
१२ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकमा डलर सटही गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् भने एक फरार भएका छन् ।
बाह्रबिसे नगरपालिका–७, सुनकोशीस्थित अरनिको कलेज नजिकैको माथिल्लो जंगल क्षेत्रमा डलर देखाएर ठगी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले बाह्रबिसे नगरपालिका–३ धार्पाका विष्णु भण्डारी पक्राउ गरेको हो ।
इलाका प्रहरी बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार भण्डारीको साथबाट अमेरिकी ५० डलरका १७ थान र १ डलरका ५४८ थान नोट बरामद गरिएको छ । साथै, बा ०२–०५४ प ०७३२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा बाह्रबिसे नगरको सुनकोशी क्षेत्रमा बिहीबार दिउँसो अमेरिकी डलर देखाएर ठगी गर्ने तयारी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेले अपरेसन चलाएको थियो ।
डलरको कारोबार चलिरहँदा प्रहरी पुगेपछि केही समय झडप भएको थियो ।
डलरसहित एक जनालाई प्रहरीले समातेपनि घटनामा संलग्न अर्को युवक भने भोटेकोशी खोलाको भीरमा हाम फालेर भागेका थिए ।
फरार युवकको खोजी जारी रहेको इलाका प्रहरी बाह्रबिसेले जानकारी दिए ।
प्रतिक्रिया 4