+
+
Shares

देशको नेतृत्व छान्न डिस्कर्डमा जेनजीको ‘डिजिटल मतदान’

‘चाँडोभन्दा चाँडो निर्णय गरौं । हाम्रो एजेन्डा तय भएको छ । व्यक्तिको नामा धेरै अलमलिनु हुदैन । समय छैन,’ जेनजीहरूले भनेका थिए ।

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ २५ गते २२:३९

२५ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनमा व्यापक दमन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २३ भदौमा राजीनामा दिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले जेनजीहरूलाई वार्तामा बोलाएका छन् ।

अबको अन्तरिम सरकारको प्रधानमन्त्री कसलाई बनाउने र सेना प्रमुखसँग वार्ता कसले गर्ने भनेर जेन–जी ‘लिडर’ खोजिरहेका छन् ।

जेन–जीको एउटा समूहले आफ्नो तर्फबाट वार्ताको लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम जंगि अड्डामा सिफारिस गरेको छ । यो निर्णय जेन–जीले सामाजिक सञ्जाल डिस्कर्डबाट गरेका हुन् । डिस्कर्डमा जेन–जीले आफ्नो नेतृत्व कसरी खोजे । उनीहरूले कसरी बहस चलाए ?

हजारौं युवा प्रत्यक्ष जोडिएको एउटा ग्रुपमा बुधबार दिउँसो दिनभर जेनजी युवाहरूले फरक फरक प्रस्ताव राखे ।

‘सामाजिक सञ्जालबाट नै आन्दोलन भयो । हाम्रो नेतृत्वको नाम पनि यहीँबाट लक गरौं,’ एक जेनजी युवाले भने, ‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै लक गरौं ।’

पालैपलो उनीहरूले आफ्नो तर्कसहित नाम सिफारिस गरे । केहीले बालेन शाह, केहीले सागर ढकाल त केहीले कुलमान घिसिङको नाम सिफारिस गरे । बहुमत सदस्यले कार्कीको नाममा सहमति जनाए ।

लामो छलफलपछि उनीहरूले एउटा समूहले कार्कीको नेतृत्वमा वार्तामा जाने निर्णय निकाले । उमेरले पनि सानो भएकाले टेबल टक गर्न सक्ने व्यक्तिको खाँचो उनीहरूले औंल्याए ।

‘हामी १८–२० वर्षको छौं । वार्तामा के प्रश्न आउँछ थाहा हुँदैन । टेबल टक गर्न सक्ने उहाँ नै हो, उहाँलाई नै वार्तामा पठाऔं,’ जेन–जीको निष्कर्ष थियो । यदि कार्की नगएमा आफूहरू नै जानुपर्ने र ढिला गर्न नहुने धेरै जेनजीको मत थियो ।

अन्तरिम सरकार बनाउन ढिला गरे फेरि पुरानै नेता आउन सक्ने संशय पनि जेन–जीमा छ  । ‘अन्तरिम सरकार बनाउन ढिला गर्नु हुदैन । इमर्जेन्सी समय छ । अन्तरिम सरकार बनाएर चुनाव गराउने हो,’ डिस्कर्डमा उनीहरूले यसबारे बहस गरे ।

राष्ट्रपति कांग्रेसको र सभामुख एमालेको भएकाले अरु नै निर्णय हुन सक्नेमा सचेत हुनुपर्ने धारणा पनि उनीहरूले राखे ।

डिस्कर्डको मात्र नभइ अरु सामाजिक सञ्जाल र जनताको भावना पनि बुझ्नुपर्ने मत पनि राखिरहेका थिए । ‘यहाँ १० हजारको मात्र कुरा होइन । अरु सामाजिक सञ्जाल पनि हेरौं । जनताको कुरा पनि सुनौं,’ उनीहरू भनिरहेका थिए ।

छिटो निर्णय गरेर जंगी अड्डामा वार्तामा जान उनीहरू आतुर देखिन्थे । ‘चाँडोभन्दा चाँडो निर्णय गरौं । हाम्रो एजेन्डा तय भएको छ । व्यक्तिको नामा धेरै अलमलिनु हुदैन । समय छैन,’ जेनजीहरूले भने ।

ढिला गर्दा संकटकालसम्म लाग्नसक्नेमा उनीहरू सचेत देखिन्थे । पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा केहीले फरक मत राखे ।

‘सुशीला कार्की सफा छविको इमानदार हुनुहुन्छ । ज्ञान छ । महिला हुनुहुन्छ । पारदर्शी हुनुहुन्छ । हामीले देशमा पारदर्शीता हुनुपर्‍यो भनेर आन्दोलन गर्‍यौं । उहाँले हाम्रो भावना बुझ्नु हुन्छ,’ एक जेनजीले थपे ।

अर्का एकले उनीमाथि पनि प्रश्न उठाए ।

‘पहिलो खिलराज रेग्मी प्रधानन्यायाधीश भएकै बेलामा मन्त्रिपरिषद्को अध्यक्ष बन्नु भएको थियो । त्यो समयमा उहाँले न्यायलय र सरकार प्रमुख एउटै हुनुहुदैन भन्नु भएको थियो । हुन त अहिले उहाँ प्रधानन्यायाधीशमा  हुनुहुन्न,’ अर्का एक युवाले फरक मत राखे ।

कानुनी प्रक्रियाबारे पनि उनीहरू बहस गरिरहेका थिए । संसद के हुन्छ ? कसरी अन्तरिम सरकार बनाउने ? यसबारे कानुनी ज्ञान पूर्वप्रधानन्यायाधीश कार्कीसँग भएकाले उहाँ नै उपयुक्त व्यक्ति रहेकोमा उनीहरू समहत भए ।

आफूहरूको आन्दोलन व्यवस्था परिवर्तन भन्दा पनि सुशासन र भ्रष्टाचारको अन्त्य हुनुपर्ने एजेन्डा रहेको बताए ।

निर्वाचनबाट जनताको मतले अरु विषयमा निर्णय गर्ने उनीहरूको निष्कर्ष थियो । जेन–जीको आन्दोलनमा भएका घटनाको मिहीन ढंगले विश्लेषण गर्नुपर्ने तर्क उनीहरूको छ । ‘तोडफोड कसले गर्‍यो त्यो हेर्नुपर्छ,’ उनीहरूले भने । आफूहरू परिपक्व नभएको निष्कर्ष उनीहरूले नै निकाले । तर उनीहरूले डिस्कर्डमा सुझबुझसाथ आफ्नो विचार राखेका थिए ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?