
News Summary
Generated by OK AI. Editorially reviewed.- यस साता युवा र विद्यार्थीको आन्दोलनमा देशभरि २४ होटलमा तोडफोड, आगजनी र लुटपाट भएको होटल एसोसिएसन नेपालले जनाएको छ।
- काठमाडौंको होटल हिल्टनमा ८ अर्बभन्दा बढी क्षति भएको र देशभरि क्षति २५ अर्ब पुग्ने अनुमान गरिएको छ।
- हानले क्षतिको छानबिन, अपराधीलाई दण्ड र पुनर्निर्माणका लागि आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
२७ भदौ, काठमाडौं । यसै साता युवा र विद्यार्थीले गरेको आन्दोलनमा देशभरि दुई दर्जन होटलमा क्षति पुर्याइएको पाइएको छ ।
होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरण अनुसार सफल परिवर्तनकारी आन्दोलन क्रममा उक्त क्षति पुगेको पाइएको छ ।
हानका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलमा बढी आक्रमण भएको छ । होटल प्रतिष्ठानमा तोडफोड, आगजनी, लुटपाट भएको पाइएको छ ।
काठमाडौंस्थित होटल हिल्टनमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानको अनुमान छ । देशभरि यस्तो क्षति २५ अर्ब पुग्ने अनुमान छ । काठमाडौंमा पाँचतारे होटल हिल्टनसँगै ह्यात होटलमा समेत आगजनी भएको छ ।
उता, दाङस्थित होटल माला इनमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । देशभरिका होटलमा भएको क्षतिको विवरण संकलन क्रममा रहेको समेत हानले जनाएको छ ।
होटलहरू मर्मतसम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब २ हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजीरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने हानको अनुमान छ ।
हाल सञ्चालन अवरुद्ध भएका यी होटलले बेहोर्नुपर्ने बैंक तथा वित्तीय संस्था लगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको समेत हानको भनाइ छ ।
सुशासन विकास र जनताले खोजेको मूलभूत परिवर्तनका लागि दर्जनौं नवयुवाले जीवन बलिदान गरेका र सयौं घाइते योद्धाको त्यागबाट सफल रहेको आन्दोलनबाट प्रारम्भ हुन लागेको संक्रमणकालीन हालको अवस्थामा सर्वसाधारणको सेयर लगानी भएको पब्लिक लिमिटेड कम्पनी सहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको छानबिन हुनुपर्ने माग समेत गरिएको छ ।
शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन तथा मर्मतसम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न माग गरिएको छ ।
आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासमा सँगसँगै अघि बढ्न हानले माग गरेको छ ।
प्रतिक्रिया 4