
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पारिएका छन्।
- सूचीकरणका लागि निवेदन, फोकल पर्सन, कम्पनी दर्ता प्रमाणपत्र, कर दर्ता वा प्यान नम्बर र बिजनेस सिनोप्सिस आवश्यक छ।
- सूचीकरणपछि कम्पनी नेपाल सरकारको नियमनअन्तर्गत आउनेछ र संविधानले बर्जित सामग्रीमा ध्यान दिनुपर्ने प्रवक्ता ठाकुरले बताउनुभयो।
२० भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि केही सञ्जाल सूचीकरणको प्रक्रियामा गएका छन् भने केहीले आवश्यक कागजात मागेका छन् ।
सरकारले बिहीबार निर्देशन दिएपछि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय पारिरहेका छन् ।
दर्ता गर्न के-के कागजात चाहिन्छ ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सामाजिक सञ्जालको रूपमा सूचीकरण हुन निम्न कागजात चाहिन्छ ।
निवेदन : सूचीकरण हुन चाहने कम्पनीले आफू नेपाल सरकारले भनेबमोजिम एउटा निवेदन पेस गर्नुपर्छ ।
फोकल पर्सन : सबैभन्दा महत्वपूर्ण, नेपालभित्र एकजना फोकल पर्सन तोक्नुपर्छ, जसको ठेगाना र टेलिफोन नम्बर पनि बुझाउनुपर्छ । यो नियमनका लागि सबैभन्दा महत्त्वपूर्ण छ ।
कम्पनी दर्ता प्रमाणपत्र : कम्पनीको रूपमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
ट्याक्स, प्यान नम्बर : कम्पनीको कर दर्ता वा प्यान नम्बरको प्रतिलिपि र यससम्बन्धी विषयको विवरण ।
बिजनेस सिनोप्सिस : नेपालमा कम्पनीले गर्ने व्यवसायको उद्देश्य र विवरण समेटिएको सिनोप्सिस, जसले कम्पनीबारे बुझ्न सघाउँछ ।
यसरी सबै विवरण बुझाएपछि नेपाल सरकारले त्यसको जाँच गर्छ र अपुग भए थप कागजात मगाउँछ । यदि सबै पूरा गरेको अवस्थामा सहजै सूचीकरण गरिनेछ ।
प्रवक्ता ठाकुरका अनुसार सूचीकरण भएपछि उक्त कम्पनी नेपाल सरकारको नियमनअन्तर्गत स्वाभाविक आउँछ ।
सामाजिक सञ्जालले संविधानले बर्जित गरेका सामग्री (जस्तै, राष्ट्रिय अखण्डताविरुद्ध, जातीय विभेद, आदि) मा ध्यान दिनुपर्छ । त्यसबाहेक कन्टेन्ट फिल्टर गरिने कुरा अफवाह हो ।
‘यो एकअर्कालाई सहयोग गर्ने कुरा हो । त्यसबाहेक अरू कुनै नियत छैन भनेर स्पष्ट पारिदिनुहोला,’ उनले भने ।
प्रतिक्रिया 4