनि किनमेलप्रति आकर्षित हुन्छन् । बाल्यकालदेखि नै हाम्रो मनमा यो भावना विकसित भएको हुन्छ कि–पुरस्कार दिनु प्रेमको प्रतीक हो, त्यसैले हामी वस्तुहरूलाई भावनासँग जोडेर हेर्छौं । आफूलाई पुरस्कृत गर्नु असुरक्षासँग जुध्ने एक तरिका हो ।
तनावमा हुँदा धेरै खर्च गर्ने बानी हटाउन मन छ भने कुनै यस्तो कुरा खोज्नुपर्छ, जसमा पैसा खर्च गर्नु नपरोस् । साथीहरूलाई रातको खानाको लागि घरमा बोलाउन सकिन्छ वा परिवारसँग समय बिताउन सकिन्छ । आफ्नो प्राथमिकताको सूचीमा मानिसहरू र अनुभवहरूलाई माथि राख्नुपर्छ र चीजहरूलाई कम महत्व दिनुपर्छ ।
३. दीर्घकालीन सोच राख्ने
अनावश्यक खर्च नगर्न दीर्घकालीन सोच राख्नुपर्छ । तलब खातामा आउनेबित्तिकै त्यसको एक हिस्सा बचतका लागि छुट्याउनुपर्छ । जब बचत गर्ने अनुशासन अपनाइन्छ, तब मात्र अनावश्यक खर्चमा रोक लगाउन सकिन्छ ।
सुरुमा १० प्रतिशतसम्म बचत गर्नुपर्छ । बिस्तारै २० प्रतिशतसम्म पुग्ने लक्ष्य राख्नुपर्छ । एकपटक पैसा बचाउने बानी लाग्यो भने, जसरी किनमेल गर्न सजिलो लाग्थ्यो, त्यसरी नै बचत पनि सजिलो लाग्न थाल्छ ।
दीर्घकालीन लक्ष्यहरू, जस्तै घर किन्ने, सन्तानको शिक्षा वा काम गर्न नसक्ने उमेरका लागि बचत गर्ने सोचले खर्च गर्ने बानीमा नियन्त्रण आउँछ।
४. बजेट बनाएर खर्च गर्ने
पैसा बचाउनका लागि बजेट बनाउनु अत्यन्त महत्त्वपूर्ण छ । महिनाको सुरुमा नै आफ्नो आय र खर्चको हिसाब गर्नुपर्छ । बजेट बनाउँदा आवश्यक खर्चहरू जस्तै घरभाडा, बिजुली, खानालाई प्राथमिकता दिनुपर्छ र बाँकी रकमलाई मनोरञ्जन, किनमेल वा अन्य गैर–आवश्यक खर्चमा विभाजन गर्नुपर्छ ।
बजेट बनाउँदा ५०÷३०÷२० नियम प्रयोग गर्न सकिन्छः ५० प्रतिशत आवश्यक खर्चमा, ३० प्रतिशत इच्छाहरूमा जस्तै बाहिर खाना, किनमेलमा र २० प्रशिशत बचत वा ऋण तिर्नमा । यो नियमले खर्च र बचतबीच सन्तुलन कायम गर्न मद्दत गर्छ । बजेट बनाएर खर्च गर्दा अनावश्यक खर्चमा नियन्त्रण हुन्छ र पैसा बचाउन सजिलो हुन्छ ।
५. सस्तो विकल्पहरू खोज्ने
पैसा बचाउनका लागि सधैं सस्तो र गुणस्तरीय विकल्पहरू खोज्नुपर्छ । उदाहरणका लागि, ब्रान्डेड सामानको सट्टा स्थानीय वा कम मूल्यका तर गुणस्तरीय सामानहरू किन्न सकिन्छ । छुट वा अफरहरूको फाइदा लिन सकिन्छ ।
खानपानमा पनि सस्तो विकल्पहरू अपनाउन सकिन्छ, जस्तैः बाहिर खानुको सट्टा घरमै खाना बनाएर खाने । यातायातमा पनि ट्याक्सी चढ्नुको सट्टा सार्वजनिक सवारी साधन प्रयोग गर्नाले बचत हुन्छ ।
। सस्तो विकल्पहरू खोज्दा गुणस्तरमा सम्झौता नगरी पैसा बचाउन सकिन्छ । यो बानीले दीर्घकालमा ठूलो रकम बचत गर्न सकिन्छ ।
प्रतिक्रिया 4